बाग्मती टिम च्याम्पियन



काठमाडौं ।

बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पार्यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त गर्यो ।

प्रतियोगिताको पुरुषमा बाग्मतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत के–वानको पुरुष ५५ केजीमा बाग्मतीका तीर्थराज थापा, ५७ केजीमा एपीएफका रोहित चन्द, ६५ केजीमा बाग्मतीका सबिर श्रेष्ठ र खुलामा बाग्मतीका सुवास राना मगर पहिलो भए ।

के–वानकै महिला ५० केजीमा बाग्मतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपीएफकी निशा विकले स्वर्ण जिते । फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बाग्मतीका अनिल नेपालीले पहिलो स्थान हात पारे । प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बाग्मतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले स्वर्ण जितिन् ।

प्रतिक्रिया दिनुहोस्