देशमा श्रीलंकाको जस्तो आर्थिक संकट आउँनसक्छ : उपाध्यक्ष पौडेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा श्रीलंकाको जस्तो आर्थिक संकट आउन सक्ने बताएका छन् । एमालेले मुलुकको आर्थिक अवस्थाका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले त्यस्तो बताएका हुन् ।

उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । जस कारण देशको अवस्था श्रीलंकाको जस्तै हुन थालेको बताएका छन् ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर यो सरकारले ध्वस्त बनाएको बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन् । आर्थिक अवस्था यस्तो हुने थिएन् । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो ।’ पौडेलले भने ।

मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए । आफू असफल भएपछि राष्ट्र बैंकमा गर्भनरमाथि प्रहार गरेको उनको भनाइ छ ।

हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गर्भनरलाई सरकारका अवाञ्छित गतिविधि पुरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ । ‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे । राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे ।’ पौडेलले भने ।

अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह(सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’

वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।

अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ । व्यापार घाटाले छलाङ मारेको भन्दै उनले भने, ‘यो सरकारको नीतिको कारण वित्त प्रणालीमा निराशा छाइरहेको छ । अर्थनीति र वित्त नीतिका निकायबीच पनि आपसमा समझदारी छैन् । पारस्परिक सम्बन्धको अभाव छ ।’