निर्वाचन प्रचारमा ओली क्रेज

0
Shares

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा अब राजधानी या जिल्ला सदरमुकाममा मात्र हैन पालिका, वडा र टोल तहसम्म चुनावी रौनक विस्तार भैसकेको छ । निर्वाचनको माहौल बढ्दै गएपछि वडा तथा पालिकाको नेतृत्वको लागि उम्मेदवार छान्न राजनीतिक दलहरु कमिटीगत बैठकमा व्यस्त हुन थालेका छन् । यससँगै राजनीतिक दलका सभा, कार्यकर्ता भेटघाट, घरदैलो अभियान मात्र हैन पार्टी प्रवेश कार्यक्रमले समेत तीव्रता पाएको छ ।

पार्टी कार्यकर्ता र जनतालाई निर्वाचन यस्तो अवसर हँदो रहेछ कि पाँच वर्षसम्म मुसो बनाउने जनप्रतिनिधि र पार्टी नेतालाई थोरै अवधिकै लागि भए पनि झुक्न बाध्य बनाउने । चार वर्ष ११ महिना अपहेलित र अछूत बनेका पार्टी कार्यकर्ता र जनतालाई करिब एक महिनाको अवधिमा फरक विचार र धारका नेताहरुले फूलमाला लगाउँदै काँधमा हात राखेर धाप मारेको दृश्य सामाजिक सञ्जालभरि बग्रेल्ती देख्न पाइन्छ ।

यो निर्वाचन केन्द्रित परिदृश्यको थोरै पुष्ठभूमि हो । मैले यहाँ व्याख्या गर्न खोजेको प्रसंगचाहिँ सत्ता गठबन्धनको चुनावी गठबन्धन र नेकपा एमालेको लोकप्रियताको हो । पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको गतिविधिलाई हेर्ने हो भने एमालेको पोजिसन फरक हुनुपर्ने होला । किनभने अहिले नेपाली कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको गठबन्धन सरकारमा छ । यही गठबन्धनले चुनावमा गठबन्धन बनाएर जाने करिब–करिब टुङ्गो लगाइसकेको छ । र, यो गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गरेको कतिपय दीर्घकालीन योजना कटौती गर्ने मात्र हैन, भएका कामको समेत अपव्याख्या गर्ने अभियान नै शुरु गरेको छ । फेरि पनि देशभरि नै चर्चा भने नेकपा एमालेकै छ, केपी शर्मा ओलीकै छ ।

अनि तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले कुनै सकारात्मक काम नगरेको र राष्ट्रघाती कामलाई मात्र प्राथमिकता दिएको भन्दै विशेष गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अगुवाइमा झन्डै दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण गरिएको हो ।यो पृष्ठभूमिलाई स्वीकार गर्ने हो भने अहिले नेकपा एमालेको हालत २०४६ सालको जनआन्दोलनपछिका राजावादी पार्टीहरुको जस्तो हुनुपर्ने । तर चर्चा फेरि पनि एमालेकै मात्र छ । मतदाता एमालेको पक्षमा, जनता एमालेको पक्षमा, स्वतन्त्र बुद्धिजीवी एमालेको पक्षमा किन ?

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त पार्टीको औपचारिक मिटिङमै भन्नुभयो– गठबन्धन गरिएन भने नेकपा एमालेले जित्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई डर छ– गठबन्धन गरिएन भने आफ्नो पार्टीको हालत स–साना दलहरुकै जस्तो हुन्छ ।एमालेको लोकप्रियता र कांग्रेसलगायतका दलहरुको त्रासको एउटै कारण छ– केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनपक्षीय काम र राष्ट्रियताप्रतिको प्रतिबद्धता । एउटा राजनीतिक दलले असल नियतका साथ काम गर्ने हो भने त्यसको मूल्यांकन जनताले गर्छन् भन्ने उदाहरण अहिले देखिएको छ ।

