विकास र समृद्धिका लागि निजी क्षेत्रको लगानी आवश्यक : मुख्यमन्त्री पोखरेल



लमजुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वव्यापी कोरोना संक्रमण जोखिमले मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको भन्दै अब त्यसलाई माथि उकास्न तथा देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भएको छ । लमजुङको सदरमुकाम बेसीसरहमा आयोजित सातौँ लमजुङ महोत्सवमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

मुलुकको विकासका लागि पर्यटन नै मुख्य आधार रहेको दाबी गर्दै उहाँले गण्डकी प्रदेशमा पर्यटन विकासको अधिक सम्भाव्यता रहेको उल्लेख गर्नुभयो । उद्योग प्रवर्द्धनका निम्ति सम्भाव्यता भए पनि छिमेकी मुलुकहरूको तुलनामा लगानीका लागि निकै समस्या रहेको उहाँको भनाई छ ।

मुलुकलाई आर्थिक सङ्कटबाट उकास्न निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि सरकारले लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । मुलुकको ८० प्रतिशत अर्थतन्त्र निजी क्षेत्रको कब्जामा रहेको उहाँको तर्क छ ।

स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन कोभिड-१९ पछिको व्यवसाय पुनस्थापना भन्ने नारा सहित लमजुङ उद्योग बाणिज्य संघले १० दिने महोत्सव आयोजना गरेको हो । महोत्सव औपचारिक उद्घाटन अघि सदरमुकाम बेसी हरमा विभिन्न समुदायले सांस्कृतिक झाँकीसहित र्‍यालीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्