स्थलगत तयारीका लागि स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत खटाइयो

0
Shares

काठमाडौं ।

स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि निर्वाचन आयोगले देशका ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत खटाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार मुख्य निर्वाचन र निर्वाचन अधिकृतलाई चैत्र मसान्तदेखि वैशाख २ गतेसम्ममा अभिमुखीकरण तालिम दिई स्थानीय तहमा खटाइएको हो । उनीहरू कार्यक्षेत्रमा खटिएपछि निर्वाचनको ‘फिल्ड’ स्तरीय तयारी अघि बढ्ने छ । जिल्ला र स्थानीय तहमा निर्वाचनको तयारी गर्न वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने पनि आयोगले जनाएको छ । चार दिनभित्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत जिल्ला र स्थानीय तहमा पुग्ने र त्यसपछि तयारी अघि बढ्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारीको लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाइएको हो । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिको रूपमा काम गर्दछ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगका प्रतिनिधिका रूपमा उनीहरूले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८ (२) मा मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोगसमेत गर्नेछ ।ऐनमा उनीहरूको काम आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृतलगायत अरू कर्मचारी नियुक्त गर्छन् ।

निर्वाचन कार्यक्रमअनुरूप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।

निर्देशिकामा मुख्य निर्वाचन अधिकृतलाई पाँच फरक जिम्मेवारी तोकिएको छ । पहिलो, निर्वाचनमा खटिने कर्मचारीका लागि संघदेखि स्थानीय तहका कर्मचारीको विवरण मगाउन सक्नेछन् । साथै, सरकारको स्वामित्वमा रहेका संस्थानदेखि विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण मगाउनेछन् ।मुख्य निर्वाचन अधिकृतले जिल्लाका अरू निर्वाचन अधिकृतसँग समन्वय गरेर सबै मतदान केन्द्रमा कर्मचारी खटाउने र त्यसको विवरण निर्वाचन अधिकृतलाई पठाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।

जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन अधिकृतहरूसँग समन्वय गर्ने भनी तेस्रो जिम्मेवारी तोकिएको छ । साथै मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतहरूबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ । मुख्य निर्वाचन अधिकृतले त्यसबाहेक पनि आयोगले तोकेको थप काम गर्नुपर्नेछ ।