पनौतीमा कांग्रेसबाट भण्डारी र रञ्जित



पनौती ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले पनौती नगरपालिका प्रमुखको उम्मेदवारको लागि  नगर सभापति रामशरण भण्डारी र उपप्रमुखमा अञ्जु रञ्जितको नाम सिफारिस गरेको छ । जिल्लामा सत्तारुढ दल बिच चुनावी तालमेल नमिले सँगै कांग्रेसले आफ्नो उम्मेदवार छनौटको प्रक्रिया अघि बढाएको हो ।

पनौती नगर कार्यसमितिले जानकारी दिए अनुसार प्रमुखको लागि नगर सभापति भण्डारीका साथै श्रीराम थापा र मिरा रम्तेलको नाम सिफारिस भएको छ भने उपप्रमुखमा रञ्जितका साथै जयन्ती हुमागाईँ र हेमा माकजु मानन्धरको नाम सिफारिस गरिएको छ ।

एमालेको पकड क्षेत्र मानिएको पनौती नगरपालिकामा  भित्र कांग्रेसले तीन महिना अघि देखि सशक्त ढङ्गले सङ्गठन निर्माण गर्दै पार्टी पङ्क्ति  परिचालन भइरहेको छ । पनौती नगर सभापति भण्डारीले जानकारी दिए अनुसार पनौती नगरको प्रत्येक वडा भित्र घटीमा  चार र बढीमा १५ वटा सम्म टोल कार्यसमिति गठन गरिएको छ । १४औँ अधिवेशन अगावै शत प्रतिशत क्रियाशील सदस्यता थपेर दुई हजार ६ सय सक्रिय सदस्य पुर्‍याएको पनौती कांग्रेसले यो चुनावमा शिक्षा, स्वास्थ्य, एकीकृत खानेपानीको साथै नगरपालिका भित्र भएका भ्रष्टाचारको विषयलाई मूल एजेन्डा बनाएर अघि बढ्ने रणनीति अपनाएको छ ।

अघिल्लो निर्वाचनमा १२ वडा मध्य पाँच वटा वडामा मात्र नेतृत्व लिन सफल पनौती कांग्रेसले आन्तरिक एकतामा पनि जोड दिने बताएको छ । अघिल्लो निर्वाचनमा कुल खसेको मत मध्य एमालेका भीम न्यौपानेले १२ हजार २ सय ५७ मतका साथ प्रमुखमा विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्व कांग्रेसका विदुर वञ्जाराले ९ हजार  १ सय ९० मत प्राप्त गर्नु भएको थियो । माओवादीले प्रमुखमा १ हजार २ सय ३९ प्राप्त गरेको थियो । उपप्रमुखमा पनि एमालेको तर्फबाट गीता वञ्जाराले १२ हजार ९९ मतका साथ विजयी हासिल गर्नु भएको थियो । उपप्रमुखमा कांग्रेसको अञ्जु रञ्जितले ९ हजार १ सय २८ मत प्राप्त गर्नु भएको थियो भने माओवादीको जगन्नाथ गिरिले १ हजार ७ सय १९ मत पाउनु भएको थियो । गत निर्वाचनमा माओवादीबाट उपप्रमुख भएका गिरि अहिले नेपाली कांग्रेसमा प्रवेश गरी  जिल्ला कोषाध्यक्षमा मनोनीत भइसक्नु भएको छ ।

अघिल्लो मत परिणाम अनुसार पनौती नगरपालिका वडा नं १, २ र ३ मा एमाले बलियो देखिएको थियो । वडा नं ४ का वडा अध्यक्ष वुद्धसिह थापा अहिले माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा गएको र यो वडामा माओवादीको पनि निर्णयक मत भएकोले एमालेलाई गाह्रो देखिन्छ । अघिल्लो पटक यो वडामा माओवादीका नरेन्द्र बस्नेतले ३ सय ११ मत ल्याउनु भएको थियो ।बस्नेत पनि अहिले समाजवादीमा प्रवेश गर्नुभएको छ ।  पनौतीको वडा नं ५ मा अघिल्लो पटक १ सय ६२ मत अन्तरले विजयी हासिल गरेको एमालेलाई अहिले सहज छैन । यो वडामा पनि माओवादीको राम्रो उपस्थिति रहेको छ भने कांग्रेसले पनि आफ्नो सङ्गठनलाई थप मजबुत बनाएको छ ।

पनौती वडा नं ६ मा अघिल्लो पटक कांग्रेसका श्रीधर सापकोटाले एमालेका उम्मेदवार भीम प्रसाद आचार्यलाई १ सय १६ मत अन्तरले पराजित गरेको थियो । यो वडामा माओवादीका कमल सापकोटाले १ सय ७५ मत प्राप्त गर्नुभएको छ । पनौतीको बजार क्षेत्रभित्र पर्ने वडा नम्बर ७ मा ५४ मत अन्तरले मात्र जितेको कांग्रेसलाई यो वडा जोगाउन पनि गाह्रो छ । कांग्रेस एमाले बाहेक अन्य दलले एक सय मत पनि नल्याएको यो वडामा एमाले अघिल्लो परिणाम उल्टाउने रणनीतिमा छ ।

पनौतीको वडा नं ८ पनि अहिले एमाले बलियो देखिएको छ । कांग्रेसले जितेको यो वडामा तेस्रो धेरै मत ल्याउने राप्रपाका राजेन्द्र केसी एमालेमा प्रवेश गरी सक्रिय छन् । अघिल्लो निर्वाचनमा यो वडामा कांग्रेसका केशव वञ्जाराले ६ सय ६ मत ल्याउनु भएको थियो भने एमालेका वेदप्रसाद वञ्जाराले ५ सय ५८ मत ल्याउनु भएको थियो । तत्कालिन अवस्थामा राप्रपाको तर्फबाट राजेन्द्र केसीले ४ सय ४२ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर ९ कांग्रेसलाई अहिले पनि सहज देखिन्छ । ७ सय ४६ मतको विरुद्ध १ हजार १ सय ८१ मत ल्याएर वियी प्राप्त गरेको काग्रेसले यो वडामा प्रतिस्पर्धी खासै देखेको छैन । गत निर्वाचनमा अन्य दलको सय मत भन्दा कम मात्र ल्याएका थिए ।

अघिल्लो मत परिणाम हेर्ने हो भने पनौतीको वडा नं १० कांग्रेसको लागि चुनौती छ । यो वडामा कांग्रेसका मोहन भण्डारीले १ हजार २७ मत प्राप्त गर्नु भएको थियो भने एमालेका दिवाकर प्रजापतिले ९ सय १९ मत प्राप्त गर्नु भएको थियो । माओवादीका ज्ञानबहादुर लामाले १ सय ७५ मत प्राप्त गरेको यो वडा जित्न एमाले सक्रियतापूर्वक लागेको छ । थोरै मत अन्तरले विजयी हासिल गरेको वडा नम्बर ११ पनि कांग्रेसको लागि चुनौती छ । कांग्रेसको ५ सय १७ मतका विरुद्ध १ हजार १ सय १८ मतका साथ विजयी भएका वडा नं १२ मा अन्य दलको सय मत पनि कटेको देखिँदैन । प्रदेशका कृषि मन्त्री वसुन्धरा हुमागाईँको यो वडामा एमाले फुटेर एकीकृत समाजवादी बलियो बन्दै गएको फाइदा उठाउने दाउमा कांग्रेस रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्