घुइयाबारीका घर–घरमा खानेपानीको धारा



सल्यान ।

कालिमाटी गाउँपालिका–७ घुइयाबारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घरनजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनका लागि सधैं बबई नदीमा जानुहुन्थ्यो ।

खानेपानी नहुँदा बबईको पानी खान थालेको वर्षौं बितेको थियो । मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनका लागि बबई नदीको पानीको प्रयोग गर्दै आउनुभएको थियो । ‘डोकोमा गाग्री बोकेर जान्थ्यौं, चैत/वैशाखमा पानी सफा देखिन्थ्यो, तर बर्खामा पानी धमिलो हुन्थ्यो, रुमालले छानेर प्रयोग गथ्र्यौं’, उहाँले भन्नुभयो– ‘तर, अहिले उहाँको अहिले दैनिकी फेरिएको छ, पानीका लागि बबई जानुपर्दैन, घरमा नै पानीको धारा छ । आवश्यकताअनुसार प्रयोग गर्न पाइन्छ ।

घुइयाबारीकै भीमसरा बुढाको पीडा पनि पवित्राको जस्तै थियो । ‘नदीको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहुँदै पनि नदीकै पानी प्रयोग गर्न बाध्य थियौं’, उहाँ भन्नुहुन्छ–‘झाडापखाला, आँउ जस्ता समस्या देखिन्थें, कतिपयलाई त एलर्जी समेत भएको थियो, तर अब नदीको पानी प्रयोग गर्नुपर्दैन ।’

पवित्रा र भीमसरा मात्रै होइनन्, अहिले घुइयावारीका १ सय ४३ घरधुरी यसरी नै खुसी भएका छन् । विगतमा डोकोमा गाग्री बोकेर बबईको दूषित र फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरुलाई भनाइ छ । स्थानीय गोपाल पुनले गाउँमै खानेपानीका लागि पहल थालेको झण्डै पाँच दशकपछि घर–घरमा पिउने पानी आएको बताउनुभयो । कालीमाटी गाउँपालिका, जर्सी ओभरसिज एडको आर्थिक सहयोग र दलित विकास समाज सल्यानको व्यवस्थापनमा सञ्चालित रियलाइज परियोजनामार्फत खानेपानी योजना सम्पन्न भएपछि घुइयाबारी र बाघमारेका स्थानीय लाभान्वित भएका छन् ।

‘एक–घर एक–धारा’ कार्यक्रमअन्तर्गत प्रत्येक नागरिकका घरमा धारा जडान गरिएको छ भने सार्वजनिकस्थल विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा धारा जडान गरिएको छ । रियलाइज परियोजना र कालीमाटी गाउँपालिकाको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । जसअन्र्तगत पतेरीखोला ग्राभिटी योजनाबाट ९१ घरधुरीका ४ सय ७३ जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको झण्डै ११ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना सम्पन्न भएको हो ।

यस्तै, बाघमारे ग्राभिटी योजनाबाट ५२ घरधुरीका २ सय ७० जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको ८ लाख, परियोजनाको झन्डै ७ लाख र स्थानीयको नगद तथा श्रमदानबाट यो खानेपानी योजना पनि सम्पन्न भएको हो । निर्माण समितिका अध्यक्ष जितबहादुर घर्तीले घर–घरमा पुगेको खानेपानीलाई दिगो व्यवस्थापन लागि आफूहरु योजनाबद्ध भएर लाग्ने बताउनुभयो ।

परियोजनाका जिल्ला संयोजक महेश हिताङले बाँके राष्ट्रिय निकुञ्जले छोएको मध्यवर्ती क्षेत्रमा रहेर यस परियोजनाले विविध कार्यसञ्चालन गरेको बताउनुभयो । विगतमा खानेपानीको अभावकै कारण स्थानीय नागरिकले सास्ती पाएको अवस्थामा विभिन्न क्षेत्रसँगको सहकार्य गरी प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जडान गरिएको उहाँको कथन छ ।
यसका साथै मध्यवर्ती क्षेत्रका नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधानका लागि परियोजनाले काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्