चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै



काठमाडौं ।

सरसफाइको कमीले लाग्ने टाइफाइडविरुद्धको यही चैत २५ बाट देशैभरि खोप अभियान शुरू हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी टाइफाइडविरुद्धको खोप अभियानबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दक्षिण एसियामै पहिलोपटक नेपालमा शुरू भएको यो खोप अभियान काठमाडौंबाहिरका केही जिल्लामा मंगलबारबाटै शुरू भएको जानकारी दिइयो । १५ महिनादेखि १५ वर्षसम्मका झन्डै ७५ लाख बालबालिकालाई लक्षित गरिएको खोप अभियान वैशाख १८ सम्म चल्ने महाशाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो । उहाँले खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८ सय ५८ स्वयम्सेवक परिचालन गर्न लागिएको जानकारी पनि दिनुभयो ।

खोप लगाउनका लागि स्थानीय तहले वडा कार्यालय तथा विद्यालयका साथै उचित स्थानहरूमा खोप केन्द्र तोक्नेछ । खोप अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा पनि खोप लगाइने कार्यक्रम रहेको महाशाखाका प्रमुख दाहालले बताउनुभयो ।

यो खोपको प्रभावकारिता र आवश्यकताका विषयमा धुलिखेल अस्पताल, धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अध्ययन गरी विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यसै प्रतिवेदनका आधारमा गाभिको सहयोगमा टाइफाइडविरुद्धको खोप निःशुल्क उपलब्ध भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले सन् २०२० अगस्ट १४ मा टाइफाइडविरुद्धको खोपलाई खोप कार्यक्रममा सिफारिस गरेको थियो । यो खोप सन् २०२१ मा नै नेपालले पाइसक्ने गरी भारतीय कम्पनीलाई गाभिले खोपबापतको शुल्क पनि बुझाइसकेको थियो । तर, कोरोना महामारीकै कारण यो खोप नेपाल आइपुग्न ढिला भएको हो ।

टाइफाइड ‘साल्मोनेला टाइफी’बाट हुने गम्भीर रोग हो । यसलाई नेपालीमा विषमज्वर अथवा म्यादे ज्वरो पनि भनिन्छ । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । टाइफाइड हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेउ लाग्ने आदिजस्ता मुख्य लक्षण हुन् भने कसैमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिबिरा आउने आदि लक्षण देखा पर्दछन् ।

यो रोगको संक्रमणपश्चात केही व्यक्तिमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने, मस्तिष्कसम्बन्धी समस्याजस्ता जटिलता देखा पर्न सक्ने चिकित्सकको भनाइ छ ।

टाइफाइड महामारीजन्य रोगका रूपमा भने फैलिएको छैन । रगतको र दिसापिसाबको जाँच गरेर टाइफाइड पत्ता लगाइन्छ । विश्व स्वास्थ्य संगठनका डा. विनोद बुराले टाइफाइडविरुद्धको खोप १५ महिनाको उमेरमा १ मात्रा लगाए पनि पुग्ने बताउनुुभयो । उहाँले टाइफाइड खोप कडा एलर्जी भएको भएका व्यक्ति, एचआईभी एड्सको देखा परेको अवस्थामा लगाउन नहुने बताउनुभयो । साथै उच्च ज्वरो आएको वा गम्भीर बिरामी परेको अवस्थामा पनि खोप लगाउन नहुने उहाँको भनाइ थियो ।

टाइफाइड विरुद्धको खोपले अन्य खोपको जस्तै केही सामान्य असरहरू जस्तै सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्नी दुख्नेजस्ता असरहरू पार्ने चिकित्सकहरू बताउँछन् । यस्ता खालका सामान्य असर आफैं ठीक हुन्छन् । तर, जटिल खालका लक्षण देखा परेमा स्वास्थ्य संस्था अर्थात् चिकित्सकको सल्लाह लिनुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्