बढ्दै छ ‘स्पाइनल इन्जरी’को समस्या

२० वर्षमा ३३ सयको पुनर्स्थापना



काभ्रे ।

स्पाइनल इन्जरी संघ नेपालद्वारा सञ्चालन गरिएको स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रले स्थापनाको २० औँ वार्षिकोत्सव मनाएको छ । यो अवधिमा विभिन्न कारण स्पाइनलमा समस्या भएका ३ हजार ३ सय व्यक्तिहरूलाई पुनर्स्थापना गरिएको अस्पतालले जानकारी गराएको छ । सडक दुर्घटनाका कारण स्पाइनल इन्जरीको समस्या प्रतिदिन थपिँदै गएको छ ।

‘दुर्घटनामा परी स्पाइनलमा समस्या भएका ३ हजार ३ सय बिरामीले २० वर्षको अवधिमा पुनर्स्थापना हुने अवसर पाएका छन्’–अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालले भन्नुभयो–‘२ सय ५० जनाले साढे ४ महिनाको सिपमूलक तालिम लिई स्वरोजगारको माध्यमबाट आत्मनिर्भर भएका छन् ।’ डा. राजु ढकाल आफै स्पाइनल समस्याका व्यक्ति हुन् । नेपालमा ढकाल सहित अन्य दुई जनाले यही  विषयमा विद्यावारिधि गर्नु भएको छ । स्पाइनल इन्जरी नेपालमा एक मात्रै अस्पताल हो । जसले स्पाइनल समस्या भएका बिरामीहरूको पुनर्स्थापनाका अलावा सिपमूलक तालिम प्रदान गर्दै आएको छ ।

काठमाडौको जोरपाटीमा १० शय्या, तीन जना बिरामी र ७ जना कर्मचारीबाट शुरु भएको उक्त अस्पताल सन् २००८ बाट काभ्रेको भैसेपाटीमा २५ शय्याको अनुमति लिएर सञ्चालनमा आएको थियो । पछि स्पतालले ५० शय्याको अनुमति लिएको भए पनि अहिले ६५ जना बिरामीलाई नियमित उपचार दिइरहेको उक्त अस्पतालले शय्या अभावकै कारण धेरै बिरामीलाई सेवा दिन सकिरहेको छैन । १ सय शय्याका लागि प्रक्रियामा रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ७ वटै प्रदेशमा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र खोल्ने तयारी गरेको बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासिनीले पुनर्स्थापना केन्द्रसँगै सिपमूलक तालिम प्रदान गर्ने गरी गृहकार्य भइरहेको बताउनु भयो । मरासिनीले स्पाइनलको समस्या हुनै नदिन, समस्या भए समाधान तथा पुनर्स्थापना र उपचारका लागि राष्ट्रिय मापदण्ड बनाउने गरी तयारी गरिएको बताउनु भयो ।

अस्पतालका संस्थापक अध्यक्ष कनकमणी दीक्षित मनाङ ट्रेकिङ्ग गएको बखत भिरबाट लडेर उद्धार सँगै उपचार भए पछि उनकै परिकल्पनामा स्पाइनल इन्जरी अस्पताल शुरुवात भएको थियो । नेपालमा ट्रमा सेन्टरको स्थापना भए पनि पुनर्स्थापना केन्द्र सञ्चालनमा आउन सकेको छैन । सरकारले स्पाइनल इन्जरी भएका बिरामीहरूको पुनर्स्थापनाका लागि प्राथमिकतामा राख्नु पर्ने संस्थापक अध्यक्ष दीक्षितले बताउनु भयो । विभिन्न दातृ संस्था र सरकारको सहयोगबाट अस्पतालले धेरै भन्दा धेरै बिरामीहरूलाई सेवा उपलब्ध गराउन सहज भएको बताउनु भयो । अस्पतालका सदस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अस्पताल भगवानको रूपमा प्रस्तुत भएको बताउँदै स्पाइनल समस्या भएर ह्विलचियर प्रयोग गर्नु पर्ने अवस्थाका बिरामीहरूलाई मनोबल उच्च बनाउँदै साहसिक कार्यमा लाग्न र आत्मनिर्भर उन्मुख सिप सिक्न अनुरोध गर्नु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, संस्थाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, सचिव कुमुदिनी श्रेष्ठ, निर्देशक इशा थापा, सेवाग्रही श्रीकृष्ण भण्डारी लगायतले स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रले बिरामीहरूको सेवामा सहज भएको बताउनु भयो । सहभागिहरुले दुर्घटना न्यूनिकरण गर्न, अपाङ्गमैत्री संरचना निर्माण गर्न तथा स्पाइनल समस्या आउनै नदिन सचेतनामूलक कार्यक्रम तीन तहकै सरकारले सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्