धर्मशाला मुद्दाको पेशी चैत २७ लाई सारियो



काठमाडौं, (नेस) ।

पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सोमबार तोकिएको पेशी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ । प्रतिवादी होटेल आनन्द प्राली (बतास समूह) का तर्फबाट राखिएका अधिवक्ताहरूले यसअघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा आजको पेशी परेकाले अन्तरिम आदेश नदिने श्रीमानले यो मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाउनु भएपछि आजको पेशी २७ गतेका लागि सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘होटेल आनन्द प्रालिले कतिपय कुरा अदालतलाई ठगेर मुद्दा दर्ता गराउनुभएको छ, छिटो अन्तरिम आदेश माग्नेले आज किन पेशी सारे, मुद्दा कमजोर छ भन्ने सहजै बझिन्छ ।’ बतास समूहका अधिवक्ताहरूले बम श्रीमान्ले मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाएपछि न्यायाधीश बमले आफूले मुद्दा नहेर्ने भन्दै अर्को पेशी तोकिएको बताइएका छन् । बतास समूहअन्तर्गत रहेको होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारत मैत्री धर्मशालाको सम्झौता उल्लेख गरिएका विभिन्न सर्तहरू अनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्