चुनावी तालमेलको तयारीमा एमाले र परिवार दल



काठमाडौं ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो ।

यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताउनुभयो ।

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भन्नुभयो– ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । तर, एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताउनुभयो । परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ ।

ढकालका अनुसार कुनकुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताउनुभयो । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिर्पोट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुंगो लाग्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो । एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

समान विचार र एजेन्डा मिल्ने जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्न खुला रहेको परिवार दलले एक्लै पनि चुनावमा जाने बताएको छ । यसका लागि दलका प्रवक्ता रूपसिंह भण्डारीको नेतृत्वमा चुनावी घोषणापत्र समिति बनाई काम शुरू गरेको छ । घोषणापत्रमा स्थानीय तहमा भएको नीतिगत भष्ट्राचारलाई शून्यमा झार्ने समानुपातिक र समावेशी विकास पहुँचको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने कुरालाई जोड दिनेछ ।

स्थानीय तहमा नेतृत्व क्षमता विकास प्रशिक्षण, जनसहभागितामा स्थानीय तहमा बजेट तर्जुमा गर्नुपर्ने र विकास बजेटलाई पूर्ण रूपमा खर्च गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा खानेपानी र स्थानीय पूर्वाधार विकासलगायतको विषयलाई समेटेर धोषणापत्र तयार गरिने परिवार दलले बताएको छ ।

अध्यक्ष ढकालले पुराना दलहरूको आयु सकिएको बताउँदै उनीहरूले गर्न सक्ने जति काम गरिसकेकोले अब योभन्दा धेरै आशा गर्न नहुने बताउनुभयो । उहाँले पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले पुराना नेताहरूले नीतिगत रूपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरू सचेत भएर नयाँ नेतृत्व चुन्नुपर्नेमा जोड दिनुभयो ।

परिवार दलले मधेश प्रदेशका बारा र पर्सामा आफू बलियो रहेको दाबी गरेको छ भने प्रदेश एकमा सुनसरी र झापा, वागमतीमा काठमाडौं, नुवाकोट र मकवानपुर, गण्डकीमा कास्की र गोरखा, लुम्बिनीको दाङ र रूपन्देही, कर्णालीको मुगु र दैलेख तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आफ्नो संगठन बलियो रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्