- प्रा.डा. प्रेम शर्मा
यात्रा एवम् भ्रमणले मानवको सोच र विचारमा बृहत्तर क्षेत्र तथा अनुभव, ज्ञान र शिक्षाको भण्डार बढाउँछ । पर्वतको विहादीमा जन्मेका विष्णुप्रसाद शर्मा पराजुली प्रारम्भिक रुपमा पेसागत आधारमा सञ्चार क्षेत्रसँग आबद्ध भए तापनि सोख र इच्छाले विश्वका भास्को डिगामा र कोलम्बसभन्दा नेपालमा खासगरी हिमाली र पहाडी भेगको बारेमा अन्वेषण (एक्सप्लोर), हिमाली क्षेत्रबारे जानकारी दिने अभियान (एक्पीडिसन) र विविध विषयका सूचना संकलन (रेकर्डिङ) मा ती भन्दा पछि छैनन् । वि.सं. २०७२ मा प्रकाशित उनको प्रथम नियात्रा कृति ‘तिब्बत यात्रा’ले मनमा नियात्राको आशा र प्रेरणाले २०७४ मा जन्माएको उनको दोस्रो नियात्रा कृति ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ र हालै २०७८ मा प्रकाशित भएको तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’ कृतिहरू अनुभव र अनुसन्धानबाट जन्मेका ज्वलन्त उदाहरण र नतिजा हुन् । पर्यटन क्षेत्रका सरोकारवालाले पढ्नै पर्ने यी तीन कृतिहरू छन् । उनको पहिलो कृति तिब्बत यात्राको हालै प्रकाशित अङ्ग्रेजी संस्करणले विदेशी पाठकलाई आकर्षित गर्ने कुरामा पनि आशा गर्ने ठाउँ छ ।
घुम्ने यात्री गाउँघर, घरगोठमा बास मात्रै बस्ने नभई पाखापखेरा, चौर, खोल्सा–खोल्सीमा पाल टाँगेर, स्थानीय तहमा उपलब्ध खाना खाएर (होमस्टेझैँ) पदयात्रा गर्ने र अति साधारण रूपमा जीवन गुजारा गर्ने बासिन्दाको जनजीवनको प्रत्यक्ष साक्षात्कार गरेर जोखिमपूर्ण एवम् साहसिक पदयात्रा गर्ने व्यक्ति नेपालमा विरलै होलान् । आफ्नो खल्तीको पैसाले नेपालभित्र त्यसमा पनि हिमाली क्षेत्रमा घुमेर त्यसलाई लिपिबद्ध गरी आम पाठकलाई त्यसबारे जानकारी दिने उद्देश्यले पुस्तक नै प्रकाशित गर्ने व्यक्ति त अति नै कम होलान् भन्ने कुरा मेरो अनुभवले बताउँछ । प्रकाशक भुँडीपुराणको आफ्नै प्रकाशकीय व्यापारिक नीति होला तर मदन पुरस्कार गुठी, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत अन्यलाई भने नेपालको बारेमा एक नेपालीले यात्रा गरी मेहनतका साथ तयार गरेको यस प्रकारका कृतिबारे चासो र नासो हुँदैन ।
किनभने, उनीहरू भ्रमण वा पदयात्रा गर्दैनन्, प्रकृति र संस्कृतिको जीवित सङ्ग्रहालय, १२४ जातजाति र ७ सय ५३ स्थानीय नागरिकका सरकारभित्र हिजोका ३ हजार ९ सय १५ गाविस र त्यसभित्रका हजारौँ जातजातिका गाउँबस्तीहरू उनीहरूले घुमेका छैनन्, घुम्नेवाला पनि छैनन्, कतै छड्के घुमेछन् भने आधुनिक साधन–हवाईजहाज र मोटर प्रयोग गरी जिल्ला सदरमुकाम वा ७ सय ५३ पालिकाहरूका सदरमुकाममा पुग्लान्, घर र गाउँ–ठाउँमा पुग्ने छैनन्, बास बस्ने छैनन्, पाल टाँगेर त्यसभित्र रात काट्ने छैनन् अर्थात् अब दुनिया रुपान्तरण भइसकेको छ । पुनः