रासायनिक मल कारखानाका लागि सस्तो मूल्यमा विद्युत् उपलब्ध गराउँछौँ : मन्त्री भुसाल  

0
Shares

काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले इलेक्ट्रोलाईसिस प्रविधिबाट स्वदेशमै रासायनिक मल कारखाना खोल्न आवश्यक विद्युत् सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोसाइटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स (सीन) र नेपाल विद्युत् प्राधिकरणले संयुक्त रुपमा शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उर्जामन्त्री भुसालले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो–‘विद्युत् प्रति युनिट ३ रुपियाँका दरले दिँदा ग्यासको प्रयोगबाट मल उत्पादन गर्नुभन्दा सस्तो पर्ने रहेछ । हामी ३ रुपियाँमै उपलब्ध गराउने छौँ । त्यति मात्र होइन, विद्युत्को मूल्य जति राख्दा मल कारखाना चलाउन सम्भव हुन्छ, हामी त्यही मूल्यमा दिनेछौँ ।’

कार्यक्रममा उहाँले लगानी बोर्डको ५० औँ बैठकमा नवलपरासीको बर्दघाटमा ग्यासको प्रयोग गर्ने गरी मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि निर्देशन दिइएको जानकारी दिँदै उहाँले भन्नुभयो–‘पहिला ‘फास्ट ट्रयाक’ अन्तिममा गएर सेनालाई जिम्मा दिए जस्तै अब युक्रेन घटनापछि मल कारखाना पनि ग्यासबाट होइन, इलेक्ट्रोलाईसिस प्रविधीबाटै चलाउनुपर्छ भन्नेमा सरकार जानेछ भन्ने मलाई विश्वास छ ।’

मन्त्री परिषद्को बिहीबारको बैठकले राष्ट्रिय गौरवको आयोजनामा सुचीकृत २०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरीसकेकोले पनि मल कारखानालाई सस्तोमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नपर्ने धारणा व्यक्त गर्नुभयो ।

विकासको निम्ति विद्युत् आफैँमा कच्चा पदार्थ भएको जिकिर गर्दै उहाँले विद्युत्को खपत सबैभन्दा बढी देशभित्रै गर्नुपर्ने र यसका लागि रासायनिक मल कारखाना उपयुक्त विकल्प भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिनका अध्यक्ष ई. दिल्ली रत्न शाक्यले लगानी बोर्डको ४९ औँ बैठकमा विज्ञहरूको राय सुझाव लिएर पुनः प्रतिवेदन पेस गर्ने भनिएकोमा चैत १७ गते बसेको ५० औँ बैठकले विज्ञहरूसँग छलफल नै नगरी नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाका लागि विशेष सम्भावना अध्ययन गर्न जर्मनीको एउटा कम्पनीलाई अनुमति दिने निर्णय गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो–‘यदि विज्ञहरूको रायसल्लाह नलिकनै कसैलाई अध्ययन गर्न दिनु थियो भने ४९ औँ बैठकमा नै निर्णय किन नगरेको ? हामीलाई शंका छ, यो कम्पनीले पनि कम्पनीको नाम र मिति मात्रै फेरेर सन् २०१७ मा भारतीय कम्पनीले दिएको अध्ययन प्रतिवेदन नै पेस गर्ने हो कि ।’

नेपालमा चरम लोडसेडिङको रहेको अवस्थामा भारतीय कम्पनीले नेपालमा इलेक्ट्रोलाईसिस प्रविधिबाट मल कारखाना सम्भव नभएको भन्दै ग्यासको प्रयोग गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरेको थियो । उहाँले विद्युत् उत्पादन बढी भएर खपतका लागि चिन्ता गर्नुपर्ने बेलामा आयातित ग्यासबाट नभई विद्युतकै प्रयोगबाट रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रा.डा जगन्नाथ श्रेष्ठले इलेक्ट्रोलाइसिस प्रविधिबाट रसायनिक मल उत्पादन गर्ने सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल समाचारपत्रका पत्रकार सरस्वती कर्माचार्यलाई विद्युत्को खपत बढाउन र इलेक्ट्रोलाईसिस प्रविधिबाट रासायनिक मल कारखाना स्थापनाका लागि सीनको प्रयासमा पु¥याएको सहयोगको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी नवीकरणीय ऊर्जाका साथै इलेक्ट्रोलाईसिस प्रविधिबाट रासायनिक मल कारखाना स्थापनाका महत्त्वपूर्ण योगदान दिनुभएका प्रा.डा. जगन नाथ श्रेष्ठलाई सीनको मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो ।