भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शुरू



भक्तपुर ।

आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबार साँझबाट शुरू भएको छ । भक्तपुरको टौमढी क्षेत्रस्थित पाँच तले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।

नव वर्षको आगमनसँगै शुरू हुने बिस्का जात्रा तौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गरी सुरु गरिने परम्परा छ ।

काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखेर पाँच तले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो)टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत् पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चार वटा लामा डोरी राखिएको हुन्छ । जात्रामा सहभागीले सोही डोरीले रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्छन् ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धूमधामका साथ मनाउने गरिन्छ । बिस्केट जात्राको पहिलो दिन आज  भैरव र भद्रकालीको पूजा गरेपछि भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ । भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको तलेजुका नाइके जोशीले बताउनुभयो ।

भैरबनाथको पूजा सुरु भएसंगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको हो । तीन तले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ । लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी ‍पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।  बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्य पूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।

जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याई फर्काउने प्रचलन छ । बिस्केट अन्तर्गत चैत्र मसान्तमा इन्द्र ध्वजा सहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्