ठेकेदारका कारण आठ दिनदेखि सडकमै फोहोर

बल प्रयोग गरेर फोहोर लैजान्छौं : प्रजिअ अर्याल



यही जेठ १७ गते सरकारले जारी गरेको आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको सूचनाको १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन स्थान, पूर्वाधार निर्माण संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित भएको थियो ।

काठमाडौं ।

पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुड्खु–तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन् ।

सारदा अधिकारीको शैैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन् । यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेपछि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

सरकारद्वारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ । स्थानीय तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारीले बिहीबार नेपाल समाचारसँग कुरा गर्दै अटेरी ठेकेदारका कारण बाध्य भएर फोहोर रोक्नुपरेको बताउनुभयो । ठेकेदारले सरकारकै संरक्षण पाएको कारण हालसम्म काम नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापन अवरुद्ध गर्न बाटोमा बसेका स्थानीयले भने–‘जबसम्म बाटो कालोपत्रे हुँदैन, तबसम्म फोहोर लैजान दिँदैनौं ।’

यसअघि ठेकेदारले एक महिनाभित्र बाटो कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै वडा अध्यक्ष तिवारीले भन्नुभयो–‘त्योबेला हामीले सहयोग गरेका थियौं । पटकपटक प्रतिबद्धता जनाए पनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेपछि स्थानीय आन्दोलित भएका हुन् । हाम्रो माग पूरा नभएसम्म फोहोर लैजान दिँदैनौं ।’

उपत्यकालगायत १८ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने स्वायत्त निकाय नहुँदा झन् समस्या पर्न थालेको छ । फोहोरको समस्या भयो कि काठमाडौं महानगरपालिकालाई मात्र दोष दिने गरिएको गुनासो गर्दै कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हामीले त महानगरवासीको मात्र चिन्ता लिने हो, सबै जिम्मा हाम्रो जस्तैगरी सरकारले हामीलाई मात्र दोष दिने गरेको छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी भएकै कारण सरकारले ठेकेदारलाई कारबाही गर्न नसकेको स्थानीयको आरोप छ । बाटो कालोपत्रे नगरेको विषयमा ठेकेदार कम्पनीका सो क्षेत्रका इन्चार्ज अनुप अधिकारीसँग नेपाल समाचारपत्रले जानकारी लिन खोज्दा उहाँले फोन उठाउनुभएन ।

फोहोर उठ्न नसकेपछि कामपाले काठमाडौं, ललितपुर र नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर अहिलेसम्मको अवस्था र फोहोर उठ्न नसकेको कारणबारे जानकारी गराएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले बताउनुभयो । उहाँले भन्नुभयो–‘सीडीयोसाबहरूलाई पत्र पठाएका थियौं, हालसम्म कुनै सुनुवाई भएन । हामी त अन्योलमा परेका छौं । यति धेरै निकाय हँुदा पनि राजधानीको फोहोर उठाउन सकेनौं ।’

कामपाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टाक्सफोर्सले समेत केही काम गर्न नसक्दा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । चार अघि बसेको बैठकले बिहान र दिउँसो कालोपत्रेको काम गरी राती फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो तर त्यो निर्णयसमेत कार्यान्वयन भएको छैन । टाक्स फोर्समा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सदस्य छन् । टाक्स फोर्स गठन भएको करिब तीन सातापछि समस्या आए पछिमात्रै पहिलोपटक बैठक बसेको थियो ।

सरकारले यही जेठ १७ गते जारी गरेको आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको सूचनाको १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान, पूर्वाधार निर्माण संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ । सो निर्देशनसमेत पालना हुन नसक्दा राजधानीसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ ।

यसअघि गएको फागुन १ देखि १२ गतेसम्म बाटो बन्द भएपछि ठेकेदार कम्पनीले तत्काल कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो । तर, काम नभएपछि आन्दोलनमा उत्रिएका स्थानीयले तत्काल माग पूरा नभए कडा आन्दोलन गर्नेसम्मका चेतावनी दिएका थिए । हिजो बिहीबार दिनभर वार्ता भए पनि फोहोर उठाउने विषयमा कुनै निर्णय हुन सकेन । निर्णय हुन नसकेपछि दिक्क भएर फर्केका कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राइले भन्नुभयो– ‘ठेकेदारकै कारण समस्या भएको हो । यो विषयमा सडक विभागले एक्सन लिनुपर्छ ।’

सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयवासीसँग छलफल जारी रहेको बताउनुभयो । फोहोर नउठेका कारण उपत्यकाका सबै सडक गल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ । गर्मी याममा फोहोरको कारण हैजा, झाडापखालाजस्ता फोहोरजन्य रोग लाग्ने खतरा बढेको छ ।

बल प्रयोग गरेर फोहोर लैजान्छौं : प्रजिअ अर्याल
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बल प्रयोग गरेर भए पनि फोहोर विसर्जन गर्ने चेतावनी दिनुभएको छ । उहाँले बिहीबार नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हामीले आजसम्म संवादका माध्यमबाट समस्या समाधान हुन्छ कि भन्ने सोचेका थियौं तर भएन । अब बल प्रयोग गरेर भए पनि फोहोर विसर्जन गर्नेछौं ।’

उहाँले आज शुक्रबारबाट बल प्रयोग गरेर भए पनि फोहोर लैजाने तयारी भएको जानकारी दिँदै भन्नुभयो– ‘प्रहरी प्रशासनलाई निर्देशन दिएका छौं, अब कुनै पनि वहानामा फोहोर रोकेर हुँदैन तत्काल विसर्जन गर्न भनेका छौं ।’

उहाँले सडक कालोपत्र नगरेकै कारण फोहोर रोक्न नहुने जिकिर गर्दै भन्नुभयो– ‘फोहोर रोकेर समस्या समाधान हुँदैन । बाटो बनाउने विषयमा तत्काल वार्ता गर्नुपर्छ ।’

एक सातासम्म फोहोर उठन नसक्दा पनि प्रशासनले चासो नदेखाएको स्थानीय तहको आरोप छ । उनीहरूले सरकारले गठन गरेको टाक्स फोर्सले समेत खासै काम गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्