कांग्रेसले जितेका पालिका कायमै

गठबन्धनको शैली


तनहुँ । 

नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैंसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको शनिबार सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैंसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने कांग्रेसको बैठकले निष्कर्ष निकालेको छ । ‘कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रहेको छ, सोहीअनुरूप अगाडि बढ्ने निर्णय गरेका छौं,’ जिल्ला सचिव लक्ष्मीभक्त खनालले भन्नुभयो ।

उहाँका अनुसार सत्तारुढ दलको गठबन्धनले यसअगाडि तनहुँमा पटक–पटक बैठक बसी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्ने खनालले जानकारी दिनुभयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष विजयी भएको थियो ।