पराजुलीका अमेरिकामा बस्ने सन्तानले पनि त्यसरी आफ्नो जन्मथलोमा रहेका विशिष्ट स्थानको भ्रमण गर्ने छैनन्, भ्रमण गर्ने मानिस जन्माउनेवाला छैनन्, अरुको त के कुरा । नियात्राकार पराजुलीले जुन साधना गरे, उनको कार्यलाई नजिकबाट बुझ्न गाह्रो छ । नेपालको पर्यटन, संस्कृति, प्रकृति, इतिहास, सभ्यता, जनजीवन र हिमालबारे दिइएको विवरण नेपाली साहित्य क्षेत्रमा यो विधा नयाँ हुनुपर्छ । त्यसबारे समालोचकले चर्चा गरुन् ।
सूचना प्रविधि र विज्ञानको अतिक्रमणले दुनिया साँघुरो भयो । असम्भव सम्भवमा परिणत भयो । हिजो सगरमाथा आरोहण गर्ने दुई यात्री तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीलाई चुचुरोमा पुर्याउन १५ विदेशी, २० स्वदेशी शेर्पा, ४ मुद्रा बोक्ने भरिया, ५ सुरक्षाकर्मी र ४ सय ४४ भरियासहितको जम्बो समूह चाहिन्थ्यो । सन् १९५३ मे २९ मा ती दुईले त्यसरी सगरमाथा चढे, आज त्यसो गर्न पर्दैन । झन्डै ४ सयजनाको जुलुसले एकै दिनमा सगरमाथाको चुचुरो चुम्ने समाचार पनि सामान्य भयो । भूत र भविश्यमा श्री विष्णुप्रसाद शर्मा पराजुली उनका झन्डै ४/४ सय पृष्ठका ३/४ वटा पुस्तकका ठेली कसले पढ्ला ? उपन्यास पढ्न छाडेर टिक–टकतिर सबै गएका छन् । मेनुस्कृप्ट पढेर भन्दा फोटो भए हेरेर वा लेखकसँग सोधेर नेपाली वाङ्मयका साहित्यकारहरू आफ्नो पण्डित्याइँ आद्योपान्त सतही समीक्षा गर्दछन् । ‘नयाँ जुत्ता’ लगाउनेले खुट्टा कता कोप्छ भन्ने थाहा पाउँछ ।
अर्थात्, पराजुलीले झैँ कठिन पदयात्रा गर्ने यात्री वा पर्यटकले मात्रै उनको लेखाइको मर्म बुझ्ने प्रयास गर्ला, यदि कसैको इच्छा, सोच र भ्रमणको उद्देश्य तथा लक्ष्य मिलेछ भने । भ्रमण वा पदयात्राको अर्थको नजिक पुग्ला, अन्यथा सम्भवतः निरर्थक पनि हुन सक्नेछ । विष्णुले उच्च हिमाली क्षेत्रको पदयात्रा गरेर लिपिबद्ध गरिएका प्रकाशित तीन कृतिमा नेपालको हकमा मूलतः मस्र्याङ्दी नदीभन्दा पश्चिमदेखि शुरु गरी हुम्लाको हिल्सासम्मको क्षेत्रलाई समेटेको देखिन्छ । तिब्बततर्फ भने उनले पूर्वमा ल्हासा, सगरमाथा आधार शिविर, थिङ्री, ग्याङ्त्से, सिगात्से, मानसरोवर, कैलास, तीर्थपुरी, सतलज नदी र पश्चिमको गुगेसम्म समेटेका छन् । सम्भवतः यो कार्य अन्तिम नभए तापनि विरलै हुनेछ ।
किनभने मैले २० वर्ष र पछिल्लोपटक १२ वर्षपहिले गरेको सिमकोट–हिल्सा र काठमाडौँ–पाँचपोखरीका यात्राहरूमा धेरै परिवर्तनहरू आएका छन् । मैले २० र १२ वर्षपहिले गरेको यात्राको कल्पना गरेर भन्दा अहिले धेरै फरक पाएँ । त्यस्तै अब विष्णु पराजुलीले पुनः ती गन्तव्यहरूको यात्रा दोहोर्याउनेवाला छैनन् र अझ गर्ने पनि छैनन्, उमेर र समयका कारणले । तर जेसुकै होस्, पराजुलीका नियात्रा कृति जसमा उनले मेहनतका साथ त्यस क्षेत्रको जनजीवन, इतिहास, संस्कृति र प्राकृतिक पाटोलाई समेट्ने प्रयास गरेका छन्, त्यसकारणले उनको त्यो कृति नमरोस्, उनी आपूm मरे पनि ती कृति बाँचिरहुन्, इतिहासले एक दिन उनको स्मरण अवश्य गर्नेछ ।
