अर्चले बस्ती स्थानीयलाई हस्तान्तरण


नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकलाई २०७२ सालको भूकम्प अहिले पनि मानसपटलमा झलझली आउँछ । घरका ६ जना परिवार सकुशल भए पनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो ।

भूकम्पपछि पालमा बस्दै आएका बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ ।छतिवनटारीमा एकीकृत बस्ती बनाएर बुद्धिसराको परिवार स्थानान्तरण भएको हो । ‘अहिले पनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ’, उहाँले भन्नुभयो– ‘धन्न बाँचियो र अहिले यहाँ पक्की घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनिको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरासहित अर्चलेका १२ दलित समूदायका घर–परिवार असुरक्षित रहेको अर्चलेबाट सोही वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको सास फेरिरहेका छन् ।

भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, बिजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करिव २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहातको महसुस गरेको स्थानीय ईश्वर विश्वकर्माले बताउनुभयो । उहाँले पहिलेको त्रास अहिले हटेको बताउँदै बस्तीमा सुरक्षित बस्न पाउँदा खुसी लागेको सुनाउनुभयो । भूकम्प गएको ६ वर्षसम्म दुःख कष्टले दिन बिताइयो’, उहाँले भन्नुहुन्छ– ‘ढिलै भए पनि बलियो घरमा सर्न पाइयो ।

एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, विजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालयसमेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाउनुभयो । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योगसमेत सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । एकीकृत बस्तीका बारेमा जानकारी गराउँदै स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भनी भूगर्भविद्हरुले बताएका कारण बस्तीलाई नयाँ ठाउँमा सारिएको बताउनुभयो ।

बस्ती निर्माणका अभियान्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरिदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपियाँ लगानी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार ३ लाख रुपियाँ दिएकोमा भूकम्पपीडित स्वयंले पुनः ३ लाख रुपियाँ थप गरेर घर निर्माण गरिएको उहाँको भनाइ छ ।

बस्ती निर्माणसहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना पूरा भएपछि प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस्तीको उद्घाटन गर्नुभएको थियो । गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो । त्यस्तै, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमुना बस्ती रहेको बताउनुभएको छ ।