पर्वतको आर्थरका घरघरै खानेपानीका धारा

0
Shares

 पर्वत

पर्वतको आर्थरवासीको कुनै दिन यस्ता नि थिए कि महिलाले खानेपानीका लागि बिहान २ बजेदेखि नजिकैको कुवामा रात बिताउनुपथ्र्यो । दुई दशकअघि गाउँका महिलाले भोग्नुपरेको दुःख अहिले भने घरकै आँगनमा धारोमा बगेको पानीले बिर्साइदिएको छ ।

अहिले एक गाग्री हैन एक अंखोरा पानी पनि आँगनकै धारोमा थाप्ने सुविधा छ । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरको डाडस्वाँरा गाउँमा अहिले कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसनको सहयोगमा ‘एक घर एक धारा’ निर्माण भएका छन् । हङकङका बेलायती मूलका व्यवसायी कादुरी परिवारको सहयोगमा ९६ घरमा निर्माण गरिएको हो ।

स्थानीयले लामो समय जनश्रमदान गरेर घरघरै धारा, विद्यालयमा खानेपानी र शौचालयसमेत निर्माण भएपछि स्थानियबासी समेत खुसी भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रसूर्य गुरुङले बताउनुभयो ।कादुरीको सहयोगमा खानेपानीको समस्या पुस्तौंदेखि भोग्दै आएका परिवारलाई ‘एक घर एक धारा’ खानेपानी आयोजना मात्रै नभएर स्थानीय पञ्चकोशी माध्यमिक विद्यालयमा चौबीसै घण्टा खस्ने पानीका चारवटा धारा, शौचालय तथा गुरुङ समुदायको समाजघरका लागि छुट्टै चारकोठे शौचालयसमेत निर्माण भएका छन् ।

डाँडाखर्कको ठाँडस्वाँरा–डाँडस्वाँरा खानेपानी आयोजनाका लागि कादुरीले गाउँदेखि ९ किलोमिटर दूरीका चारवटा मूलको पानी संकलन गरेर ल्याइएको छ । पानी फिल्टर गर्ने ट्यांकी, इन्ट्रप्सन ट्यांकी, डिस्ट्रिब्युसन ट्यांकी र रिजर्भवेयर ट्यांकी निर्माण गरिएको छ । त्यसबाहेक विद्यालयमा फोहोर जलाउन प्रयोग गरिने इन्सिनरेटरसमेत निर्माण गर्नका लागि कादुरीले १ करोड ४४ लाख २४ हजार ५ सय २४ रुपियाँ ८७ पैसा लगानी गरेको कादुरीका प्राविधिक प्रमुख डा. नारायण गुरुङले बताउनुभयो ।कादुरीका निर्देशक बेलायती नागरिक पूर्वबेलायती सैनिकका कर्णेल एन्ड्र्यु मिल्सले कादुरीले कुनै हल्ला नगरी काम गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘कादुरी पनि खुसी साट्न चाहन्छ । धेरै बोल्दैनौं, काम गर्छौं ।’ कादुरीले नेपालमा वर्षेनी अर्ब बराबरका परियोजना निर्माण गर्दै आएको उहाँको भनाइ छ ।

आर्थरडाँडाखर्क समाजघर निर्माण समितिका अध्यक्ष ओमकार गुरुङले पानीकै लागि कष्ट सहेर जीविकोपार्जन गर्ने युगको अन्त्य भएकोमा खुसी सुनाउनुभयो । गाउँमा आयोजित योजना हस्तान्तरण कार्यक्रममा गाउँलेका हर्षका आँसुसमेत झरेका थिए ।सधैंजसो राजनीतिक दलका नेताले चुनावका बेला खोक्रा आश्वासन मात्रै दिएर काम नगर्ने प्रवृत्तिविरुद्ध कादुरीले कुनै प्रचारप्रसार र हल्लाबिना डेढ करोडका पूर्वाधार बनाइदिएकोमा गाउँले खुसीयाली मनाएका थिए ।खुसीयालीमा गाउँले पञ्चेबाजामा नाचे, हर्षका आँसु टिल्पिल्याए अनि अतिथिलाई भांग्रा, भादगाउँले टोपी र खुकुरीसमेत उपहार दिए ।