नेपालका यी साहसी पदयात्रा गर्नेमा पर्वतारोहीबाहेक भूगर्भविद् टोनी हेगन, तिब्बत बौद्ध धर्मका ज्ञाता जोसेफ टुची, समाजसास्त्री क्रिस्टोफ फुहरर र स्वदेशी विद्वान्हरू– योगी नरहरिनाथ, जनकलाल शर्मा, डा. हर्क गुरुङ, डोरबहादुर विष्ट, पूर्णप्रकाश नेपाल यात्री लगायतले केही पातलो सदरमुकाम केन्द्रित नमुना पदयात्रा गरे भन्ने लाग्छ । भूगर्भविद् टोनी हेगनले भने भौगोलिक सर्भेको क्रममा धेरै क्षेत्रको भ्रमण गरे र नेपालबारे जानकारी पनि विश्वसामु राखे । साथै नेपालले उनलाई उच्चस्तरको पुरस्कार र सम्मान पनि गरेको छ । तर धेरै स्वदेशीहरूले बढी अनुमानका भरमा र सोधपुछका आधारमा लेख्ने गरेको भेटिन्छ । उच्च हिमाली क्षेत्रमा आफैँले गाइड तथा भरियाको व्यवस्था गरी विष्णु पराजुलीले जसरी पदयात्रा गरेको विरलै भेटेको छु ।
किनभने मैले पनि त्यस प्रकारको यात्रा गर्दा अन्य नेपालीले त्यसरी यात्रा गरेको देखिनँ । गाउँ, ठाउँ, बस्ती र परिवारहरूसँग बास बसेर गाउँलेले खाएको चम्पाको गाँसको स्वादमा पहाड, हिमाल, खोलानाला, पाखा–पखेराबारे वर्णन गरेको र उनीहरूको रहनसहन, रीतिथिति, संस्कृति, संस्कार, धर्म, प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्थाबारे उनीहरूसँग सोधपुछ गरेर लेखेको, फोटो खिचेको अन्य लेखकहरूले लेखेका कुराहरूलाई पुनः प्रमाणीकरण (भेरिफिकेसन) गरेको अरुमा भेटिँदैन, सिर्फ विष्णु पराजुलीबाहेक । उच्च हिमाली क्षेत्रको यात्रा गरेर त्यहाँको अवस्थाको चित्रण गर्दै त्यस क्षेत्रको पर्यटन विकासका सम्भावनाको जरो खोतल्ने सन्दर्भमा त उनले अन्य नेपाली विद्वान्लाई उछिनेका छन् । नेपाल आत्मनिर्भर बन्न नेपाल नै पर्याप्त स्रोत–साधनयुक्त छ भन्ने कुरा उनले ठाउँ–ठाउँमा उल्लेख गरेका छन् । निजी क्षेत्र र सरकारले त्यसबारे गम्भीर भएर काम गर्ने चाहना नै नराखेकोमा उनले मन दुखाएका छन् ।
म अनुसन्धान केन्द्र र अध्यापन गराउने शैक्षिक क्षेत्रको व्यक्ति, त्यसैमा पनि एक दर्जनभन्दा बढी एकल विद्यावारिधि उत्पादन गराइसकेको र सहशोध निर्देशकका हैसियतले त दुई दर्जनभन्दा बढीमा शोध निर्देशक भई काम गर्दै आएको अनुभव, देशका ७७ जिल्लामा भ्रमण गर्ने अवसर पाएको, नेपालको सबैभन्दा लामो नदी कर्णालीको नेपालतर्फको उद्गम स्थल हिल्सा, हुम्लादेखि घाघरा, सत्ती, गेरुवा कैलाली, बर्दियासम्म ३५ दिनसम्म निरन्तर पैदल तथा १० दिन लामो जलक्रीडा (र्याफ्टिङ) तय गरेको व्यक्तिको यात्राको अनुभवलाई साधारण रुपमा आँकलन गर्ने क्षमता राख्दछु भन्ने लाग्छ । लेखपढ गर्न त मैले पनि दुई दर्जन पुस्तक लेखे हुँला, झन्डै एक हजार लेख–रचना प्रकाशित गरे हुँला, ३ दर्जनभन्दा बढी अनुसन्धान परियोजनाहरूमा स्थलगत अध्ययन र सूचना तथ्याङ्क संकलन एवम् प्रतिवेदन लेखन गर्ने कार्य सम्पादन गरेको छु ।
