‘त्यो चैते दशैं, यो चैते दशैं’

‘यो पैसो कैलेलाई चैते दशैलाई त्यो पनि मागे दिन्न कसैलाई’



बागलुङ । 

उमेरले ८४ वर्ष नाघेका बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गाबहादुर आचार्यले चैतेदशैं मेलाका लागि रकम जम्मा गर्ने बेलाको सानो मौलिक गीतको टुक्का स्मरण गर्नुभयो ।

आचार्यले मेलालाई नजिकबाट नियाल्न थालेकै ८० वर्ष पुग्यो । बागलुङको ठूलो मेला भनेकै चैतेदशैं मेला भएकाले पैसा साँचेर राख्ने र मेलामा गएर नरिवल र मिश्री किनेर खाने चलन रहेको आचार्य बताउनुहुन्छ ।

‘पहिलेको चैतेदशैं र अहिलेको चैते दशैंको कुनै तुलाना हुँदैन, त्यो बेलाको चैतेदशैमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो’, आचार्यले भन्नुभयो– ‘चार÷पाँच वर्षको उमेरबाट देख्न थालेको चैतेदशै मेला पूरै परिवर्तन भएको छ, अहिले त नाँच गान, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्टफुट्ट देखिएका मादल र ठेकासमेत बिक्री भएको पाइँदैन । ‘मेला मौलिकता नभएर आधुनिक भएको छ, त्यो बेलामा मेला भनेकै चैतेदशै थियो’, उहाँ थप भन्नुहुन्छ– ‘अहिले गाउँ–गाउँमा मेला लागे पनि चैतेदशंैको महत्व घटेको छ ।’
चैतेदशैं मेला बागलुङको मौलिक परम्परा जस्तै हो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रशिद्ध छ । कालिका मन्दिरसँगै जोडिएको छ– चैतेदशैं मेला । चैतेदशै मेला बागलुङको ब्रान्ड बन्दै गएकोमा दुईमत छैन तर पछिल्लो समय यस मेला गाना र खानामा मात्रै सीमित भएको पाइएको छ ।

बागलुङ नगरपालिका–१ मा रहेको कालिका मन्दिर परिसरमा कोरोना कहरमा दुई वर्ष रोकिए पनि अघिपछि वर्षेनी मेला लाग्ने गरेको छ । यो वर्षको चैतेदशैं मेला बिहीबारदेखि शुरु भएको थियो । सोमबारसम्म चलेको मेला नाँचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलोमेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ ।मन्दिरवरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुडालगायतका दैनिक उपभोग्य वस्तुहरु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकारहरु मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।

त्यो चैतेदशै र अहिलेको नाँच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदशैं धेरै अन्तरवस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर निःशुल्क स्टल उपलब्ध गराउँदै आए पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि समेत घट्दै गएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

चैतेदशैंमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको बूढापाकाहरुले बताउँछन् । चैतेदशैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामग्री वर्षभरिलाई खरिद गर्ने चलन भए पनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाँचगानमा मेला सीमित हुन थालेको चैतेदशंै मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउँदै गर्नुभएका बागलुङको बलेवा अमलाचौरका टीका चुदाराले जानकारी दिनुभयो । उहाँले परम्परा धान्नकै लागि मेलामा ठेका ल्याएर आउने गरेको बताउनुभयो । उहाँका अनुसार ठेकाठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने अवस्थामा छ ।

यस्तै, चैतेदशैंमा अहिले घरेलु हात–हतियार, खुकुरी, बाउसो, हँसियालगायतका वस्तुहरु बिक्रीका लागि ल्याइएको छैन । मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्