कलाकार कस्ता हुनुपर्छ ?



नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिशृङ्खलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबै कलाकारमा गनिन्छन् । उनीहरुलाई सरकारले बाँचुन्जेल त सम्मान गरिहाल्छ, मरेपछि पनि देशको गहना गुमाएकोप्रति भाव व्यक्त गर्ने गरेको छ । मुलुकमा चेतना फैलाउन कलाकारहरुको निकै अहम् भूमिका छ । उनीहरु अभिनयदेखि लिएर गीतहरुमार्फत चेतना फैलाउन सक्छन् । जुनै पनि फिल्म होस् या म्युजिक भिडियो, त्यसमा परिवर्तन ल्याउनुपर्ने अभ्यास गरिएको हुनुपर्छ । राज्यको आँखामा नपुगेको ठाउँको विकासलाई लिएर कलाकारले गीत गाउनुपर्ने हो ।

कलाकारहरुले चाहे भने धेरै परिवर्तन गर्न सक्छन् । कलाकारहरु राज्यको मात्र होइन् जनताको पनि गहनाको रुपमा चिनिन सक्नुपर्छ । गीत र अभिनय जहिले पनि पाठ दिने खालको हुनुपर्छ । मुलुकमा भएका विकृति जस्तै– भ्रष्टाचार, बलात्कार, ठगी, अन्याय, अत्याचार, दाइजोलगायतको विषयलाई उठान गरेर कलाकारले गीतमार्फत बाहिर ल्याउन सक्छन् । कलाकारसँग यति क्षमता हुन्छ कि उसले गीतमार्फत विकासको मूल फुटाउन सक्छ । चाहे हाम्रै छिमेकी होस्, त्यहाँका कलाकारहरुले निकै परिवर्तनशील भूमिका निभाइरहेका हुन्छन् ।
देशलाई पर्दा उनीहरुले आफ्नो मूलका जनतालाई राहत दिन्छन् । महामारीकै बेलामा पनि अरु मुलुकका कलाकारले आफ्नो राज्य र जनतालाई कति सहयोग गरे । उनीहरुले कहाँ खानेपानी छैन, शिक्षाको कहाँ खाचो छ, त्यहाँ गएर आफ्नो कमाइले विकास गर्छन् । उनीहरुले कुनै राजनीतिक पार्टीका सदस्यता पनि लिएका हुँदैनन् । आफूलाई स्वतन्त्र बताउने उनीहरु राज्य र जनता दुवैका गहना हुन् ।

तर, नेपालका कलाकारहरुले ठ्याक्कै उल्टो काम गरेका छन् । हरेक कलाकारले राजनीतिक पार्टीको सदस्यता लिएका छन् । उनीहरु स्वतन्त्र नभई पार्टीगत चलेका छन् । आफ्नो पार्टीले भनेपछि जस्तो पनि गीत गाइदिन्छन् । सोच्दै नसोची मुलुकलाई नै अप्ठ्यारो गराउने गीत गाउँछन् । राम्रो चेतना दिने खालका होइनन्, गलत र भ्रममा पार्ने खालका गीत गाउँछन् । अर्का पार्टी गिराउनका लागि जस्तो मन लाग्यो त्यस्तै गीत गाउने, अनि दबाब थेग्न नसकेपछि युट्युबबाट हटाउने । कुनै पनि गीत गाउनुअघि कलाकारले समाज र राष्ट्रमा कति क्षति पुग्छ यसबारे ख्याल गर्नुपर्दैन ? सुन्न पनि पनि लाज लाग्ने खालका गीत कलाकारहरु गाउँछन् । यसबाट समाजले के सिक्ने ? आफूले गाएको गीतबाट समाज र राज्यलाई कति असर पर्छ, त्यो सोच्नुपर्दैन ? कलाकारहरु कहिले जिम्मेवार बन्छन् ? छिन्को रमाइलोका लागि जस्तो मन लाग्यो गीत गाउने, अभिनय गर्ने । अनि पछि दबाब आएपछि हटाउने ? यस्तो गर्नेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्दैन ?

पछिल्लो समय निर्देशकहरुले पनि विनाऔचित्यका फिल्महरु बनाइरहेका छन् । कतिपय फिल्ममा न कथा हुन्छ, न कुनै चेतना फैलाउने गतिविधि । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिविना फिल्म र म्युजिक भिडियो बनाउन नदिने निर्णय गर्नुपर्छ । कलाकारहरुले कुन म्युजिक भिडियो बनाउन लागेको, कुन फिल्मको निर्माण हुँदै छ, यसको जानकारी सरकारलाई हुनुपर्छ । गीत लेखिसकेपछि सम्बन्धित विभाग र मन्त्रालयलाई देखाउनुपर्छ । सम्बन्धित मन्त्रालय र विभागले त्यस गीतबारे जाँचबुझ गरेर मात्र स्वीकृति दिनुपर्छ । होइन भने जथाभावी गीत गाउने र फिल्म बनाउने कार्यको अन्त्य हुँदैन । यस्तै हो भने समाजमा थप विकृति फैलिन्छ । साथै यसले नराम्रो सन्देशबाहेक अरु केही दिँदैन । सरकारको स्वीकृतिविना कसैले केही गर्न पाउँदैन भने कलाकार पनि त्यसअन्तर्गत पर्दछन् ।

