एक महिनामा २७ बलात्कारका घटना

३ को बलात्कारपछि हत्या



काठमाडौं ।

सभ्य समाजको कलंकको रूपमा रहेको बलात्कारजस्ता जघन्य अपराधका घटना नियन्त्रण हुनुको साटो बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । अघिल्लो एक महिनामा मात्रै पनि २७ वटा बलात्कारका घटना घटेको र तीमध्ये ३ जनाको बलात्कारपछि हत्या गरिएको महिला पुनःस्थापना केन्द्र (ओरेक) ले जनाएको छ ।

ओरेकले मंगलबार राजधानीमा सार्वजनिक गरेको पछिल्लो एक महिनाको तथ्यांकअनुसार उक्त अवधिमा १ सय २७ वटा महिला हिंसाका घटना सार्वजनिक भएको र तीमध्ये २७ वटा बलात्कार र ३ वटा बलात्कारको प्रयास भएको थियो । ओरेकले सार्वजनिक गरेको तथ्यांकअनुसार बलात्कारका २७ घटनामध्ये ३ जनाको बलात्कारपछि हत्या भएको थियो । मोरङ जिल्लामा हालै एक ११ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।

विद्यालयबाट एक्लै घर फर्किरहेको अवस्थामा हराएकी बालिकाको शव दुई दिनपछि नग्न रूपमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो । शव खोज्ने क्रममै प्रहरीले स्थानीय आरोपितलाई शंका गरी सोधपुछ गर्दा आरोपितले बलात्कारपछि कसैलाई नभन्नु भनेर धम्की दिएर छाडे पनि बालिकाले बाबालाई भनिदिन्छु भनेपछि उनको घाँटी थिचेर हत्या गरी खाल्डोमा पुरेको बयान दिएको थियो ।

मोरङकै अर्को घटनामा फागुन २७ गते १८ महिनाकी बालिका साँझ ५ बजे घरबाट हराइन् । बालिकाकी आमा र छिमेकीहरूले खोजी गर्दा साँझ ६ः३० बजे घर नजिकैको झाडीमा बालिका नग्न र अचेत अवस्थामा फेला परिन् । बालिकाको टाउको सुनिएको थियो भने गुप्ताङ्गबाट रगत बगिरहेको थियो । बालिकालाई नजिकैको अस्पतालमा उपचार सम्भव नभएपछि नोबेल अस्पतालमा लगियो । राती १२ बजे बालिकाको उपचारको क्रममा ज्यान गयो ।

बलात्कारका घटनामा घर वरपरका छिमेकीहरूको संलग्नता ४८ प्रतिशत र आफूले आत्मीय मानेका साथीहरूको संलग्नता १५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । बलात्कृत भएकामध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरी र २६ प्रतिशत १७ देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन् ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रूपमा बलात्कारलाई लिएको अनुसन्धानका क्रममा पाइएको बताउनुभयो । उहाँले महिलाहरूको समान अस्तित्वलाई स्वीकार नगरी उनीहरूलाई उपभोग्य वस्तुको रूपमा प्रयोग गरिएकै कारण नेपालको संविधानले बलात्कारलगायत महिलामाथि हुने सबै प्रकारका हिंसालाई कानुनी रूपमा दण्डनीय बनाई प्रभावित/पीडितले कानुनबमोजिम न्याय तथा क्षतिपूर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा लागु नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘लमजुङ्गकी १७ वर्षीय गायिकाले कलाकार पल शाहले विभिन्न प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको भनी जाहेरी दर्ता गरेपछि कानुनले अपराध भनिसकेको कुरामा अनुसन्धान भइरहँदा पनि पीडकको पक्षमा प्रदर्शन तथा सामाजिक सञ्जालमा भएको बहसले हिंसा प्रभावितले आफूमाथि भएको हिंसालाई बाहिर ल्याउँदा खेप्नुपर्ने लान्छना, डर, धाक धम्कीले हाम्रो समाजको कुरूप तस्वीरलाई छर्लङ्ग पारेको छ ।’

प्रतिक्रिया दिनुहोस्