घले गाउँ ‘सुखी गाउँ’ घोषणा



लमजुङ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका ३ स्थित ग्रामीण पर्यटकीय घले गाउँ सुखी गाउँ घोषणा भएको छ । शुक्रवार नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच घले गाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपाल अभियानको शुरुवात घले गाउँबाट भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो । नेपालकै पहिलो सुखी गाउँ घोषणा भएसँगै विश्वकै आकर्षणको केन्द्र बन्ने पूर्व प्रधानमन्त्री ओलीको भनाई थियो ।

घले गाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ, संविधान सभा सदस्य जमिन्द्रमान घले, डा. भिष्म अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो । व्यावसायिक पर्यटन शुरु गरेको २० वर्षपछि स्थानीय आफैँले सुखी गाउँ घोषणा गरेका घले गाउँ २०५७ सालबाट ग्रामीण पर्यटनको कदम चालेको घले गाउँ नेपालकै उत्कृष्ट होमस्टे देखि दक्षिण एसियाकै नमुना घले गाउँको उपमा पाइसकेको छ ।

पर्यटकहरुलाई थप आकर्षण गर्न स्मार्ट भिलेजको रूपमा प्रवर्द्धन गरेको घले गाउँले पर्यटन व्यवसायबाट हरेक स्थानीयको आत्मसन्तुष्टि मिलेको भन्दै सुखी गाउँ घोषणा गरिएको घले गाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घलेले बताउनुभयो । हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको घले गाउँको प्राकृतिक एवं सांकृतिक सम्पदासँगै पर्यटकीय पूर्वाधारहरू निर्माण भएका छन् । पर्यटकहरूको आगमन  वृद्धिभएसँगै स्थानीयको आयआर्जन निकै सुधार भएको छ । प्रतिपरिवार मासिक २५ हजार देखि ६० हजार रुपैयासम्म आम्दानी हुन्छ । पर्यटकको आगमनले स्थानीयहरू निकै उत्साहित छन् ।

घले गाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घले गाउँमा होमस्टे सञ्चालक बाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

घले गाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृश्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् । विदेशीसँगै नेपाली विद्यार्थी, शिक्षक, प्रकृति प्रेमी, साहित्य तथा कला क्षेत्रमा रुचि भएकाहरू साथै विभिन्न ग्रामीण भेगका आमा तथा बाबा समूहहरू घले गाउँमा पुग्ने गरेका छन् । पछिल्लो समय पर्यटकीय सम्भावना भएका नयाँ गन्तव्यका प्रवर्द्धक सिकाइका लागि पनि घले गाउँ पुग्ने गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्