‘पढ्दै कमाउँदै’ मा छानियो लोकप्रिय मावि



मनाङ ।

हिमालपारिको जिल्ला मनाङको लोकप्रिय माध्यमिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनोटमा परेको छ । चामे गाउँपालिका–४ मा पर्ने सो मावि कार्यक्रमका लागि छनोटमा परेको हो ।

छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ । लोकप्रिय माविमा कृषिसम्बन्धी पढाइ हुने गरेको छ । पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले कार्यक्रमको प्रावधानअनुसार व्यावहारिक रूपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो । केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो । कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ ।

छनोटमा परेका विद्यालयलाई सशर्त अनुदानअन्तर्गत वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत अनुदान रकम विद्यालयको खातामा उपलव्ध गराउने व्यवस्था गरिएको छ । ‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ ।

विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइनेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको छ ।

स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रुपियाँ विनियोजन भएको छ । यो बजेट छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ । माछापालन, तरकारी खेती गर्ने जग्गा भएका प्राविधिक धारका सामुदायिक विद्यालयलाई केन्द्रले छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्