गाउँका विद्यार्थी पढाई सँगै खेलकुदमा



काभ्रे, भुग्देउ ।

जिल्लाको दुर्गम गाउँको रूपमा चिनिने वेथानचोक गाउँपालिका–६ भुग्देउका विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदलाई पनि अघि बढाइरहेका छन् । स्थानीय स्वरस्वती माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदको पनि अभ्यास गरिरहेका हुन् ।

सरस्वती तेक्वाण्डो डोजाङ मार्फत विगत दुई वर्ष देखि विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएका शिक्षक बाबुराम ढुङ्गेल भन्नुहुन्छ– ‘खेलकुदले विद्यार्थीहरुलाई आत्म निर्भर मात्र होइन थप अनुशासित बनाउन पनि सिकाउँछ । अझ राम्रो पक्ष त यहाँ छात्राहरू पनि खेलकुदको सिकाई गरिरहेका छन् ।’

तेक्वाण्डोका प्रमुख प्रशिक्षक ढुङ्गेलका अनुसार अहिले विद्यालय प्राङ्गण भित्र कभर्ड हल बनाएर विद्यार्थीलाई प्रशिक्षण दिन थालिएको छ । यो डोजाङ्गमा अहिले १२ जना छात्राले तेक्वाण्डोको प्रशिक्षण लिइरहेका छन् ।

पढाई सँगै खेलकुदको सिकाइमा लागेका विद्यार्थीहरूलाई कांग्रेस नेता भगवान अधिकारीले सुभम् समूहसँग सहकार्य गरी ५० थान पोसाक उपलब्ध गराउनु भएको छ । घरघरका विद्यार्थीहरूलाई खेलकुदमा सिकाई गर्न केही मद्दत मिलोस् भन्ने उद्देश्यले पोसाक उपलब्ध गराएको बताउँदै अधिकारीले भन्नुभयो – ‘विद्यालयमा दिइएको खेलकुद प्रशिक्षणले भविष्यमा खेल क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरुलाई  बाटो खुल्छ ।’

प्रतिक्रिया दिनुहोस्