शून्य कि शतप्रतिशत सहिष्णुता ?



हरेक उमेर समूहका महिला तथा किशोरीहरु दिनप्रतिदिन बलात्कारको शिकार हुने र अकालमा ज्यान गुमाउने गरेका घटना निरन्तर सुन्नमा आउनु दुर्भाग्यपूर्ण छ । बलात्कार निकृष्ट प्रकारको मानवअधिकारको हनन भएकोले विश्वव्यापी रुपमै यसविरुद्ध आवाज उठिरहन्छ । मानवीय सभ्यतामा कालो धब्बाका रुपमा रहेको बलात्कारलगायतका अपराधमा संयुक्त राष्ट्रसंघले महासन्धि नै पारित गरेर विश्वव्यापी संयन्त्र नै बनाएको छ । यति सबै रक्षात्मक अभियानका बाबजुद समाजको आधा अंग हिंसामा छ । विश्व तथ्यांक हेर्दा तीन जनामा एक महिला कुनै न कुनै प्रकारको हिंसामा परेको देखिन्छ । त्यसैले विश्वमा ६ अर्ब जनसंख्या भएका बेला थालिएको ‘वन बिलियन राइजिङ’ अभियानले पनि यही कडीलाई उजागर गरेको छ ।

नेपालमा लामो समयदेखि महिला अधिकारका पक्षमा सक्रिय महिला पुनःस्थापना केन्द्र (ओरोक) ले गत फागुन महिनामा २७ जना महिला तथा बालिकामाथि बलात्कार हुनुका साथै बलात्कारकै कारण ३ जनाको मृत्यु भएको जनाएको छ । महिला तथा किशोरी मात्र होइन, १८ महिनाका बालिकासम्म सुरक्षित छैनन् । घरपरिवार, आफन्त, साथीसंगी, शिक्षक, विश्वास पात्रबाट नै किशोरी तथा बालिकाहरु असुरक्षित हुने क्रम बढ्दो छ । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई लिएको विभिन्न संघसंस्थाले गरेको अनुसन्धानले पुष्टि गरेको छ । महिलाहरुको समान अस्तित्वलाई नस्वीकारी उनीहरुलाई उपभोग्य वस्तुको रुपमा हेर्ने गरिएकै कारण नेपालको संविधानले बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका हिंसालाई कानुनी रुपमा दण्डनीय बनाई प्रभावित/पीडितले कानुन बमोजिम न्याय तथा क्षतिपूर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । अपराधीलाई कुनै पनि बहानामा छुट नदिने, सजाय न्यूनीकरण नगर्ने नीति लिएको छ । यद्यपि व्यावहारिक रुपमा आपराधिक मानसिकता बोकेका नरपिपाषुहरु राजनीतिक दल, समाजको संरक्षणको आडमा यस्ता जघन्य आपराधिक घटना गरेर पनि खुलेआम हिड्ने गरेकै कारण घटनाले बढावा पाएको स्पष्ट हुन्छ । यस्ता अपराधीलाई संरक्षण नभै कडा भन्दा कडा सजायको व्यवस्था हुनेहो भने मात्र महिला सुरक्षित हुनेछन् । महिलाको शरीर महिलाको आफ्नो नियन्त्रणमा नहुनु, यौनिकतामाथिको बाह्य नियन्त्रण कायम रहनु, परिवारको इज्जत जोगाउने जिम्मा महिलामाथि थोपर्नु, महिलाको पहिचानलाई उनको यौनिकतासँग दाँजेर हेर्ने सोच समाजमा विद्यमान रहनु गलत संस्कार हुन् । यस्तै संस्कारका कारण बलात्कारका घटना भइरहन्छन् । हालै मात्र मोरङ जिल्लामा एक ११ वर्षीया बालिका विद्यालयबाट एक्लै घर फर्किरहेको अवस्थामा बलात्कृत भइन् । नरपिपाषुहरुले उनको हत्या पनि गरे । बालिका हराएको दुई दिनपछि परिवारले खोजी गर्दैजाँदा नग्न रुपमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव फेला पर्‍यो ।

बलात्कारका अधिकांश घटनामा समानता के छ भने, शून्य सहिष्णुता भनिए पनि व्यवहारमा शतप्रतिशत सहिष्णुता देखिन्छ । घटनाको बारेमा थाहा पाइसकेपछि पनि समाजमा लाज हुने, इज्जत जाने डरले परिवारले घटनालाई गुपचुपमा नै राख्नेगर्दछ । पीडित र उनको परिवार पीडा पिएर चुपचाप बसिरहन्छ । अपराधीको मनोवल निरन्तर बढिरहन्छ । यस्ता निकृष्ट अपराध, मानवताविरुद्धका कलंकले समाजलाई लज्जित बनाइरहन्छन् । बलात्कृत महिलाको होइन, बलात्कारीको चाहिं इज्जत जाने समाज नबनाएसम्म यस्ता घटनामा न्यूनीकरण आउने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्