बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

0
Shares

बैतडी/गुल्मी ।

यही चैत २५ गतेदेखि देशैभर टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । जसमा बैतडीका ७८ हजार बालबालिकालाई सो खोप लगाइनेछ । जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरी ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । अभियान यही चैत्र २५ गते शुरु भएर अगामी वैशाख ८ गते सम्पन्न हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका शिवनाथ गाउँपालिकामा चैत २५ गतेदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै, सुर्नया गाँउपालिकामा वैशाख ४ गते देखि ६ गतेसम्म र मेलौली नगरपालिकामा वैशाख ४ देखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकाहरुलाई लगाइने खोप अभियानका लागि ६ सय २० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक परिचालन गरिने जनाइएको छ । अभियानका लागि ५ सय ८६ खोप केन्द्र तोकिएका छन् । खोप केन्द्रहरु विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन् । टाइफाइड खोप एक मात्रा दिइन्छ । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई नेपालमै टाइफाइडविरुद्धको खोप पहिलोपटक दिन लागिएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

गुल्मीका ७० हजार बालबालिकालाई खोप लगाइने
गुल्मी जिल्लामा पनि करिब ७० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सोमबार जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रसँग एक कार्यक्रम गरी सो बारे जानकारी गराएको हो ।

१५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइनेछ । टाइफाइडविरुद्धको खोप देशभर एकै चरणमा २०७८ चैत २५ देखि २०७९ वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य नेपाल सरकारले राखेको छ । टाइफाइडविरुद्धको खोप लगाइने तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सबै तयारी पूरा गरिएको जानकारी गराएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी प्रमुख पशुपति आचार्यले जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइडविरुद्धको खोप लगाइने बताउनुभयो । यो खोप नेपालमा नयाँ भएकाले सबै स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको उहाँको कथन छ । नेपालमा विगत ५ वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

विगत ३ वर्षको तथ्याङ्कअनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने बिरामीमध्ये चौथो कारण यही रोग रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख आचार्यले बताउनुभयो । यो शुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई अभियानको रुपमा एक मात्रा खोप दिइने भएको छ । त्यसपछि नियमित खोपमार्फत १५ महिनाको उमेरमा सबै बालबालिकालाई १ मात्रा खोप निरन्तर उपलब्ध गराउने भएको छ ।