दुई मन्त्री र एक राज्य मन्त्रीसहित सुदूरपश्चिम सरकारमा कांग्रेस पनि सहभागी हुँदै

नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै



धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो । स्रोतका अनुसार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्री पाउने भएका छन् ।

कांग्रेसले पाउने सबै मन्त्रालयमा यस अघि एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य मन्त्री रहेका थिए । सत्तारुढ गठबन्धनबिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो ।

मन्त्रालय बाँडफाँडपछि मन्त्रिमण्डल पुनर्गठनको तयारी थालिएको छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे छलफल भएको थियो । कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीका अनुसार केन्द्रमा सहमति भएर मुख्यमन्त्री कार्यालयमा कांग्रेसलाई सरकारमा सहभागी गराउने सर्कुलर आएको छ । केन्द्रले निर्णय गरेर पठाए अनुसार आज नै कांग्रेसका मन्त्रीलाई सरकारमा सहभागी गराइने मन्त्री जोशीले बताइन् ।

सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्द्रबाट आएको सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनु पर्ने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको ठाउँमा कांग्रेसका मन्त्री आउने भएपछि समाजवादी पार्टीले सामूहिक राजीनामा दिने बताइएको छ ।

हाल आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पूर्ण जोशीले हाल सामूहिक राजीनामा दिएर पछि सरकारमा जाने बताइन् ।

प्रतिक्रिया दिनुहोस्