सरकारको लाचारीपनले पाँच दिनदेखि उठेन फोहोर



काठमाडौं ।

सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ । ठेकेदारले मुड्खु–तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन् ।

पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरिने बताउनुभयो । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयसँग छलफल भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘मंगलबारबाट कालोपत्रे गर्ने सामान ल्याउन थालेको छ । सायद आजबाट लगातार काम हुनेछ ।’

करिब तीन साताअघि टास्क फोर्स गठन भए तापनि समस्या आएपछि मात्रै पहिलोपटक मंगलबार बैठक बसेको हो । बैठकमा सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक, कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख, स्थानीय तारकेश्वर नगरपालिका–३ का वडा अध्यक्षलगायतको सहभागिता थियो ।

बैठकमा टास्क फोर्सका सदस्य ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत, धुनिबेंसीका कार्यकारी अधिकृत, ककनी गाउँपालिकाका कार्यकारी अधिकृत महेन्द्रबहादुर नेपालीको उपस्थिति थिएन । पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि बल्ल बैठक बोलाए तापनि कामपाका कार्यकारी अधिकृत पौडेलले कुनै ठोस निर्णय भने सुनाउन सक्नुभएन । बैठकमा सुरक्षाकर्मी परिचालन गरेर भए पनि सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गरिने बताइएको थियो ।

मुड्खु–तीनपिप्ले खण्डको बाटो कालोपत्रे गर्न ठेक्का लिएको शैलुङ कन्ट्रक्सनले ७ वर्ष बित्दा पनि कालोपत्र नगरेका कारण स्थानीयले बाटो अवरुद्ध गरी फोहोर व्वयस्थापन ठप्प पारेका हुन् । पटकपटक प्रतिबद्धता जनाए पनि काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेको कारण स्थानीय आन्दोलित भएका हुन् । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी भएकै कारण सरकारले कारबाही गर्न नसकेको स्थानीयको आरोप छ ।

यसअघि गत फागुन १ देखि १२ गतेसम्म बाटो बन्द गरेर स्थानीयले आन्दोलन गरेपछि ठेकेदार कम्पनीले तत्काल कालोपत्रे गर्ने जनाएको थियो । तर, काम नभएपछि आन्दोलनमा उत्रिएका स्थानीयले तत्काल माग पूरा नभए कडा आन्दोलन गर्ने सम्मका चेतावनी दिएका थिए । यसअघि बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले विभिन्न २० सूत्रीय माग राखि आन्दोलन गरेको कारण करिब १२ दिनसम्म फोहोर उठ्न सकेको थिएन ।

कहिले सिसडोल त कहिले तीनपिप्लेमा पटकपटक फोहोर व्यवस्थापन कार्यमा अवरोध भएपछि राजधानीलगायत १८ स्थानीय निकायको फोहोर बाटोमै थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न कामपाले हसम्भव पहल गरे तापनि ठेकेदारले काम नगरेको कारण गम्भीर समस्या सिर्जना भएको हो । पछिल्ला एक महिना यता पटकपटक गरी २० दिनभन्दा बढी फोहोर व्यवस्थापनमा अवरोध पुगेको छ ।

फोहोर नउठेको कारण उपत्यका दुर्गन्घित भएको छ । सबै सडक गल्लीमा फोहोरको डुंगुर थुप्रिएको छ । गर्मी याममा फोहोरको कारण हैजा, झाडापखाला जस्ता फोहोरजन्य रोग फैलने खतरा बढेको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले नियमित रूपमा फोहोर उठाउन नथालेसम्म घरमै फोहोर व्यवस्थापन गरी सहयोग गरिदिन उपत्यकाबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्