सभा गृहमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुँदै

अनलाइन फारम भरे सेवा लिन छिटो 

0
Shares

काठमाडौं ।

राष्ट्रिय परिचय पत्रका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वैयक्तिक विवरण संकलन शुरु भएको छ । सोमबारबाट प्राविधिक परीक्षण सुरु गरिएको थियो । यो काठमाडौँ स्थायी बसोबास गर्ने नागरिकका लागि हो ।

फारम भरेर वा अनलाइनमार्फत विवरण दिन सकिन्छ । अधिकारीहरुका अनुसार अनलाइनबाट फारम भरेर पठाउँदा सेवा छिटो दिन सकिन्छ । फारममा भरिएको विवरण कम्प्युटरमा इन्ट्री गर्न र जाँच गर्न समय लाग्छ । जसको विवरण हो, उसैले भर्दा त्रुटि कम हुन्छ ।

विवरणका लागि सक्कल नागरिकतासहितका कागजात लिएर जानु पर्छ । यससँगै विवाह दर्ताको प्रमाण पत्र, यदि विवाह दर्ताको प्रमाण पत्र नभए श्रीमान् श्रीमतीको नाता खुल्ने सरकारी कागजपत्र चाहिन्छ । श्रीमान् श्रीमतीमध्ये कसैको मृत्यु भइसकेको भए मृत्युको विवरण खुल्ने कागज लिएर जानुपर्छ ।

बसाइसराइ भएको भए बसाइसराइको प्रमाण पत्र वा वडाको सिफारिस आवश्यक पर्छ । नागरिकतामा जन्म मिति खुलेको छैन भने जन्म मिति खुल्ने सरकारी कागज चाहिन्छ । यी कागजहरू सक्कलैप्रति लिएर जानुपर्छ । फोटोकपी वा मोबाइलबाट कागज देखाएर सेवा लिन सकिँदैन । आफैँ गएर कार्यालय समयमा सेवा लिन सकिने बताइएको छ ।