रोटरी क्लब अफ काभ्रे भ्यालीले उपलब्ध गरायो, जिल्ला अदालतमा पाँच थान कम्प्युटर 



काभ्रे ।

रोटरी क्लब अफ काभ्रे भ्यालीले जिल्ला अदालत काभ्रेपलान्चोकलाई पाँच वटा डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ । सेवाग्रहिहरुको सेवामा सहजता प्रदान गर्ने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको रोटरी क्लब अफ काभ्रे भ्यालीका संस्थापक अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो ।

‘सामाजिक संघ संस्थासँग समन्वय गर्ने संस्थाको योजना अनुरुप जिल्ला अदालत काभ्रेपलान्चोकलाई कम्प्युटर उपलब्ध गराएका हौँ’–अध्यक्ष अनुपकुमार श्रेष्ठले भन्नुभयो–‘अदालतसँगै जिल्ला कारागार कार्यालयलाई पनि केही थान कम्प्युटर उपलब्ध गराउने तयारी गरेका छौँ । यस अघि दाङ जिल्लामा रहेको कारागार र काभ्रेपलान्चोक जिल्लामा रहेको नेपाल पत्रकार महासंघलाई पनि केही थान कम्प्युटर उपलब्ध गराएका थियौं ।’ सेवा लिनेहरूलाई कम्प्युटरका कारण थप सहजता प्रदान होस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको श्रेष्ठले बताउनु भयो ।

जिल्ला अदालत काभ्रेपलान्चोकका प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, जिल्ला न्यायाधीश महेन्द्रराज काफ्ले, श्रेस्तेदार गोविन्द घिमिरेलाई क्लवका अध्यक्ष अनुप श्रेष्ठ सहितको टोलीले पाँच थान कम्प्युटर हस्तान्तरण गरेको थियो । उपलब्ध भएका कम्प्युटरहरूबाट सेवाग्राहीहरूलाई सहज हुने श्रेस्तेदार गोविन्द घिमिरेले बताउनु भयो । जिल्ला अदालत काभ्रेपलान्चोकमा उप सचिव श्रेस्तेदार कायम भए पछि प्रशासनिक र भौतिक सुधार भएको छ । भदौ महिना देखि एउटा इजलास खाली हुँदा मुद्दाको चाप भने थपिएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

आठ महिनामा ११३६ मुद्दा दर्ता 

जिल्ला अदालत काभ्रेपलान्चोकमा मुद्दाको चाप बढेको छ । २०७८ भदौ देखि एउटा इजलास खाली छ । दुई वटा इजलासबाट भइरहेको न्याय सम्पादनमा मुद्दाहरूको चाप बढेको हो । कोरोना भाइरस तथा अन्य कारणले अदालतमा दुई वर्ष भन्दा धेरै अवधिका मुद्दाहरूको अवस्था पनि त्यस्तै रहेको अदालतले बताएको छ । ‘कोभिडको महामारी, मुद्दामा अंग पुग्ने प्रमाणहरू जुट्न नसक्नु तथा जनशक्तिको अभावका कारण केही मुद्दाहरू समयमै फछर्याैट हुन सकेका छैनन्’– श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘महामारीका बिचमा पनि नागरिकहरूलाई सेवा दिन अदालत निरन्तर क्रियाशील छ ।’ मुद्दा फछ्र्याैट समयमै हुन नसक्नु अदालतको मात्रै कारण नहुने श्रेस्तेदार घिमिरेले बताउनु भयो । आसन्न २०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले पनि मुद्दाको फैसलामा केही प्रभाव पार्नेछ । जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्थाका कारण अदालतको काम कारवाहीमा प्रभाव पर्नेछ । २०७८ साउन देखि फागुन मसान्तसम्म १ हजार १ सय ३६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष दर्ता भई फैसला हुन बाँकी रहेका हजार २ सय २२ थान समेत गरी चालु वर्षका लागि २ हजार ३ सय ५८ थान मुद्दा रहेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो ।

पुनरावेदनमा दर्ता भएका अघिल्लो वर्षको जिम्मेवारी सरि आएका ६ वटा, नयाँ दर्ता ६ वटा गरी १२ थान मुद्दामा २ वटा फैसला भएको छ । १० वटा मुद्दा पुनरावेदनमा फैसला हुन बाँकी छ । २ वर्ष अवधिका दुई वटा छन् । रिटमा अघिल्लो वर्षका ८ वटा जिम्मेवारी सरि आएका थिए भने चालु वर्षमा ११ वटा दर्ता गरी १९ वटा भएका थिए । जसमा ७ वटा फैसला भएका छन् । सबै मुद्दा रिट अन्तर्गतका निषेधाज्ञाका हुन् । १२ वटा निषेधाज्ञाका मुद्दा अझै फैसला हुन बाँकी छ । चालु वर्षमा दुई जना न्यायाधिशले ८ सय ३० वटा मुद्दा फैसला गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्