पढ्न मैले कम पढेँ हुँला तर लेख्न, देख्न र अनुभूति गर्न मैले धेरै नै पाएको छु । इजरायलका मरुभूमिका घुमन्तेदेखि नेपालका राउटे र खर्क राख्ने गोठालाहरूसँग संगत गर्न पाएको छु । त्यसैले सिंहदरबारमा बसेर विकास निर्माणका योजना र कार्यक्रम बनाउनु र हुम्लाको नाम्खा–६, लिमी लाप्चामा भ्रमण गरेर योजना बनाउनु फरक हुन्छ । विष्णु पराजुली पदयात्री हुन् । उनले पैदल एवम् स्थलगत यात्रा गरी माटो, ढुङ्गा, बालुवा, वन जङ्गल र जङ्गली जनावर, पशुपक्षीहरूसँग साक्षात्कार गरेर किताबका पंक्रिहरू कोरेका छन् । इतिहासकार र अन्वेषकहरूले लेखेका किताबहरूमा आफूले देखेका कुरालाई पुनः प्रमाणीकरण गरेर प्रस्तुत गर्न उनी रुचाउँछन् । उनले स्नातकोत्तरभन्दा बाहिर विद्यावारिधि पनि गरेका छैनन् तर विधिशास्त्रको प्रयोग गरेका छन् । यो स्वतःस्फूर्त लेखनको वैज्ञानिक विधि हो ।
नियात्रा लेखनको क्रममा उनले दुईपटक गरी गरेको तिब्बत यात्रालाई कृतिको रुपमा ‘तिब्बत यात्रा’ नामक कृति प्रकाशित गरेका छन् । त्यसमा उनले हुम्लाको सिमकोटदेखि हिल्सा, मानसरोवर, तीर्थपुरी, गुगे, कैलाश परिक्रमा, सिगात्से, ग्याङ्त्से, सगरमाथा आधार शिविर र ल्हासा समेटेका छन् । त्यसमा पनि उनले धार्मिक, सांस्कृतिक, जनजीवन र पर्यटकीय पक्षलाई विभिन्न कोणबाट प्रस्तुत गरेका छन् । नेपाल लगायत यी क्षेत्रमा पर्यटक, तीर्थयात्री किन आउँछन्, किन घुम्छन् ? उनले उनीहरूको सारथी भएर बुझेको कुरा ‘श्वेत पर्वत’ कृतिले धवलागिरि परिक्रमा, अन्नपूर्ण परिक्रमा, मनाङ, मुस्ताङको बृहद् व्याख्या गरेको छ । ‘डोल्पो’ पुस्तकले त डोल्पालाई नै सङ्ग्रहालय बनाउन भनेको छ । ‘तिब्बत यात्रा’ पुस्तकबाट पनि धेरै ज्ञान हासिल गर्न सकिन्छ । पर्यटन व्यवसाय के हो ? त्यसको आम्दानी कसरी हुन्छ ? व्यावहारिक रुपमा स्थलगत भ्रमणबाट उनले बुझेका छन् ।
उनले किन लेखे, कसलाई लक्ष्य गरेर लेखे, किन भुँडीपुराणले प्रकाशन गर्यो, किन प्रकाशन प्रति संख्या उल्लेख गरेन, अझैसम्म पनि किन छपाई प्रति उल्लेख गर्दैन र पुनः छपाइ भन्दै केही वर्षको अन्तरालमा छाप्छ ? कौतुहल र रहस्यात्मक छ । म पनि सोध्दिन, किनकि विश्वसनीयता र व्यक्तिगत मामलामा मेरो चासो छैन । तर नेपाल सरकार एवं च्यारिटीमूलक प्रोत्साहन गर्ने संघसंस्था, गुठीहरू साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, जगदम्बा गुठीजस्ता संस्थाहरूमा उहाँ किन पुग्नुभएन ? वा तिनीहरूले उहाँलाई र उहाँको कृति सिर्जनामा महत्व किन दिएनन् ? विश्व विद्यालयलाई