रानीमहलमा बिच भलिबल शुरु



पाल्पा ।

पाल्पास्थित ऐतिहासिक रानीमहलको प्रचार र खेलकुदको विकासका लागि कालीगण्डकी किनारामा बिहीबारदेखि सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता शुरु भएको छ । पहिलो दिनको खेलमा ६ खेल सम्पन्न भएकोमा नेपाल एपिएफ क्लबले दोहोरो जित निकाल्न सफल भयो । अन्य खेलमा एक नं प्रदेश, सुदूर पश्चिम र पुलिस क्लब र गण्डकी प्रदेशको टिम विजयी भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा दुई विभागीय टिम र सात वटै प्रदेशका टिम सहभागी भएका छन् ।

पहिलो खेलमा मधेस प्रदेश र प्रदेश नम्बर १ बीचको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । मधेसकी सविना चौधरी र नेहा चौधरीको जोडीलाई प्रदेश १ की अञ्जना लिम्बू र प्राची गौतमको जोडीले २१–७ र २१–१६ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई सोझो सेटमै पराजित गरेको छ । सुदूरपश्चिमकी भगवती जोशी र बबिता बोहोराको जोडीले कर्णालीकी अहारा कुमारी शाही र हिरा जैशीको जोडीलाई २०–४ र २३–२१ को सेटमा पराजित गरेको हो ।

त्यस्तैे तेस्रो खेलमा नेपाल पुलिस क्लबले २१–९ र २१–११ को लुम्बिनीलाई पाखा लगायो । पुलिसकी कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई सहज पराजित गरेको हो । प्रदेश नम्बर १ दोस्रो खेलमा भने एपीएफसँग पराजित भएको छ । ३–२ को सेटमा एपीएफ विजयी भयो । प्रदेश १ को जोडीलाई एपीएफकी रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडीले १–२१, २१–१६ र ८–१५ को सेटमा पराजित गरेको हो ।

बागमती र गण्डकी प्रदेशबीचको खेलमा गण्डकीले सोझो सेटको सहज जित हात पारेको छ । गण्डकीकी पबित्रा बिसी र रेबिना घर्तिमगरको जोडीले बागमतीका मोनिका महतो र रोजीना कुमालको जोडीलाई २१–६ र २१–१४ को सेटमा हराएको हो । मधेस प्रदेश बिहीबारै भएको दोस्रो खेलमा पनि पराजित भएको छ । पहिलो खेलमा प्रदेश १ सँग पराजित भएको मधेस दोस्रो खेलमा एपीएफसँग हारेको हो । मधेस प्रदेशविरुद्ध एपीएफ २१–५ र २१–८ को सेटमा विजयी भयो ।

शुक्रबार चार खेल हुनेछन । पहिलो खेल एपीएफ र लुम्बिनीबीच दोस्रो खेल सुदूरपश्चिम र बागमतीबीच, तेस्रो पुलिस क्लब र कर्णालीबीच तथा चौथो खेल गण्डकी र प्रदेश नम्बर १ बीच हुने आयोजकले जानकारी दिए । करिब ३० लाखको लागतमा आयोजना गर्न लागिएको खेलमा प्रथम पुरस्कार एक लाख, दोस्रो हुनेले ५० हजार र उत्कृष्ट खेलाडीले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता यही चैत्र २६ गतेसम्म आयोजना हुनेछ । यसअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले ऐतिहासिक र पर्यटकीय गन्तव्य रानीमहललाई भलिबलको राजधानी बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्