पछिल्लो समय नेपालमा म्युजिक भिडियो बनाउनेको संख्या ह्वात्तै बढेको छ । कलाकारहरु पनि जथाभावी रुपमा ल्याएका छन् । यता, दोहोरी खेल्ने कलाकारहरु पनि उस्तै छन् । एकछिन्को रमाइलोको लागि फोहोरी र अश्लील शब्दको प्रयोग गर्दछन् । तर, त्यस्तो शब्दले अरुलाई कति असर पुग्छ भनेर उनीहरुले सोचविचार गर्दैनन् । सरकार, जनता, समाज र आफ्नै घरपरिवार नसोच्ने कलाकारबाट के सिक्न पाइन्छ ? यस्तो पाराले देश कतातिर जान्छ ? समाजलाई सही बाटोमा लैजानुको साटो गलत बाटोमा धकेल्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । कलाकार हुन् भन्दैमा छाडा छोड्न पाइँदैन । उनीहरुभन्दा माथि राज्यको ऐन, कानुन र नेपाली समाज आउँछ ।

उमेर नपुगेका, नबालकले समेत दोहोरी साँझमा गीत गाइरहेका भेटिन्छन् । पढ्ने, खेल्ने उमेरमा उनीहरुको श्रमशोषण गरिरहेको छ । १६ वर्ष पुगेपछि उसले काम गर्न पाउँछ । तर, दोहोरी साँझहरुमा स–साना बालबालिकालाई समेत गीत गाउन लगाइन्छ । अनि कहाँ छ सरकारको ऐन कानुन ? कानुनको धज्जी उडाउने कलाकारलाई कारबाही गर्नै पर्छ ? भिडियो खेल्न र गीत गाउनका लागि पनि निश्चित मापदण्ड तोकिनुपर्छ । हिरो, हिरोइन बन्नलायक नभएका पनि फिल्म खेलिरहेका छन् । गीत गाउन नजान्नेलाई पनि गीत गाउन लगाएका छन् । अभिनय गर्न नआउनेलाई मोडल बनाएका छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा आफन्त घुसाउने प्रवृत्ति बढ्दो छ । आफन्त हो भन्दै जान्दै नजानेकालाई फिल्ममा प्रमुख भूमिका दिने गरिएको छ । यसले झनै बेथिति निम्त्याएको छ ।

हाम्रो राष्ट्रिय पोशाक पुरुषको हकमा दौरा–सुरुवाल र ढाकाटोपी हो । सारी–चोली र पछ्यौरा महिलाहरुको राष्ट्रिय पोशाक हो । पहिलेका महिलाहरु समाजमा विकृति फैलिन्छ भनेर आफ्नो पैतालासमेत छोपिने गरी सारी लगाउँथे । आफ्नो र अरुको सुरक्षाप्रति उनीहरु निकै जिम्मेवार थिए । नातेदार, समाज र सरकारको ख्याल उनीहरुलाई हरदम रहन्थ्यो । तर, आधुनिकताको नाममा छोटा लुगा प्रचलनमा आएका छन् । जसले समाजमा विकृति ल्याइदिएको छ । आफ्नै परिवारसँग बसेर हेर्न नसक्ने म्युजिक भिडियो र फिल्महरु बनेका छन् ।
आफ्नो अंग देखाउनका लागि अभिनय गर्न आएको जस्तो देखिन्छ । यसको नकारात्मक प्रभाव हाम्रो समाजले खेपिरहेको छ । छोराछोरी सुधार्न अभिभावकको निकै ठूलो भूमिका रहन्छ । त्यसै गरी, समाज सुधार्न हरेक नागरिकको भूमिका रहन्छ । नागरिक आफैँ सही बाटोमा हिँड्ने हो भने समाजमा भएका विकृति सबै हट्छन् । यता, मुलुकको विकास पनि सम्भव हुन्छ । हरेक मानिसले समाजप्रति जिम्मेवार बन्नुपर्छ । आफ्नो कारणले कसैलाई केही नराम्रो नहोस् भनेर हरेक नागरिकले ख्याल गर्नुपर्छ ।

एउटा साधारण मानिसले त केही काम गर्नुअघि समाजको बारेमा ख्याल गर्नुपर्छ भने उनीहरु त कलाकार । उनीहरु समाज र राष्ट्रप्रति हामीभन्दा पनि धेरै जिम्मेवार हुनुपर्छ । कलाकारहरु पूरै मुलुक र समाजको अभिभावक हुन् । उनीहरुले गरेको कामकाज त सबैले नियालिरहेका हुन्छन् । उनीहरुले जे लगाए अरुलाई पनि त्यही लगाउनुपर्ने मोह जाग्छ । हाम्रो समाजमा पनि त्यस्तै भएको छ । कलाकारहरुले समाजमा के गर्नुहुन्छ, के हुँदैन भनेर सोचिदिएको भए आज मुलुकको रुप अर्के हुन्थ्यो होला । आफ्नो संस्कृति र मान–मर्यादालाई सबैले ध्यानमा राख्नुपर्छ । संस्कृतिको बचाउ गर्न सबै लागिपर्नुपर्छ । सरकारले संस्कृति झल्काउने र चेतना फैलाउने खालका फिल्म मात्र बनाउन दिनुपर्छ । जथाभावी छोटा लुगा लगाएर फिल्म खेल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

गीत गाउने कलाकारहरुले भड्किलो गीत गाउन बन्द गर्नुपर्छ । समाजलाई दुई धार पार्ने खालका गीतहरु गाउनमा रोक लगाउनुपर्छ । विवाद र विकृति फैलाउने गीत बजाउन दिनुहुन्छ ? हामीलाई अपच हुने र सुन्नै नसक्ने गीतहरुमा प्रतिबन्ध लगाउनुपर्छ ।
सुमन देवकोटा, नखिपोट, ललितपुर

प्रतिक्रिया दिनुहोस्