पहिलो चरणमा कर्णालीको मतपत्र छापियो



काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मंगलबारदेखि मतपत्र छपाइ शुरू गरेको छ । जनक शिक्षाले कर्णाली प्रदेशको मतपत्रबाट छपाइको शुरूआत गरेको छ । सोमबार मध्यरातसम्ममा सबै जिल्लाको नमुना मतपत्र छपाइको काम सम्पन्न गरेलगत्तै नेपाली सेनाको सुरक्षा घेराभित्र केन्द्रले मतपत्र छाप्ने काम शुरू गरेको हो ।

कर्णाली प्रदेशको डोल्पासहित ५ जिल्लाका मतपत्र छपाइ मंगलबार नै सम्पन्न गरिसकेको जनक शिक्षाले वैशाख २० गतेभित्र सबै जिल्लाको मतपत्र छापी सक्ने जनाएको छ । मंगलबार बिहान निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयोगका सचिव गोकर्णमणि दुवाडी सानोठिमीस्थित जनक शिक्षाको छापाखाना अवलोकन गर्न पुग्नुभएको थियो ।

आयोगले छपाइको अवस्था र छपाइ गरेको मतपत्र हेरेपछि कर्णाली प्रदेशको काम गर्न स्वीकृत दिएको थियो । कर्णाली प्रदेशको काम सम्पन्न भएपछि कुन प्रदेशको छपाइ गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्नेछ । उच्च स्रोतका अनुसार आयोगबाटै डिजाइन आएपछि मात्र छपाइ शुरू हुनेछ ।

जनक शिक्षाले छपाइसँगै प्याकिङ गरी शिलबन्दी गर्नेछ । जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै कुन जिल्लाको कति मतपत्र छापियो भन्ने विषयमा जनक शिक्षालाई जानकारी नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सेनाको घेराभित्र सबै काम अति गोप्य रूपमा हुनेछ । सबै विवरण आयोगसँग मात्रै हुन्छ ।’

उहाँको अनुसार छपाइमा खटिने १ सय ७५ कर्मचारीलाई १२ घण्टासम्म बाहिर निस्कन समेत दिइने छैन । जनक शिक्षाले ९ वटा मेसिन २४ घण्टा सञ्चालन गरेर दैनिक ७ लाखसम्म मतपत्र छाप्ने जनाएको छ । आयोगले २३ लहरका ७७ प्रकारका मतपत्र छपाइ गर्नेछ । डोल्पाको सबैभन्दा कम १६ लहरको मतपत्र हुनेछ भने काठमाडौंको सबैभन्दा बढी ५६ लहरको हुनेछ ।
मतपत्र छाप्न प्रेसमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । मोबाइल फोन बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ । कुनै पनि कागजात लैजान वर्जित गरिएको छ । नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्ने जिकिर गर्दै प्रवक्ता आचार्यले भन्नुभयो– ‘त्यसैले कुन प्रदेशको कति छपाइ भयो भन्ने विषयमा जनक शिक्षाका कर्मचारीलाई जानकारी हुँदैन ।’

केन्द्रमा जडान गरिएको सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै हुनेछ । उच्च सुरक्षा निकायले छपाइ केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइरहने व्यवस्था गरेको छ ।

मतपत्र छापिएपछि आयोगले आचारसंहिता जारी गरेलगत्तै जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याउनेछ । आयोगले जनक शिक्षालाई वैशाख २० गतेभित्र १ करोड ९४ लाख मतपत्र छपाइ र प्याकिङ गर्न स्वीकृति दिएको छ । जनक शिक्षाले मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरिएको छ । आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ ।

आयोगले उपत्यकाबाहेकका अन्य जिल्लामा चाँडै र काठमाडौंको मतपत्र अन्तिममा छपाइ गर्नेछ । सबैभन्दा बढी ५६ लहर भएकाले काठमाडौंका मतपत्र छपाइ अन्तिममा गर्न लागिएको हो । आयोगले अति दुर्गम क्षेत्रमा हवाई मार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको छ । मतपत्रमा नम्बर राख्नेदेखि परफेटिङ गर्नेसम्मको काम भएकाले छाप्न केही बढी समय लाग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्