आजदेखि काली गण्डकीमा बिच भलिबल



पाल्पा ।

बिहीबारदेखि पाल्पाको ऐतिहासिक र पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा बिच भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
यही चैत्र २४ देखि २६ गतेसम्म हुन लागेको राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानले जनाएको छ । सो संस्थाले तानसेनमा पत्रकार सम्मेलन गरी खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले दिएको जानकारीअनुसार सातै प्रदेशबाट नेपाल पुलिस क्लब, एपीएफ क्लव र अन्य क्लबबाट गरी १८ जना महिला राष्ट्रिय खेलाडीले सहभागिता जनाउनेछन् । करिब ३० लाखको लागतमा आयोजना गर्न लागिएको खेलमा प्रथम पुरस्कार एक लाख नगर, ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ । यस्तै दोस्रो दोस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडीले २० हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

प्रतिष्ठानले विगत १० वर्षदेखि विभिन्न सामाजिक कामहरू गर्दै आएको र हाल पाल्पामा पहिलोपटक बिच भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मास्केले बताइन् ।
खेलमा सहभागी हुने खेलाडीका लागि आवत–जावत र खान बस्नको व्यवस्थाका साथै सम्पूर्ण खेलाडीको दुई लाख बराबरको बिमासमेत आयोजकले गरेको छ । यस्तै प्रतियोगिता सञ्चालन भएको समयावधिमा श्रीनगर यातायात सेवा प्रा.लि.ले सवारीको व्यवस्था समते गरेको छ भने खेलको विभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारणको पनि व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एम्बेस्डर तथा नायक धिरेन शाक्य, संस्थाका सल्लाहकार अशोकमान महर्जन, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने लगायतले पाल्पामा राष्ट्रिय स्तरको खेलको आयोजना हुन आफैंमा राम्रो पक्ष भएको र रानीमलल क्षेत्रमा हुने खेलबाट सम्रग जिल्लाकै पर्यटन विकास टेवा पुग्ने बताएका थिए ।

प्रतियोगितामा अन्तरराष्ट्रिय भलिवल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्यान्डिडेट विजय केसी र विकास गुरुङ्गलगायतले निर्णायक भूमिका निर्वाह गर्नेछन् । प्रतियोगिता बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा रानीमहलको प्रांगणमा निर्मित विच कोर्टमा सञ्चालन हुने आयोजकको भनाइ छ । तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उनको स्मृतिमा कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्