गृहमन्त्री खाँण र दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकबीच भेटवार्ता 


काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा मंगलबार दिउसो भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।  भेटमा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पु-याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले उच्च शिक्षा अध्ययन गर्न सानो संख्यामा भए पनि नेपाली विद्यार्थीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिनुभयो । त्यस्तै पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन  गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताउनुभयो ।

त्यस्तै भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठुलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाँणले कोरियन गाडी, मेसिनहरू र मोबाइललगायतका कोरियन प्रविधियुक्त सामानहरू नेपालले आयात गरेर उपभोग गरिरहेको बताउनु भयो । उहाँले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको बताउनुभयो ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सुचारु हुने चरणमा रहेको जानकारी गराउनुभयो । त्यस्तै कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताउनु भयो । अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।