रामनवमी सन्दर्भ : मर्यादा पुरुषोत्तम श्रीरामको महिमा



 

प्रेममान डंगोल

आज चैत्र शुक्ल नवमी । त्रेता युगको आजकै तिथिमा श्रीरामको जन्म भएकाले यस तिथिलाई राम नवमी पनि भनिन्छ । भारतको अयोध्याका सूर्यवंशी राजा दशरथ र रानी कौशल्याका जेठा छोराको रुपमा जन्मेका श्रीरामलाई भगवान् विष्णुको अवतारको रुपमा मानिन्छ । श्रीरामलाई मर्यादा पुरुषोत्तम, आदर्शवादी, पितृभक्त, सत्यवादी, सदाचारी र कर्तव्यनिष्ठ महान् व्यक्तित्वका रुपमा मान्ने गरिन्छ । विष्णु भगवान्को अवतार भएकाले पनि रामलाई भगवान्को रुपमा मान्दै आइरहेको हो । रघुपति, राजाराम, पतीतपावन, राघव, श्रीराम, जयराम, विजयराम, रघुनन्दन, रामचन्द्र आदि विभिन्न नामले भक्तजनहरुले प्रार्थना गरेर मान्ने गर्छन् ।

राम जन्म भएको उपलक्ष्यमा राम नवमीका दिन भारतको अयोध्या र नेपालको जनकपुरमा भव्य रुपमा धार्मिक उत्सव गरी रामको जन्मोत्सव मान्ने गरिन्छ । यही दिन भगवान् श्रीरामका जहाँ–जहाँ मन्दिर छन् त्यहाँ–त्यहाँ भक्तजनहरुले पूजा गर्ने र व्रत बसेर राम नवमी मान्ने गर्दछन् । राम नवमी मनाउने सन्दर्भमा मेलाका रुपमा भारतको अयोध्यालगायत विभिन्न स्थानमा र नेपालको पशुपति, बागमतीसँगै रहेको राम मन्दिर, रामघाटको राम मन्दिर, भीमसेन टोलको तल राम मन्दिर आदि ठाउँहरुमा भक्तजनहरुले पूजा–आराधना गरेर बत्ती बाली भजनकीर्तन गर्छन्

। विभिन्न स्थानमा रहेका राम मन्दिरमा रातभर जाग्राम बसी भक्तजनहरुले भजनकीर्तन गर्छन् ।श्रीरामको नामको अत्यन्तै ठूलो महत्वले भरिएको महिमा छ । रामको नाम मात्र लिनाले पनि पापबाट मुक्ति भई पुण्य प्राप्त हुनेछ भन्ने जनविश्वास छ । रत्नाकरजस्ता डाँकुलाई देवर्षि नारदले रामको नाम जप भन्दा उनले रामको नाम लिन नजानेकाले उल्टोबाट रामको नाम मरा–मरा भनेर जपरिहे । जहिले पनि मारकाट गर्ने, बटुवाहरुलाई लुट्ने गरेका रत्नाकर डाँकुले रामको नाम उच्चारण गर्न नसकेर मारकाट भनेजस्तै मरा–मरा मात्र भनेर जपिरहे । अर्र्थात् उल्टोबाट नाम जपिरहे । मरा–मरा भन्दा–भन्दा राम–राम हुन गएकोले ज्ञान प्राप्त भई सिद्धि पनि प्राप्त गरे । त्यसको प्रभावस्वरुप रत्नाकर डाँकु वाल्मीकि ऋषि बन्न पुगे ।

वाल्मीकि ऋषिले नै रामायण लेख्न सके । वाल्मीकिले रामायणमा जे–जे लेखे त्यस्तै–त्यस्तै हुन गयो भनिन्छ । अर्थात् वाल्मीकिले जे–जस्ता घटनाका परिकल्पना गरेर लेखे त्यस्तै–त्यस्तै घटना श्रीरामले व्यहोर्नुप¥यो रे ! यसरी वाल्मीकि ऋषिले भगवान् श्रीरामको नाम मात्र जपेर प्राप्त गरेका ज्ञान र दिव्य दर्शनको उपलब्धि अनुसार लेखेको रामायण श्रीरामको जीवनीको भविष्यवाणी नै हुन गयो रे ! यसै भएर नै भगवान् श्रीरामको नामको ठूलो महिमा भएको हो ।श्रीरामको जीवनमा धेरै नै उतारचढाव आएको देखिन्छ । जस्तै– राज्य त्याग गर्नुपर्ने अर्थात् १४ वर्ष वनवास जानुपर्ने, आफ्नी श्रीमती सीता हरणको वियोग हनु, वनवासका बेलामैं आफ्ना पिता दशरथको स्वर्गवास हुनु, लवकुशको जन्म जंगलमा हुँदा आफू अगाडि नहुनु, लोक अपवादले गर्दा सीताको अग्नि परीक्षा लिनुपर्ने बाध्यता पर्नु, त्यस्तै रामले पछि धेरै नै लोक अपवाद हुँदा सीतालाई नै त्याग गरेर वनमा पठाउनुपर्ने जस्ता विभिन्न घटना घटे ।

