महानगरपालिका र उपमहानगरपालिकामा अझै कुरा मिलेन



काठमाडौं ।

सत्ता गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सकस देखिएको छ । ६ वटा महानगरपालिकामा चार दलबीच सिट बाँडफाँटमा छलफल भए पनि पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीको बीचमा विवाद बढ्दा सहमति जुटन सकेन ।

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा गठबन्धन दलका शीर्ष नेता र स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्यहरूको दुईपटक बैठक बसे पनि सहमति जुटन सकेन । बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ–आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले आ–आफ्नै दाबी नछोडेपछि ३ घण्टा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसलगत्तै दिउँसो पनि गठबन्धनको बैठक बसेको थियो । तर, दलहरूको अडानका कारण सहमति जुटन सकेन ।

सत्तारुढ दलबीच कांग्रेसले तीन, माओवादीले एक, एकीकृत समाजवादीले एक र जनता समाजवादीले एक महानगरपालिका लिने समझदारी बनेको छ । तर, पोखरा महानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच विवाद चुलिएका कारण सहमति निर्माण सकेन । सत्ता गठबन्धनबीच काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसले लिने, भरतपुर महानगरपालिका माओवादी केन्द्र, वीरगन्ज महानगरपालिका जसपा र पोखरा महानगरपालिका एकीकृत समाजवादीले लिने गरी गृहकार्य भइरहेको बताइएको छ ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमतिनजिक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सम्मानजनक रूपमा सिट बाँडफाँट गर्दा धेरै समय लाग्दैन, विभिन्न कोणबाट छलफल भइरहेको छ, हामी छिट्टै सहमतिमा पुग्छौं ।’

पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिन कांग्रेस तयार भए महानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुट्ने एक नेताले बताए । कांग्रेसले अडान छोडनेबित्तिकै महानगरपालिकामा समस्या नहुने जिकिर गर्दै उनले भने–‘उपमहानगरपालिकाबारेको छलफल पनि सहमति नजिक छ ।’ स्रोतका अनुसार ११ वटा उपमहानगरपालिकामा कांग्रेसले ६ वटामा दाबी गरेको छ । त्यसै गरी माओवादी केन्द्रले तीन, जसपाले दुई र एकीकृत समाजवादीले तीन वटामा दाबी गरेका छन् ।

पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको छ । कांग्रेस र एकीकृत समाजवादीले पोखरा महानगरपालिका नछोड्ने अडान लिएका छन् ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरू सहमति नजिक पुगेको बताउनुभयो । उहाँले मंगलबार पुनः बैठक बसेर सहमतिलाई अन्तिम रूप दिइने बताउँदै ६ महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा एकैपटक सहमति गरेर अघि बढ्ने बताउनुभयो ।

गठबन्धनको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

सिट बाँडफाँट चाँडै टुंगो लाग्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ नेपाली कांग्रेसलाई नै भरतपुर महानगरपालिका माओवादीलाई नै दिनुपर्छ भन्ने लागेको बताउनुभएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ६ महानगरपालिकामध्ये भरतपुर माओवादीलाई दिँदा राम्रो हुने भन्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो ।

उहाँले माओवादीले नै पाउनुपर्छ भन्ने विषयमा आफ्नो पार्टीको अडान रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशैभर ६ महानगरपालिका छन् । एक माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौं, विराटनगर, पोखरामध्ये एक दिए पनि ठिकै छ । भरतपुर हुँदैन भने पनि ठिकै छ । भरतपुर नै चाहिने रेणु नै चाहिने भन्ने होइन ।’ भरतपुर यसअघि माओवादीले जितेकाले गठबन्धनबाट लिँदा सजिलो हुने विषयमा आफूले प्रस्ताव गरेको प्रचण्डले बताउनुभयो ।

महानगरपालिका र उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयास भइरहेको बताउँदै प्रचण्डले महानगरपालिका करिब टुंगोको नजिक पुगेको बताउनुभयो ।
यसैबीच प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताउँदै निर्धारित मितिमै निर्वाचन हुने बताउनुभयो । निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको बताउँदै उहाँले निर्वाचन वैशाख ३० गते नै हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्