यस्तो शिक्षा दिनुपर्छ भन्ने सोच र ज्ञान पनि रित्तो छ । त्यो पनि रहस्यमा नै रहोस्, मेरो व्यक्तिगत गुनासो छैन । तर कौतुहल र खुल्दुली लागिरहन्छ । हुन त यस्तो स्थलगत अनुभवमा आधारित कृतिहरू धेरै छैनन्, लेखिँदैनन्, त्यसको मर्म बुझिदिँदैनन् र लामो ३८४ पृष्ठको ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ पट्यार लाग्दो पुस्तक अहिले फुर्सदै नहुने समयमा कसले पढ्छ भनेर होला ! आईटीको जमानामा समय बरबाद ! डेस्कटप, ल्यापटप र टिभी स्क्रीनहरू त निकम्बा भैसके । यस्ता थोत्रा किताब हेर्ने जमाना गयो क्यार ? तर ती आधुनिक मुठीभित्रका औजार (मोबाइल)ले यस्तो नियात्राले गर्ने काम र लेखेका कुरा विरलै प्रस्तुत् गर्लान् ? गरेछन् भने सिर्फ सिनोप्सिस् वा सारांश प्रस्तुत गर्लान् । शङ्कै छ ।
पराजुलीको दोस्रो कृति ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ पहिलो कृति ‘तिब्बत यात्रा’भन्दा अत्यन्त जोखिम र साहसीपूर्ण छ । किनभने उनले पहिलो डोल्पा यात्रामा आफ्नो उद्देश्य पूरा नभएपछि दोस्रोपटक बाग्लुङको ढोरपाटनबाट यात्रा शुरू गर्छन् । भ्रमण ऋतु पनि भाद्र झरीको बेला छान्दछन्, पथप्रदर्शक पनि अनुभवी लिन्छन् । रणभूमिमा चाहिने सबै खाले शस्त्र–अस्त्र र खर–खजानाहरू बोकेर अगाडि बढेको भेटिन्छ । पर्वत, बाग्लुङ, रुकुम, जुम्ला, डोल्पाको भ्रमण गर्दै उनी मुस्ताङ छिचोलेर म्याग्दी हुँदै ठूलो फन्को र परिक्रमा गर्छन् । पैदल यात्राको अन्तिमतिर डोल्पाको छार्काभोटबाट मुस्ताङको जोमसोम पार गर्ने क्रममा अशुभ धृष्टता घोडा चढ्छन् र यात्राको अन्तिम दिनमा उनी मृत्युको मुखमा होमिन्छन् ।
अति थकित भए तापनि उनी घोडा चढ्ने कुरा इन्कार गर्छन् । तर पनि संयोग यस्तो बन्छ कि खच्चड खेद्ने खेदालुले पराजुलीको थकित अनुहार देखेर पुनः आग्रह गर्छन् । त्यसलाई उनी इन्कार गर्न सक्दैनन् । दुर्घटनामा परिहाल्छन् । त्यस बेला मृत्युको मुखबाट उनी फुत्कन्छन् । त्यो तथ्य र सत्य कुरा उनका भ्रमणदलका पथप्रदर्शक साथी र खच्चड व्यापारीबाट पुनः प्रमाणीकरण गरेर पत्ता लाग्छ । साथै, डोल्पा सेफोक्सुण्डो ताल, सेगुम्बा, साल्दाङ, द्योतराप र छार्का भोटका स्थानीयवासी र त्यहाँ काम गर्ने कर्मचारीहरूसँग साक्षात्कार गरे प्रमाणित भैहाल्छ । यो प्रयास मैले त्यहाँ काम गर्ने गाउँपालिकाका सुब्बा भक्तबहादुर बूढा र मेरो ग्रामीण विकासका विद्यार्थीहरूलाई सोधेको छु । उहाँहरू भन्नुहुन्छ– ‘यस्तो धुरी–धुरी पार गर्ने ५ हजार मिटरभन्दा बढी उचाइ भएको बाटोको किन यात्रा गरे होलान् ? त्यो पश्न गाउँलेको रह्यो । गाउँलेले किन हिँडेको होला भनेर प्रश्न गरेको कुरा त उनले उल्लेख पनि गरेका छन् । पराजुलीको भनाइ र लेखाइमा स्पष्ट पार्न उनले यात्राको नक्सा दिएका छन्, उचाइको उल्लेख छ । उनले गाउँ–ठाउँबारे लेख्ने मात्र होइन बास बसेको घर र पाल गाडेर बास बसेको विवरणसमेत उल्लेख गरेको भेटिन्छ ।