तर पनि अत्यन्तै धैर्यधारण गरेर संयमित भई बस्न सक्ने गुण भएका भनी श्रीरामलाई आदर्श पुरुषोत्तम भनिएको हो । यसरी महापुरुषमा हुने गुण भएकैले श्रीरामलाई पुरुषोत्तम भनिएको हो ।भगवान् श्रीरामको शासन काललाई रामराज्य किन भनिएको होला ? आजकलका युवाहरुलाई यो एउटा ठट्टा र रमाइलोजस्तो हुन सक्छ । तर रामको शासनकाललाई केलाएर हेर्ने हो भने साँच्चै नै राम एक लोकतान्त्रिक, प्रजातान्त्रिक अझ भनौं जनगणतान्त्रिक राजा हुन् भन्ने कुरा उनको शासनकालमा देखिएका विभिन्न घटनाहरुले दर्शाउँछन् ।
राम वनवास जाँदा होस् वा राज्य गरिरहँदा होस्, आफ्नो देश र जनताको रक्षा गर्ने कार्यमा जहिले पनि चनाखो भई सक्रिय भैरहेको देखिन्छ । वनवास जाँदा पनि होम गरिरहेका ऋषिमुनिहरुलाई दुःख दिन, मार्न र काट्न आएका राक्षसहरुलाई श्रीरामले वध गरिदिएका छन् । श्रीरामले यसरी विध्वंशकारी राक्षसहरुलाई मारेर लोककल्याण गर्ने सन्दर्भमा धेरै राक्षसहरुलाई मारेको देखिन्छ ।

रामले वध गरेका राक्षसहरुमध्ये बाली, कुम्भकर्ण, खर, दुषण, सुबाहु, ताडका, मारिच, सेरावत, मै रावण र अन्त्यमा लंकाका राजा राक्षसराज रावणको वध गरेका हुन । लोककल्याणका लागि भगवान् विष्णुले रामको अवतार लिएर राक्षहरुलाई मारेका भनी शास्त्रमा वर्णन गरिएको छ ।रामको शासनलाई रामराज्य भनेको कुरामा पनि रामको शासनकालमा मानिसहरुको त के कुरा पशुपक्षीहरुलाई पनि कसैले दुव्र्यवहार गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन, त्यस्तो गर्नेलाई सजाय दिइने रहेछ । कसैले पनि गाई, गोरु, कुकुर, गधा र जो–कोही पशुपक्षीलाई पनि अन्याय गरेमा ती पशुपक्षीले राजा रामको दरबारमा गई उजुर गर्न पाउने रहेछ । रामका भारदारहरुमध्ये पशुपक्षीका भाषा बुझ्ने भारदारले पशुपक्षीको उजुरी सुनेर न्याय दिने गरिँदो रहेछ ।

धनी, गरिब, ठूलो जात, सानो जात, केही भेद्भाव नगरी समान रुपले व्यवहार गर्ने भएरै रामको राज्यकालको बारेमा व्यापक चर्चा भइरहेको पाइन्छ । शवरीजस्ता तल्लो जातकी महिलाको जुठो बयर खाएर रामले एउटा उदाहरण नै देखाएका छन् । यस्तो जनगणतान्त्रिक व्यवहार अर्को के हुन सक्छ र ? त्यस्तै सीताको अग्निपरीक्षा लिएको घटनालाई पनि बिर्सन सकिन्न । न्यायनिसाफ गर्ने कार्यमा राम चुक्दैनथे । उनले एउटा धोबीको कुरा सुनी आफ्नै रानी सीतालाई समेत त्यागेर वनमा पठाए । यो जस्तो जनगणतान्त्रिक प्रणाली अर्को के होला ? आजकलका गणतान्त्रिक र सर्वहारा नेताहरुले यस्तो व्यवहार देखाउन सक्लान् ? रामराज्य त्यसै भनिएको हो र ? आजका जनगणतान्त्रिक र सर्वहारा अग्रगामी नेताहरुले यसबाट अर्थात् रामराज्यबाट अलिकति भए पनि ज्ञान लिएर व्यवहारमा प्रयोग गर्ने प्रयास गर्लान् कि ? भरोसा लिइरहेछु ।

जय श्रीराम !

प्रतिक्रिया दिनुहोस्