छिनेको हात जोडिएपछि…

0
Shares

काठमाडौं । 

भुसा काट्ने मेशिनले दुई टुक्रा बनाएको जनकपुरका एक ५ वर्षीय बालकको हात राष्ट्रिय ट्रमा सेन्टरमा जोड्ने सफल शल्यक्रिया भएको छ ।

बच्चाका बाबु नविन मण्डल भन्नुहुन्छ–गत महिना फागुन ९ गते साँझपख ३ जना बच्चाहरू खेलिरहेका रहेछन् त्यति नै बेला मेरो सानो छोरा कुलदीपले मेसिनभित्र हात छिराएको रहेछ अर्को बच्चाले स्विच अन गरिदिएछ । तत्कालै बच्चाको हात मेसिनले काटेर छिनाई दिएछ ।

मेरो छिमेकीले हतार हतार बच्चाको छिनेको हात प्लास्टिकमा पोको पारि बच्चालाई जनकपुर अस्पताल पुर्या छन् । त्यहाँ उपचार हुन नसक्ने र तत्काल ट्रमा सेन्टर पुर्‍याए उपचार हुन्छ भन्ने जानकारी पाएपछि स्थानीय अस्पतालको समेत सहयोगमा हवाईजहाज मार्फत उसलाई ट्रमामा ल्याइएकै कारण उपचार सफल भयो ।  गला अवरुद्ध पार्दै उहाँ थप्नुहुन्छ–बच्चाको हात छिनेर उपचारका लागि काठमाडौँ लगिएको खबर मलाई मेरो श्रीमतीले टेलिफोनबाट जानकारी गराइन् ।

त्यति बेला म दिल्लीको एउटा फुड कम्पनीमा काम गर्दै थिए । तत्काल छुट्टी लिएर म काठमाडौँ आउँदा छोराको उपचार भइरहेको थियो । बच्चाको हात पुन जोडिन्छ भन्ने आशै थिएन डाक्टर भनेका भगवान् रहेछन् आज मेरो छोराको हात जोडेर पहिलाको जस्तै बनाएका छन् । छोराको हात जोडिएको अवस्था देख्दा मेरो खुसीको सीमा छैन ।  ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीका अनुसार बालकको हात जोडिनुमा पहिलो स्टपेमा जसले घटना देख्यो उस्ले सुरक्षित तरिकाले हात जनकपुर अस्पताल पुर्‍याउनु त्यसपछि जनकपुर अस्पतालले थप व्यवस्थापन गरी हातलाई सुख्खा चिसो बनाई प्लाष्टिककमा हावा पानी नछिर्ने गरी प्याक गरी आईसबक्समा राखेर समयमै काठमाडौँ पठाउनुले सम्भव भएको हो ।

जनकपुरको बालक घटना भएको ३ घण्टाभित्र काठमाडौँ आई पुग्नु नै प्रमुख सफलता हो । यसरी हात छिनेको अवस्थामा ६ घण्टाभित्र माथिका उपाय अपनाएर अस्पताल पुर्याउँन सके उपचार सम्भव छ । त्यसै गरी ट्रमा सेन्टरका प्लास्टिक सर्जन डा. पशुपति बाबु पोखरेल भन्नुहुन्छ–बच्चालाई समयमै सबै प्रक्रिया पुराएर अस्पताल पुर्‍याएकै कारण १५ घण्टा लामो प्रयासपछि उनको हात जोड्न चिकित्सकहरू सफल भएका छौ । यो नेपालको लागि बालकको हात जोडेको पहिलो र नमुना नै हो ।

बालकको हात जोड्ने क्रममा १८ घण्टा लामो समय एनेस्थेसियाका माध्यमबाट लठ्याईएको थियो । उनको हातका नसाहरु मेसिनले पेलिएका थिए । ती नसाले काम नगर्ने अवस्था भएकाले खुट्टाको नसुल्याएर जोड्नु पर्‍यो । यस्ता प्राविधिक विषयले धेरै लामो समय लाग्दा हामी चिकित्सक टोलीमा बच्चाको हात गए पनि बच्चा बचाउनुपर्छ भन्ने सम्मको निष्कर्ष निस्किएको थियो । संयोग बस बच्चाको हात पनि सफलता पुर्वर्क पूर्नरोपन (रिप्लानटेसन) गरियो ।

यति बेला कोभिडको महामारी सकिएको थिएन तर हामी चिकित्सक टोलीले बच्चाको ज्यान बचाउनका लागि जोखिम मोलेरै पिसिआर नगरी शल्यक्रिया गरेका थियौ डा. पोखरेल भन्नुहुन्छ । ट्रमाका एनेस्थेसिया विभाग प्रमुख तथा चिफ कन्सल्टट्यान्ट डा. रुपेश यादव भन्नुहुन्छ–सानो बच्चा एनेस्थेसिया दिनुपर्ने । उसलाई १८ घण्टा वेहोस पार्ने मात्र हैन होसमा पनि ल्याउनुपर्ने, रगत सप्लाई भएनभएको हेर्नुपर्ने, संक्रमण हुने हो कि भन्ने विषयमा थप चनाखो हुनुपर्ने यस्ता विषयमा सम्पूर्ण टिमको एकताले उपचार सफल भएको हो ।

त्यसै गरी प्लास्टिक सर्जन विभागका विभागीय प्रमुख तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा. पियूस दाहाल भन्नुहुन्छ उपचार सफल भएको छ अब बच्चा केही दिनमै डिस्चार्ज हुन्छ ।