पानीजहाजको कुरा गर्दा कागजको डुङ्गा बनाएर व्यङ्ग्य गरे पनि, रेलको कुरा गर्दा आलोचना गरे पनि, बिजुली र घर–घरमा पाइपबाट ग्यास पु-याउने कुरा गर्दा असम्भव सपना भन्ने आरोप लगाइए पनि सत्य के हो भने, मुलुकको विकास र समृद्धिको लागि यी आधारभूत विषय हुन् । सपना भनेको लक्ष्य हो । निश्चित लक्ष्य नभई विकास र समृद्धिको उद्देश्य पूरा हुनै सक्दैन । त्यसैले सपना देख्नु जरुरी थियो । त्यसैले केपी शर्मा ओलीले देखेको सपनालाई जनताले हार्दिकतापूर्वक साथ दिए । भलै गठबन्धन दलले विकास र समृद्धिको त्यो प्रयत्नलाई फगत साबित गर्न हजार कोशिश गरेको किन नहोस् ।

नेपालमा अहिलेसम्म ३८ जना प्रधानमन्त्री भएका छन् । जसमा स्व. गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री बन्नुभएको छ । तर एउटा स्पष्ट दृष्टिकोणसहितको दरिलो सपना देख्ने र त्यसको कार्यान्वयनको लागि आफैं सक्रिय बन्ने प्रधानमन्त्री भनेको केपी शर्मा ओली मात्र हुन् । दुईपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीको प्रतिवाद गर्नेदेखि नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक समावेश गरेर चुच्चे नक्सा जारी गर्ने, भारतसँगको परनिर्भरता अन्त्य गर्दै चीनसँग पारवहन सन्धि गर्ने, सडकमार्गको विस्तार, थप विद्युतीकरणको आधार तयार गर्ने, नेपालीकै लगानीमा धरहरा निर्माण, रेल खरिदजस्ता लोकप्रिय काम गरेको कुरा कतै लुकाउनुपर्ने या लुक्ने विषय पक्कै भएन ।

विपक्षी पार्टीका नेता–कार्यकर्ताहरुले सामाजिक सञ्जाल तथा सभा–सम्मेलनहरुमा केपी शर्मा ओलीलाई उखाने बूढा भनेर जतिसुकै आलोचना गरे पनि जनताले मुलुकको विकास र समृद्धिको लागि केपी शर्मा ओलीको विकल्प देखेनन् । किनभने मुलुकमा अहिलेसम्म बनेका ३८ जना प्रधानमन्त्रीहरुमा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मरिचमान सिंहलगायत केहीलाई छोडेर अधिकांश प्रधानमन्त्रीले जागिरे मानसिकतामा भारतको भ्रम तथा भय पालेर काम गरेको देखिन्छ ।

पार्टी एकतापछिको विभाजन र सत्तापक्षको गठबन्धनका बाबजुद चुनावी अभियानका कार्यक्रमहरुमा नेकपा एमाले र केपी शर्मा ओलीकै क्रेज देखिन्छ । जनताले भेट्न, देख्न र प्रत्यक्ष अनुभूत गर्न चाहेका नेता कोही छन् भने केपी शर्मा ओली मात्र छन् । किनभने मुलुकमा कार्यकारी प्रमुख भएर विकास र समृद्धिको अभियानसहित इमानदारितापूर्वक काम गर्न कसैले चाहेका छन् भने ती व्यक्ति केपी शर्मा ओली मात्र हुन् ।अघिल्लोपटकको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । तर अधिकांश ठाउँमा नेकपा एमालेकै जित भएको थियो । यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगै एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको गठबन्धन बनेको छ । तर अहिलेको चुनावी माहौल हेर्दा अधिकांश ठाउँमा जित एमालेकै हुने देखिन्छ ।

अघिल्लोपटकको जितमा नेकपा एमालेको नौमहिने सरकार (२०५१ सालको स्व. मनमोहन अधिकारीले नेतृत्व गरेको सरकार) को आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ताजस्ता कार्यक्रमको प्रभाव थियो । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका विकास र समृद्धि अभियानको उपलब्धिमूलक कामहरुसमेत थपिएका छन् । त्यसैले पनि एमालेको लागि अन्य दलको तुलनामा जित हासिल गर्न सहज देखिन्छ ।एमालेको लोकप्रिय अभियान, केपी शर्मा ओलीको क्रेज, अन्य राजनीतिक दलको ढुलमूले चरित्रजस्ता कुराले यसपटकको स्थानीय निर्वाचनमा एमालेकै पल्ला भारी छ । तैपनि उसले आफ्नो चुनावी घोषणापत्रमा केही योजनाहरु भने समावेश गर्नै पर्छ । अन्यथा ओलीको क्रेजले निर्माण भएको अहिलेको चुनावी माहौल शतप्रतिशत सफलोन्मुख नभइदिन पनि सक्छ ।

