हिसानको आठौं महाअधिवेशन भोलिदेखि



काठमाडौं ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन चैत २५ गते राजधानीमा हुने भएको छ । दुई दिनसम्म चल्ने उक्त महाअधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदानको विषयमा हिसान शिक्षा बहस आयोजन हुने भएको छ ।

महाअधिवेशनको बारेमा जानकारी दिन हिसानले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा हिसानका महासचिव लोकबहादुर भण्डारीले ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ भन्ने नाराका साथ आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षामा राजनीति नगरी पार्टीमा मात्रै राजनीति गनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब सबै पार्टीले राजनीतिसँगै शिक्षा क्षेत्रलाई राम्रो बनाउनुपर्छ, शिक्षा राम्रो भएपछि मात्रै समृद्ध मुलुक बन्न सक्छ ।’ उहाँले हिसानले सरकारी विद्यालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा योगदान गर्न चाहेको जिकिर गर्दै भन्नुभयो– ‘वर्षांैदेखि हामीले यो मुद्दा उठाए पनि सरकारले ध्यान दिएको छैन ।’

महाअधिवेशनमा ‘एक जिल्ला, एक नमुना स्कुल, एक प्रदेश, एक नमुना स्कुल’को अवधारणाबारे छलफल गरिने बताइएको छ । हिसानले जथाभावी रूपमा ‘नो अब्जेक्सन लेटर’ दिँदा सयौं विद्यार्थी विदेशिएको आरोप लगाउँदै आवश्यकताअनुसार मात्र पत्र तयार गर्न आग्रह गरेको छ ।

महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामूहिक रूपमा समस्या समाधान गर्न, दबाब समूहको रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पुर्याई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयमा भएको लगानीलाई सुरक्षित गर्न विशेष जोड दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय कक्षा १२ सम्मका शिक्षालयहरूको संख्या १ हजार ९ सय ७७ भन्दा बढी रहेको र ती विद्यालयमा करिब ५ लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएको थियो । ती शिक्षालयहरूमा २ लाखभन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको र लाखौंले अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ । पत्रकार सम्मेलनमा राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको दाबी पनि गरिएको थियो ।

‘महाधिवेशनमा ३५ जिल्लाका ६ सय शिक्षालयबाट प्रतिनिधि र ५० जना पर्यवेक्षकसहित ६ सय ५० जनाको उपस्थिति रहने अनुमान गरिएको छ । साथै यो महाधिवेशनमा सहमतिको आधारमा सक्षम नेतृत्व चयन हुने अध्यक्ष सिलवालले दाबी गर्नुभयो ।’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म नेतृत्वको विषयमा केही सोचेका छैनौं। तर, सहमतिको आधारमा सबल, सक्षम र समय दिनसक्ने नेतृत्व चयन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्