सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रीपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रित दायर गरेका थिए । सो रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए ।

चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो । ३ महिना ३ हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन् । मन्त्री परिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो ।

कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने– ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ । यो बिचमा नेपाली खेलकुद जति तीव्र रूपले अगाडि बढ्नुपर्ने हो त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्नेछु ।’

थापाको राजिनामा
राखेपका वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउँदै बुधबार राखेपमा राजीनामाको निवेदन दिएका हुन् । थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको थियो ।

त्यसबेला तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका थिए । त्यसअघि थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्