गठबन्धन नगरे कांग्रेसको हालत पहिलाको जस्तै हुन्छ : देउवा

0
Shares

काठमाडौं

प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लै कांग्रेसले बहुमत ल्याउने सम्भावना नरहेको भन्दै सत्तारुढ दलबीच गठबन्धन गरेरै निर्वाचनमा जाने बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवस पारेर मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका सबै दललाई भागबण्डा गरेर स्थानीय चुनावमा जानुपर्ने बताउनुभएको हो । गठबन्धनकै बलमा आफू प्रधानमन्त्री बनेको भन्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहे पनि गठबन्धन तोड्न दिन नहुनेमा जोड दिनुभएकोे थियो । उहाँले भन्नुभयो– ‘अहिलेको अवस्थासार कुनै पनि पार्र्टीको एकल बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग मिल्नुपर्छ ।

अब गठबन्धनलाई अगाडि लैजाने हो ।’ अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले हारेको भए पनि अहिले पोखरा र कर्णालीमा गठबन्धनको मुख्यमन्त्री रहेको भन्दै उहाँले भन्नुभयो– ‘मैले कांग्रेसलाई प्रदेश र केन्द्रको सरकारमा ल्याएर गल्ती गरेँ ? गठबन्धन टुटेपछि कांग्रेसको के हालत हुन्छ ?’ यसअघिको निर्वाचनमा एमाले र माओवादी मिलेपछि कांग्रेसका नेताहरू हारेको स्मरण गराउँदै उहाँले भोलि पनि त्यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत रहन आग्रह पनि गर्नुभयो ।

गठबन्धन गरेपछि लेनदेन हुने दाबी गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘गठबन्धन गरेपछि गिभ एन्ड टेक हुन्छ । कांग्रेसलाई सबै ठाउँ दिन गठबन्धन बनेको होइन, उनीहरूले पनि केही पाउन गठबन्धन गरेको हो ।’ गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई पनि उचित स्थान दिएर चुनावमा सँगै जानुपर्नेमा जोड दिँदै उहाँले कांग्रेस ठूलो पार्टी नै हुने दाबी पनि गर्नुभयो ।