‘निर्वाचन सार्ने निर्णय घातक हुन्छ’


काठमाडौं  । 

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने वा सार्न सक्ने भनी भ्रम फैलाउने वा संशय हुने कुनै गतिविधि नगर्न राजनीतिक दलहरूलाई लगातार आग्रह गर्दै आएको छ ।

अहिलेको सत्ता गठबन्धनले निर्वाचन सार्न सक्ने भनी प्रमुख प्रतिपक्ष दलले विभिन्न अभिव्यक्ति दिइरहेको समयमा आयोगले नियमित पत्रकार भेटघाटसँगै सार्वजनिक समारोहमा त्यस्तो नगर्न आग्रह गर्दै आएको हो ।स्थानीय तहको निर्वाचनका लागि आयोगले आचारसंहिता लागु गरिसकेको छ भने वैशाख ११ गते हुने मनोनयनपत्रको दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नका लागि आन्तरिक तयारी गरिरहेको छ ।

निर्वाचनको वातावरण बनाउन प्रदेशमा भेला र अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । आयोगले स्थानीय तहको निर्वाचन तीव्र गतिमा तयारी गर्दै आएकोमा यस्तो आग्रह किन गर्नुपरेको हो भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘निर्वाचन सार्न सक्ने हल्ला ठूलठूला नेताहरूले गरिरहनुभएको छ । यस्तो अफवाह नफैलाउन पनि निर्वाचन सार्ने निर्णय घातक हुन्छ । त्यसैले नसार्न पनि आग्रह गर्दै आएका हौं ।’

कतै निर्वाचन सार्न षड्यन्त्र भइरहेको छनक पाएर यस्तो आग्रह गर्नुभएको हो त भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यससम्बन्धी सार्वजनिक चर्चा आएको विषयले यस्तो आग्रह गर्नुपर्ने अवस्था आएको भनाइ राख्नुभयो ।आयोगले समयमै स्थानीय तहको निर्वाचन हुन्छ भनी विश्वास गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ रहेको छ । स्थानीय तहको निर्वाचन सार्न सक्ने हल्ला चलिरहेको बेला आयोगले सार्वजनिक सभा समारोहमामार्फत सो आग्रह गर्दै आएको बताउ“दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘निर्वाचन सार्न सक्ने अवस्था छैन ।’

एक साताअघि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आरोप सार्वजनिक रूपमै लगाउनुभएको थियो । शनिबार मात्रै सोही दलका नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको भन्दै सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको थियो ।

निर्वाचनको सन्दर्भमा विभिन्न आशंका र अन्योललाई चिर्दै निर्वाचन तयारी गर्दै आएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मिति नजिकिँदै जाँदा त्यस्तो अफवाह फैलाउन नहुने बताउँदै भन्नुभयो– ‘निर्वाचनको तयारीमा ठूलो धनराशि खर्च भइसकेको छ । यसलाई रोक्ने प्रयास कहीँ कतैबाट भयो भने त्यो दुर्घटना मात्रै हुन्छ । त्यसकारण यसतर्फ नलागौं ।’प्रमुख निर्वाचन आयुक्त थपलिया र अर्का आयुक्त रामप्रसाद भण्डारीले जनकपुरमा र हेटौंडामा भएको अलगअलग अभिमुखीकरण कार्यक्रममा सोही आग्रहलाई दोह¥याउनुभएको थियो ।