साधारणतया डोल्पा, काठमाडौं–नेपालगन्ज–जुफाल, सेफोक्सुण्डो ताल र दुनैको यात्रा त मैले पनि गरेको छु । यो कुनै यात्रा र जिल्ला ठाउँ शीर्षकका भ्रमण होइन, जिल्ला छोएको मात्रै हो । त्यसैमा आधारित लेख गोरखापत्र दैनिक लगायतमा छापेको पनि छु । यो कुनै स्थलगत भ्रमणको खास वस्तुस्थितिका बारेका गहिराइमा पुगेर मैले तयार गरेको लेख–रचना होइन । मेरो भन्दा विष्णुको तरिका फरक छ । उनको सेन्सस सीमित क्षेत्रको हो भने मेरो ७७ जिल्लाको स्याम्पल हो ।
पराजुलीको तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’ हो । यसमा कोरालादेखि त्रिवेणी धामसम्म बग्ने कालीगण्डकी करिडोरबारे आफैँ जन्मेको गाउँ–ठाउँ र भाषा, संस्कृति, रहनसहन, मानव सभ्यता र हावापानी, खानपानमा आधारित छ । तर मुस्ताङको छोसेरको सिजा जोङ् निफू गुफा, पर्खालभित्रको शहर ल्होमान्थाङ, ताङ्ग्याका चोर्तेनहरू, दामोदरकुण्ड, चैलेको प्राचीन गुफा, मुस्ताङमा अवस्थित नुन र सुनखानी एवम् शालीग्राम खानी, जडीबुटी, फूलहरूको उल्लेख गर्न छुटाएका छैनन् । यी कुराहरू मैले पनि अवलोकन र अनुभव गरेको छु । मुक्तिनाथ, कागबेनी, जोमसोम, ठिनी र धुम्बाताल त सामान्यतया सबैले हेर्न र भ्रमण गर्न सकिने ठाउँ र वस्तु हुन् अहिलेको हकमा । किनभने मुक्तिनाथको रानीपौवामा कालोपत्रे मोटरबाटो निर्मण भैसकेको छ, सुविधा भोगीका लागि हवाईजहाज र हेलिकोप्टर सुविधा पनि छन् ।
पराजुलीको थप यात्रा हिमालपारि मनाङतर्फ पुग्छ । विश्वका दश प्रसिद्ध गन्तब्य स्थलमध्ये एक अन्नपूर्ण परिक्रमा मार्ग हिजोको २२ देखि २४ दिनबाट खुम्चिएर अहिले ७–८ दिनमा सीमित हुन पुगेको छ । विश्वको उच्च स्थान ४९१० मिटरस्थित तिलिचो ताल र नार र फू बस्ती अन्नपूर्ण परिक्रमा गर्ने बाटोमा भ्रमण गर्नलायक गन्तव्यहरू हुन् तर प्रायः पदयात्रीहरू बेसीशहर–चामे–पिसाङ–मनाङगाउँ– खाङ्सार–तिलिचो–याकखर्क, आधार शिविर, उच्च आधार शिविर हुँदै थोराङ् ला (५४१६ मि.) पार गर्ने गर्दछन् । यो पनि एउटा पदयात्रीका लागि साधारण खाले साहसी पदयात्रा मान्नुपर्छ । तर यो पदयात्राबाट ३/४ दिन लागेर पुगिने नार र फू गाउँ बस्तीको भ्रमण गर्नु र त्यहाँको सभ्यता, गुरूङ संस्कृति, मौजुदा नेपाल तिब्बत सीमावारिपारि बाँकी रहेको मौलिक नेपाली हिमाली संस्कृतिलाई अनुभव गर्ने जमर्को गर्नु अर्को सदासी र कौतुहलको विषय हुन सक्छ । पराजुलीले यो कार्य गर्न पनि चुकेका छैनन् । उनले आफ्नो यात्रालाई सार्थकता दिन २/३ साथी साक्षीका रुपमा लिएर यी गाउँ–ठाउँहरूमा घुमेका छन् । यसमा पनि उनले पथप्रदर्शकसमेत लिएर गएका छन्, यद्यपि यसलाई हामी आफैँले पनि गर्न सकिन्छ । तर पराजुलीको अति कठिन यात्रा धवलागिरि परिक्रमामा भने विदेशीसहित रहेका छन् ।
