ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण मेडिसिटी अस्पतालमा



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले श्वासप्रश्वाशमा समस्या भएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुधबार साँझ अस्पतालमा पुगेर गृहमन्त्री खाँणले ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा सम्लग्न डक्टरहरूले गृहमन्त्री खाँणलाई जानकारी गराउनु भएको थियो । खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको ठाकुरलाई सुनाउनु भएको थियो । ठाकुरले आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्