पछिल्लो समय मुलुकका हरेक जिल्ला वा पालिकाको केन्द्रसम्म मात्र हैन गाउँ, टोल, बस्तीहरुमा समेत सडक पुगेको छ । विद्यालय र स्वास्थ्य केन्द्रहरु विस्तार भएका छन् । तर अझै पनि स्थानीय नागरिक व्यावसायिक हुन सकेका छैनन् । त्यसैले नेकपा एमालेले हरेक पालिकाका नागरिकको चेतना स्तर, भौतिक अवस्था, सामाजिक एवं सांस्कृतिक अवस्थाजस्ता कुराको विश्लेषण गर्दै ठोस र दीर्घकालीन योजनासहित त्यस्ता योजना कार्यान्वयनको लागि नेतृत्व गर्न सक्ने मानिसलाई जनप्रतिनिधिको रुपमा अघि सार्नुपर्छ । अनि अघिल्लो निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले गरेका राम्रा र सकारात्मक कामको प्रचार तथा थप सुधारको कुरालाई पनि सँगसँगै अगाडि बढाउनु जरुरी हुन्छ ।

यसरी अहिले बनेको चुनावी माहौललाई आधार मानेर ठोस कार्यक्रमसहित अघि बढ्न सक्नु नै नेकपा एमालेको लागि सफलताको महत्वपूर्ण कडी साबित हुनेछ । जसले केपी शर्मा ओलीको विकास र समृद्धि अभियानलाई तल्लो निकायबाटै भरथेग तथा सहयोग मिल्नेछ । अब पनि निर्वाचित जनप्रतिनिधिले सडकलाई मात्र प्राथमिकता दिने र सडकको सदुपयोग गर्दै आफ्नो पालिकाभित्र उत्पादन हुने भिन्न कृषि उत्पादनलाई निर्यात गर्नेतर्फ ध्यान नदिने हो भने भावी पुस्ताको लागि त्यही सडक विडम्बना बन्नेछ ।सडकलाई विकासको मुख्य आधार मानेर त्यही सडकको उपयोग गर्दै गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुलाई नजिकको बजार, सदरमुकाम, प्रदेशको केन्द्र र राजधानीसम्म लान सक्ने अवस्था बन्यो भने त्यसले पालिकाका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्छ र सडक निर्माणको आधारसमेत पुष्टि हुन सक्छ ।

विशेष गरी यसतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान जानु जरुरी छ । त्यसो त अहिले राजनीतिक दलहरुको सभा–सम्मेलनमा जनलहरको कमी छैन । राप्रपाले काठमाडौँमा भर्खरै गरेको शक्ति प्रदर्शनमा पनि व्यापक जनसहभागिता देखिएको छ । तर नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएको जनलहर उत्साहजनक र चमत्कारी छ । एमालेको हरेक जनसभामा युवादेखि ज्येष्ठजनसमेत केपी ओलीलाई हेर्न र सुन्न आतुर देखिन्छन् ।

यस्तो अवस्थामा एउटै अपेक्षा गर्न सकिन्छ– ओलीको कामबाट बनेको क्रेजले निर्वाचित एमालेका जनप्रतिनिधि सपना देख्न सक्षम र कार्यान्वयनमा इमानदार हुनेछन् । अनि टोल, वडा, पालिका हुँदै जिल्ला तथा समग्र मुलुकले आन्तरिक तथा बाह्य परनिर्भरताको अन्त्य गर्दै सम्पन्नता र समानता कायम गर्नेछ । ओली क्रेजले उभार ल्याएको एउटा परिस्थिति वैशाख ३० को निर्वाचन र त्यसको केही दिनभित्र आउने परिणामले फेरबदलसमेत हुन सक्छ, जसलाई रोक्न ओलीको क्रेजको निरन्तरता आवश्यक छ । र, यो काम अब निर्वाचित जनप्रतिनिधिको दक्षताले पूरा गर्नेछ ।