पर्यटन सम्पदा र सम्भावनाहरूका कुरा गर्दा नेपालमा म्याग्दी जिल्ला अग्रस्थानमा पर्दछ । यहाँका सम्भावनाहरू र आतिथ्य कलामा नेपालका अन्य जिल्लाहरूले भेट्दैनन् । लेखकका अन्य लेख–रचनाहरू हेर्नुहोला, चुनौती दिन तयार छु । पराजुलीको तेस्रो कृति ‘श्वेत पर्वत’ अध्ययन गर्दा थप खुल्दुली के लाग्छ भने, उनले मगर, गुरुङ र थकाली सभ्यतालाई बढी प्राथमिकताका साथ छुट्टाछुट्टै शीर्षक राखेर उल्लेख गरेका छन् । सम्भवतः नेपालका आदिवासी जनजाति संघ र व्यक्तिहरूका लागि यो चुनौती त नभनौं उनीहरूलाई थप खोज र अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्ने विषय भने पक्कै हुन सक्छ ।
झन्डै ६३ वर्ष पार गर्न लाग्दाको उमेरमा पराजुलीको पेसा छैन, पेन्सन छैन, फुर्सद पनि छैन । अचम्म लाग्दो, छोरा–छोरीसँग अमेरिकामा आरामले घुम्ने, बस्ने, खाने बेलामा काठमाडौंको कपनतिर धुवाँ–धुलो खाँदै आफूलाई परेको डीभी पनि त्यागेर किन उनी नेपालमै बस्न खोजेका होलान् भन्ने खुल्दुली पनि मनमा उब्जन्छ । तर होइन रहेछ । उनको बाँकी जीवन पनि खुट्टा र कलमको यात्रा गर्न प्रतिबद्ध रहेछ । एक–दुई घण्टा गफ गरौँ, अनुभव आदान–प्रदान गरौँ भन्दा पनि अलि आत्तिदा रहेछन् । म त ७० बर्से, पेसाले निवृत्त मान्छे तर अझ केही फाटफुट पढाउने, लेखाउने र तालिम दिने क्रममा सक्रीय नै छु र फुर्सद पाएसम्म नातापाता, गाउँठाउँ घुम्छु । तर उनी निरर्थक घुम्दा रहेनछन् । उत्पादनशील व्यक्तिको ऊर्जा उत्पादनमा खर्च गर्नु राम्रो हो ।
अन्त्यमा, विष्णुप्रसाद शर्मा पराजुलीलाई मैले अलि–अलि चिन्न थालेँ । उनलाई पर्वत विहादीले चिन्दैन, गण्डकी प्रदेश र नेपालले चिन्दैन । दुःखका साथ भन्छु– उनका नियात्राका ती तीन दस्तावेजहरूबाट भोलि नेपालका कुना–कन्दराहरूबारे खोज–सोच गर्ने विशेष गरी जनजाति र हिमाली क्षेत्रका बासिन्दाहरूले उनलाई अवश्य चिन्नेछन्, थाहा पाउनेछन् । उनका कृतिहरू पढ्ने र बुझ्ने जमर्को गर्नेछन् । नेपालको पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्न चाहने व्यवसायीले पनि उनलाई पक्कै सम्झनेछन् । सभ्यता र संस्कृतिमा चासो राख्नेले पनि उनलाई पढ्न खोज्नेछन् । उनलाई प्रोत्साहन र पुरस्कारको खाँचो छैन । आत्मविश्वासमा सन्तुष्ट छन् । उनका कृतिबाट ज्ञान हासिल गर्न सकिन्छ भन्ने कुरा मैले अनुभव गरेँ । कम बोल्ने र भित्री अनुभवलाई मौखिक रुपमा अरूलाई बुझाउन नसक्ने लाटोजस्तो लाग्छ तर उनका कृतिले बाठो भन्ने देखाउँछन् उनलाई । उनलाई पर्यटन क्षेत्रले विशेष रुपमा सम्झिरहनेछ । उनी भौतिक रुपमा एकदिन त मर्छन् नै, तर नेपाली समाजमा भने उनी बाँचिरहनेछन् ।
प्रतिक्रिया