स्थानीय तह निर्वाचन अभियानमा दल

आक्रामक एमाले, सुस्त गठवन्धन

0
Shares

काभ्रे । 

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जिल्लामा निर्वाचनको अभियान तिब्र भईरहँदा नेकपा एमाले आक्रामक देखिएको छ भने गठवन्धनमा रहेका दलहरु सुस्त देखिन थालेका छन् । एउटै दल भित्र दर्जनौ उम्मेदवारका आकाक्षी भईरहँदा गठवन्धन भित्रको भागवन्डा र नेता कार्यकर्ताको ब्यवस्थापन पेचिलो बन्दै गएको छ । शुक्रबार बसेको गठवन्धनका दलहरुको बैठक पुनः छलफल गर्ने गरी विना निश्कर्ष टुगिएको छ भने माओवादी केन्द्रका नेताहरु बैठक छाडेर बीचमै हिडेका छन । अर्काे बैठक अनिश्चित भएको छ ।

गठवन्धन बीच सहमति जुट्न नसके पछि माओवादी केन्द्र र नेपाली काँग्रेसले अलग अलग उम्मेदवारहरुको सूची संकलन गरिरहेका छन् । यद्यपी केन्द्रको सर्कुलर अनुसार यस अघि माओवादी केन्द्रले विजयी गरेका चौरीदेउराली र महाभारत गाउँपालिका बाहेक अर्काे एउटा थप स्थानीय तह दिने तहमा काँग्रेसले प्रस्ताव गरेको छ भने एमालेको भोटबाट जितेर नेकपा समाजबादीमा गएका मण्डनदेउपुर नगरपालिका समाजबादीले पाउने शर्तमा थप एउटा पालिका दिन काँग्रेस तयार भएको छ ।

काँग्रेसले माओवादी केन्द्रलाई तीनवटा र समाजबादीलाई दुईवटा दिएर आफुलाई आठवटा पालिका राख्ने योजना बनाएको छ । यस अघि एमाले एक्लैले ७ वटा पालिका सहित जिल्ला समन्वय समितिमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेसले ४ वटा पालिकामा विजय हासिल गरेको थियो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले बनेपामा शनिबार सयौ युवाहरुलाई एमालेमा प्रवेश गराउनु भएको छ । युवा संघ बनेपा नगर कमिटीको आयोजानमा आयोजित कार्यक्रममा बनेपा नगर भित्रका सयौ युवाहरु एमाले प्रवेश गरेका हुन् । यस अघि एमालेमै रही समाजबादीमा कृयाशिल युवा संघका केन्द्रीय सचिवालय सदस्य सजिव दाहाल, अनेरास्ववियुका उपाध्यक्ष दिनेश बजगाई लगायतका ब्यक्तिहरु एमालेमै फर्किएका छन् । कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सत्तामा रहि गठवन्धन गरेका दलहरुलाई स्याल हुईयाको संज्ञा दिनु भयो ।

‘एमाले सिंह हो, सिंहको अघी स्यालहरुको जति सुकै गठवन्धन भए पनि सम्भव छैन’–बास्कोटाले भन्नुभयो–‘ देशभक्ती पार्टी नेकपा एमाले हो । देशद्रोहि पार्टी गठवन्धनमा रहेका सबै दल हुन् । माधव नेपालको समाजबादी नामको पार्टी काभ्रेपलाञ्चोक जिल्लाको विकास विरोधी पार्टी हो । जसले बनेपाको नागिँडाडामा बन्न लागेको एयरपोर्ट संसदिय समितिका नाममा स्थगित गराउने काम गरेका छन् ।’ बास्कोटाले एमालेसँग एक्लै लड्न तागत नभएकाहरुले टालाटुली बटुली जोडेर गठवन्धन गरिरहेको बताउनु भयो ।

बास्कोटाले पछिल्लो समय निर्वाचन केन्द्रिय अभियानमा मात्रै एक हजार भन्दा धेरै ब्यक्तिहरुलाई एमाले प्रवेश गराउनु भएको छ । पौष २३ गते सम्पन्न जिल्ला अधिबेशनमा राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा सहितको सिंगो पदाधिकारी र कार्य समिति, तीन जना वडाअध्यक्षहरु एमालेमा प्रवेश गराउनु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, नेकपा एस पार्टीबाट एमाले फर्किएका युवा संघ केन्द्रीय सचिवालय सदस्य संजिव दाहाल, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, युवा संघ काभ्रेका अध्यक्ष सागर रायमाझी, नगर अध्यक्ष रत्न श्रेष्ठ लगायतले एमाले विकासको संवाहक भएको बताएका थिए ।
गठवन्धनमा जुटेन सहमति

शुक्रबार जिल्लमा रहेका गठवन्धनमा रहेका चारवटा दलको बैठक बस्यो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजबाली र जसपाका नेताहरु सहभागि थिए । बैठकको शुरुवातमै जिल्लाका १३ वटा पालिकाको भागवन्डाका विषयमा छलफल भयो । नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति तिर्थ लामाले नेकपा माओवादी केन्दलाई तीनवटा र नेकपा एस समाजबादीलाई दुईवटा पालिका दिने बताएका थिए ।

माओवादी केन्द्रले आफुलाई काँग्रेसले डोमिनेट गरेको महसुस गरी सहभागि नेताहरु बैठक छाडेर हिडेका थिए । बैठकमा पुर्व राज्यमन्त्री सुर्यमान दोङ्ग, सांसद गंगाबहादुर दोङ्ग, सांसद रत्न ढकाल, नेताहरु रुकु चौलागाई र इन्द्र तामाङ सहभागि थिए । नेकपा एसले मण्डन लगायत पनौती नगरपालिकामा दाबी गरेको छ । एउटा गाउँपालिका पनि आफुले पाउनु पर्ने दावी गरेको छ । नेकपा माओवादी केन्द्रले भने दुई नगरपालिका र तीनवटा गाउँपालिका आफुले पाउनु पर्ने दाबी गरेको छ । काँग्रेस आफुलाई ८ वटा राखेर बाँकी पालिका मात्रै दिने मनस्थितिमा छ । संख्यामै सहमति जुटन नसके पछि गठवन्धनको बैठक अनिस्चित बनेको छ ।

उता माओवादी केन्द्र र नेपाली काँग्रेसले धमाधम भित्रभित्रै वडा अध्यक्षका उम्मेदवारहरुको नामावली तयारी गरिरहेका छन् । नगर र गाउँपालिकाको नेतृत्व गर्ने सम्भावित उम्मेदवारको नामावली पनि मागिरहेका छन् । माओवादीले प्रदेश कमिटीमा पठाएको छ भने काँग्रेसले जिल्ला समितिमा आउने गरी पठाउन सर्कुलर गरेको छ ।