सांस्कृतिक उत्पादनलाई नीतिगत रूपमा प्रवर्द्धन गर्न सरोकारवालाको आग्रह



बुटवल ।

नेपालका सीमान्तकृत समुदायको मौलिक सिपमा आधारित उत्पादनलाई राज्यले नीति नै बनाएर प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । स्वच्छ व्यवसायी समूह नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी र जागरण मिडिया सेन्टरले मङ्गलवार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले नीतिगत रूपमा सांस्कृतिक तथा रचनात्मक उत्पादनलाई बढवा दिने गरी काम गर्न जोड दिइएको हो ।

स्थानीय श्रोत र साधनमा आधारित उत्पादनले सीमान्तकृत समुदायका महिला तथा युवाहरूको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा टेवा पुर्‍याउने भएकाले प्रदेश सरकारले यतातर्फ ध्यान दिनुपर्नेमा सहभागीहरूको सुझाव थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य डा. कृष्ण न्यौपानेले स्थानीय स्तरमा उत्पादन हुने खानादेखि विभिन्न खालका उत्पादनलाई बढवा दिनुपर्ने बताउनु भयो । कार्यक्रममा प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले श्रमिक वर्गलाई इज्जत नगर्ने नेपाली प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय स्तरमा सीमान्तकृत समुदायले उत्पादन गरेका हरेक खालका उत्पादनहरूको बजारीकरण गर्दै सम्मान र प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

अर्का प्रदेशसभा सदस्य दीपक विश्वकर्माले नेपाली बस्तुको बजारीकरण हुन नसकेकाले यतातर्फ उद्योगी व्यवसायी सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो । सांस्कृतिक तथा रचनात्मक उद्योगको प्रवर्धन विषयक अन्तरक्रियामा स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष सुनिल चित्रकारले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सीप, श्रोत, कलालाई उद्योगको रूपमा विकास गरी स्वच्छ व्यवसाय, रोजगारी सृजनाको वातावरण बनाउनुपर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य विष्णु माया थापाले साना लगानीमा उत्पादन भएकाहरूको प्रोत्साहनका लागि सरकारले बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सरकारी कार्यालयबाट नेपालमै बनेको कपडा र नेपालकै उत्पादनको प्रयोगलाई नीतिगत रूपमा सुरुवात गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार थापा, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव दीपकराज नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवाल, चेम्बर अफ क्रमसः लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद पाठक, स्वच्छ व्यवसाय समूहका उपाध्यक्ष कमल नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश घिमिरे, रामबहादु बुुढा, मनोज भट्टराई लगायते बोल्दै स्वदेशका घरेलु उद्योगहरूको प्रवर्द्धन गरेर आयात विस्थापन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्