बन्द मुटुको भल्ब खुलेपछिको खुसी, – ‘अब हामी चुरोट खाँदैनौं’

0
Shares

काभ्रे ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका शीतलपाटी चपौली घर भएका ६० वर्षीय युवनाथ तिमल्सिनाको मुटुको भल्ब बन्द हुँदा मृत्यु भइसकेको अनुभूति गर्नुभयो । सिन्धुलीबाट हतार–हतार परिवारका सदस्यले धुलिखेल अस्पताल ल्याइपुर्याएकाले सहज उपचार भयो ।

मृत्युको मुखमा पुगेका तिमल्सिनालाई मुटु रोग विशषेज्ञ प्राडा राजेन्द्र कोँजुको टिमले उपचार गर्यो । ‘ब्लक भएको भल्बमा पाइप पठाएर खोल्यौं, चुरोटको नियमित सेवनका कारण मुटुको भल्वमा समस्या भएको रहेछ ।’ –डा. कोँजुले भन्नुभयो ।

तिमल्सिनालाई पहिलोपटक २०७८ चैत्र ११ छाती दुखेको थियो । सामान्य होला भन्ने सोचेर घरमै बसिरहेका युवनाथलाई दोस्रोपटक चैत १५ गते दिउँसो समस्या देखियो । तत्कालै अस्पताल आउँदा मात्रै थाहा भयो उहाँको मुटुको भल्वमा समस्या छ । चिकित्सकहरुको तत्कालको परामर्श र उपचारपछि पुनर्जीवन पाएकोमा तिमल्सिना दंग हुनुहुन्छ । ५ वर्षको उमेरमा हजुरबुबाले हुक्का खाँदा आगो ल्याउन र सल्काउन सिकाउँदा सिकाउँदै कुलतमा फसेका तिमल्सिनाले निरन्तर सुर्ती र चुरोटको सेवन गर्नुभयो । उहाँको अम्मल त्यतिले मात्रै रोकिएन । चुरोट छाड्ने खैनी र दुवै छाड्न नियमित दूध चियाको सेवन गर्दा मुटुको भल्ब बन्द हुन पुग्यो । ‘पुनर्जीवन पाएको खुसी छु, प्रतिज्ञा गरें अब चुरोट कहिल्यै खान्न’, युवनाथले भन्नुहुन्छ– ‘परिवारले देख्न पाएको यो हँसिलो अनुहार खुम्चन दिने छैन । भगवान्रूपी चिकित्सकहरुप्रति ऋणी छु ।’

युवनाथ जस्तै धुलिखेल अस्पतालमा ७ दिनको अवधिमा थुप्रै विरामी मुटुको समस्याका कारण अस्पताल भर्ना हुन आएका छन् । तीमध्ये धुलिखेल नगरपालिका–४ का ४८ वर्षीय कुमार तोलाङ्गे र बनेपा नगरपालिका–१२ बाँस्डोलका ५८ वर्षीय सूर्यमान खड्का आईसीयूमा छन् । तिमल्सिना, तोलाङ्गे र खड्काको समस्या उस्तै छ । तोलाङ्गले २० वर्षको उमेरदेखि लागूऔषधका साथै नियमित चुरोट सेवन गर्दै आउनुभएको थियो ।

केही वर्ष वैदेशिक रोजगारको सिलसिलामा दुबई बसेर फर्कनुभएका उहाँलाई बाँचिन्छ जस्तो लागेको थिएन । एक्कासि मुटुको धड्कन बढ्यो । श्वास फेर्न गाह्रो भयो । फागुन २९ गतेको उक्त घटना सम्झँदै तोलाङ्गे भन्नुहुन्छ–‘चिकित्सकको समयमै सेवा प्राप्त नभएको भए बाँच्ने सम्भावना थिएन । नियमित चुरोट, गाँजा तथा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सेवनका कारण मुटुको भल्ब बन्द हुन पुगेको रहेछ ।’ ‘कारण अरू पनि होलान् तर मलाई मुटुको भल्बमा समस्या पारेको त्यही कारण रहेछ’, उहाँ थप भन्नुहुन्छ– ‘डा. कोँजुसहितको चिकित्सहरुको टिमलाई धन्यवाद । अब म मादक पदार्थ, लागूपदार्थ जस्ता मुटुलाई असर पार्ने कुरा सेवन गर्ने छैन ।’

त्यस्तै, बनेपा–१२ बाँस्डोलका सूर्यमान खड्का चैत १४ गते भर्ना हुनुभयो । असार महिनामा छाती दुखेर परीक्षण गर्दा केही देखिएको थिएन । भिटामिन ‘डी’को कमी भएकाले नियमित सेवन गरिरहेका खड्कालाई एक्कासि छाति दुखेर सहनै कठिन भएपछि एमरजेन्सीमा ल्याइएको थियो । ईसीजीमा मुटुको भल्ब बन्द भएको देखिएपछि तुरुन्तै उपचार गरिएकाले बाँचिएको उहाँको अनुभूति छ । उहाँ र उहाँको श्रीमती दुवै जनाले नियमित चुरोट सेवन गर्दै आउनुभएको थियो । चुरोटकै कारण मुटुको भल्ब बन्द भएको चिकित्सकले बताएको खड्काको कथन छ । ‘अब म मात्रै होइन घरका सदस्यहरुलाई पनि चुरोटको सेवन बन्द गराउँछु ।’ –उहाँले भन्नुभयो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डीन प्रो. एवं मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोँजु अधिकांश व्यक्तिलाई चुरोट सेवन, तनाव तथा अन्य कारण मुटुको भल्बमा समस्या देखिने गरेको बताउनुहुन्छ । धुलिखेल अस्पतालमा आउने अधिकांश बिरामीहरुमा त्यही खालको समस्या रहेको उहाँको अनुभव छ ।

धेरै व्यक्तिको उपचारमा सहजता प्रदान गर्दै आएको धुलिखेल अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समय तनाव तथा खानपान र रहनसहनका कारण युवासमेत मुटुकै समस्याका कारण मृत्युवरण गर्न पुगेका छन् । मुटु बचाउन व्यक्ति स्वयं सचेत हुनुपर्ने डा. कोँजुको भनाइ छ । ‘व्यक्ति आफैं सचेत रहन सकेन भने मुटु बचाउन सकिँदैन ।’ –डा. कोँजुले भन्नुभयो । धुलिखेल अस्पतालले सहज र सरल अवस्थाबाट सेवा उपलब्ध गराएको छ । समयमै उपचार नपाउँदा अस्पताल नआइपुग्दै व्यक्तिको निधन पनि हुने गरेको छ ।