तालमेल गर्न बसेको बैठक अनिर्णीत

सत्ता गठबन्धनलाई काठमाडौंमै सकस


काठमाडौं  । 

देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ । केन्द्रको निर्देशन कार्यान्वयमा चुनौती देखा परिरहेका बेला काठमाडौं जिल्लाको पनि सत्ता गठबन्धनबीच आ–आफ्नो अडानले विवाद देखिएको छ । काठमाडौंका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति जुटन नसकेको बताउनुभयो । केन्द्रले तय गरेको सातबुँदे आधारअनुसार एकीकृत समाजवादीले काठमाडौंको कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ ।गत स्थानीय तहको निर्वाचनमा माओवादीले काठमाडौंको सबै स्थानीय तहमा पराजित भएको थियो । गठबन्धन बन्ने भएसँगै माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको नगरप्रमुखमा दाबी गरेको छ ।

नेपाली कांग्रेसले माओवादी केन्द्र र समाजवादीले दाबी गरेका नगरपालिका नदिने अडान लिएको छ । स्थानीय निर्वाचन २०७४ मा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित बूढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरीमनोहरा र टोखा नगरपालिकाको प्रमुख एमालेले जितेको थियो । नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

कांग्रेसले दक्षिणकाली, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको प्रमुख जितेको थियो । माओवादी केन्द्रले भने १० पालिकामध्ये चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ र शंखरापुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष मात्रै जितेको थियो । माओवादीले अनावश्यक दाबी प्रस्तुत गरेको भन्दै कांग्रेसले केही स्थानीय तह मात्र दिन सकिने अडान लिएको छ ।

माओवादी केन्द्र काठमाडौंको इन्चार्ज हिमाल शर्माले विगतको स्थानीय तहको निर्वाचनभन्दा अहिले पार्टीको उपस्थिति बलियो रहेकाले नगरपालिकाहरूमा आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले हाम्रो अवस्थाको आँकलन गरेरै नगरपालिकाको दाबी गरेका छौं, नहुने माग राखेका छैनौं ।’

कांग्रेसले एकीकृत समाजवादीका नगरप्रमुख रहेका कागेश्वरी मनोहरा नगरपालिका छोड्न सकिने संकेत गरेको छ । तर, नगरप्रमुखमा कांग्रेसको दाबी कायमै रहेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नगरप्रमुख कृष्णहरि थापाले पुनः दोहोरिने चाहना व्यक्त गर्नुभएको छ । काठमाडौंको दश वटा स्थानीय तहमध्ये एकीकृत समाजवादीको तर्फबाट थापा मात्र नगर प्रमुखमा रहनुभएको छ । थापालाई पुनः नगरप्रमुख बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै दबाब रहेको छ ।