चितवन माओवादीलाई छोड्न देउवाको आग्रह


कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको भन्दै जिल्ला कांग्रेसको नेतृत्वलाई त्यसैअनुसार अघि बढ्न आग्रह गर्नुभएको छ ।

चितवन जिल्ला सभापति राजेश्वर खनाललाई मंगलबार बालुवाटार बोलाएर सभापति देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर पद कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो ।

सभापति देउवासँगको छलफलपछि चितवन जिल्ला सभापति खनालले भन्नुभयो– ‘भरतपुर महानगरको बारेमा सत्तारूढ दलले गरेको निर्णयलाई सहयोग गर्न सभापति देउवाले आग्रह गर्नुभएको छ ।

सभापति देउवालाई आफूले भरतपुर महानगरमा कांग्रेसबाटै मेयर उठाउनुपर्ने आम कार्यकर्ताको भनाइ रहेको जानकारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले कांग्रेसबाटै मेयर उठाउनुपर्छ भन्ने साथीहरूको भनाइ छ भन्ने कुरा राखें ।’