जापानको सहयोग निःस्वार्थ : परराष्ट्रमन्त्री डा.खड्का


काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकास लगायतका क्षेत्रमा लामो समय देखी निरन्तर रुपमा सहयोग गर्दै आएको जापानको सहयोग निःस्वार्थ रहेको बताउनुभएको छ ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ४८ औं वार्षिक समारोह तर्था जापान साउथवेस्ट एसिया एक्सचेञ्ज इअर सेलिब्रेसर्न’ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले आधुनिक जापानको विकासको इतिहास हेर्दा जापानले आफ्ना युवा जनशक्तिलाई विभिन्न देशमा अध्ययन तथा तालिमको लागि पठाइ त्यहाँबाट सिकेको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारसम्बन्धी ज्ञानलाई देश विकासमा लगाउन सकेकोले नै जापानको हालको विकास सम्भव भएकोले जिकिर गर्दै नेपालले पनि यसबाट शिक्षा लिइ सिपयुक्त जनशक्ति विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

जानका सदस्यहरु जापानबाट अध्ययन र तालिम पूरा गरेका जापानी प्रविधिको ज्ञान भएका दक्ष जनशक्ति भएकोले राष्ट्र निर्माणमा जानका सदस्यहरुले महत्वपूर्ण योगदान गर्नसक्ने उहाँको धारणा थियो । साथै उहाँल्े जापानले नेपालको विकासको लागि विभिन्न क्षेत्रमा गरेको निरन्तर सहयोगको लागि नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद पनि दिनुभयो । मन्त्री खड्काले जानका सदस्यहरु जापानमा बस्दा नेपालका दूत र नेपालमा बस्दा जापानको दूतको रुपमा रहेकोले जापानमा सिकेका सिप र ज्ञानको प्रयोग गरी देश विकासमा थप सहयोग गर्न जानका सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमा नेपालका लागि जापानका राजदूत युताका किकुताले जापानले नेपालको विकासको लागि गरेका सहयोगको बारेमा चर्चा गर्दै भविष्यमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने बताउनुभयो । आफुले जापानी राजदूतको जिम्मेवारी लिएर नेपाल आएको झण्डै एक वर्षपछि जानले आयोजना गरेको आजको यस विशेष कार्यक्रममा सहभागी हुने मौका पाएको र आजको कार्यक्रमबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै जापान नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजवुुत बनाउन जानका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका जापान सरकारको सहयोगमा नेपालमा सन्चालित कार्यक्रमहरु कार्यान्वयन गर्ने संस्था भएकोले नेपाल सरकारसँग समन्वय गरी नेपालको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको जनशक्ति विकासका लागि जाइकाले हरेक वर्ष ठूलो संख्यामा नेपालीहरुलाई विभिन्न अध्ययन भ्रमणमा पठाउने गरेको र तीनै जनशक्ति जानका सदस्यहरु भएकोले उनीहरुको भूमिका नेपालको विकासमा र जापान–नेपालको मैत्री सम्बन्ध मजदूत बनाउन महत्वपूर्ण रहेको बताउनुभयो । समारोहमा परराष्ट्रमन्त्री खड्का र जापानी राजदुत किकुताले जानको वार्षिक प्रकाशन मिलनपत्रिकाको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

साथै कार्यक्रममा मिलन पत्रिकामा लेख रचना प्रकाशन गर्ने लेखकहरुलाई जानको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानले आजभन्दा १२० वर्ष अगाडीदेखि हालसम्म नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार कृषिलगायतका क्षेत्रमा गरेको सहयोग दिर्घकालीन भएको र जापानको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो सेवा पुगेको भन्दै जानको तर्फबाट जापानी राजदूतमार्फत जापान सरकारलाई धन्यवाद दिनु भयो । कार्यक्रममा जापानी राजदूत र जाइका नेपालका प्रमुखलाई जानको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।