कलाकारहरुलाई दल प्रवेश गराउने हुटहुटी



  • बालकृष्ण मैनाली

अठहत्तर सालको अन्तिम महिना चल्दै छ । करिब आजको एकचालीस दिनपछि देशमा स्थानीय निर्वाचन हुँदै छ । यो वर्ष पनि केही सकारात्मक परिवर्तन होला कि भन्ने आशा गरेकाहरुलाई ‘यो वर्ष त भएन, अबको पाँच वर्ष कष्ट सहेर भए पनि परिवर्तनको खाका ल्याउँछौं–ल्याउछौं’ भन्न राजनीतिक अंशियाहरु तयार भएर बसेका छन् । वर्षहरु बितेका बित्यै छन्, तर विडम्बना ! राजनीतिक अंशियारहरुका आ–आफ्ना दैनिकीहरुमा परिवर्तन आए पनि स्थानीय जनजनहरुको दैनिकीमा यो पाँच वर्षमा कुनै ठोस परिवर्तनको अनुभूतिसम्म पनि आउन सकेन । सम्पूर्ण जनता, आममतदाता मात्र होइन आफ्नै खल्तीमा भएका मतदाता र कार्यकर्ता भनिएकाहरुको समेत न्यूनतम आवश्यकता र खाँचोबारे सबै दलका राजनीतिक अंशियारहरु आजको दिनसम्म मौन साँधेर बसेका बस्यै छन् । प्रत्येक राजनीतिक अंशियारहरु आफ्नो भनाइ र भाषणमा आफूले जनताको भाषा बोलेको, जनताको लागि काम गरेको भन्ने झुट कुरा भन्न कहिल्यै संकोच मानेनन् ।

गणतान्त्रिक व्यवस्थामा जननिर्वाचित सांसद र निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले नै जनमतको अवमूल्यन गर्नु भनेको त्यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैनथ्यो । यी यस्ता कुराहरुमा जानकार हुँदाहुँदै त्यसैलाई हाम्रा थरीथरीका जनप्रतिनिधिहरुले लाजै नमानी सघाए । यस्ता कार्यहरुले संघीयता धरापमा पर्छ । संघीयतालाई धराप पार्ने यस किसिमका भूमिका नखेल्न जनजनले अनुरोध गर्दागर्दै पनि अन्ततः यस्तो किसिमको घिनौना खेल खेल्न र खेलाउन सक्ने खप्पिसबाजहरुले पाँच वर्षको महत्वपूर्ण अवधिलाई यही खेलको माध्यमबाट देशलाई यो अवस्थासम्म पुर्याइछाडे ।

आफ्ना रुचिका लागि र आफ्नो अनुकूलताको लागि प्रतिपक्षका सांसद हुन् या सत्तापक्षका सांसद या आफ्नै गुटका हुन् या अन्य गुटका, आवश्यकता र आफ्ना रुचि अनुसार एक–आपसमा एकढिक्का भई प्रस्तुत हुने नौलो विषय त होइन, विगतका इतिहासहरु र वर्तमानका परिघटनाहरुले यसलाई प्रमाणित गर्दै कुरी–कुरी भन्दै जिस्क्याइरहेका छन् । इतिहासबाट हामीले पाठ सिक्यौं, अब हामी एक भयौं, अब गल्ती गर्दैनौं भनी जनतासमक्ष थरीथरीका कसम खाएर सत्तामा पुगेका सत्ताधारी अधिकांश सांसद र स्थानीय जनप्रतिनिधिहरुको वर्तमान चरित्रले अन्ततः जनजन तथा निर्वाचित गराउने मतदाताहरु मात्रै होइन उनीहरुकै आफ्नै कार्यकर्ताहरुसमेत अवाक र मुकदर्शक बन्न पुगेका छन् ।

जनजनले जति खबरदारी गरे पनि आफ्नो अस्वाभाविक सेवा–सुविधा वृद्धिमा लाजै नमानी एक हुने परम्पराको कतै अन्त्य हुन सकेन । स्वतन्त्र न्यायपालिका केही समयदेखि धाराशायी अवस्थाबाट गुज्रिरहेको छ । आ–आफ्नो क्षेत्रबाट भएका गल्तीहरु सुधार्नुको सट्टा अहिले पनि राजनीतिक अंशियारहरु तँभन्दा म के कम भन्दै पौँठेजोरीको अभ्यास गर्दै छन् । मोबाइलको टर्च बालेर स्वास्थ्यकर्मी बिरामीको उपचारमा तल्लीन हुनुपर्ने समाचारले छानिएका जनप्रतिनिधिहरुको मनमा अलिकति पनि कठै भन्ने भाव पलाएन ।

कहिले के तन्त्र त कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने राजनीतिक अंशियारहरुको जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । उनीहरुका नीतिहरु यदि परिवर्तन हुन्छन् भने आफ्नो स्वार्थसँगको विषयलाई मात्र प्राथमिकतामा राखेर परिवर्तन हुन्छन् । यसै मेसोमा अहिले प्रायः ठूला दलहरुले नीतिमा परिवर्तन गरी आफ्नो कालो अनुहार छोप्न कलाकारहरुलाई प्रयोग गर्न थालेका छन् ।

सकेसम्म राम्रा तथा नाम चलेका कलाकारहरुलाई आफ्नो दलमा प्रवेश गराउन सके आफ्नो मुकुण्डोमा पोतिएका थरी–थरीका दोषहरुलाई राम्रा कलाकारहरुमार्फत तछाउन लगाएर काला कर्तुतहरुलाई दबाउन सकिन्छ कि भन्ने प्रयासमा दलीय नेताहरु लागिपरेको आभास हुन थालेको छ ।

बितेका एकतीस–बत्तीस वर्षहरुमा देशले के ठोस उपलब्धि हासिल गर्यो भन्दा यो चाहिँ उपलब्धि हासिल भयो भनेर गर्व गर्न सक्ने कुनै अवस्था छैन । देशलाई यस्तो हरिकंगाल अवस्थामा पुर्याउने दलहरुमै कलाकारहरुलाई किन प्रवेश गर्नुपरेको हो भन्ने कुरा जनजनको मथिङ्गलमा घुकुती खेलेको खल्यै छ । पक्कै पनि कलाकारहरु राष्ट्रका गहनाहरु हुन् । प्रायः दलमा प्रवेश गरेका सबै कलाकारहरु देशमा देखिएको समस्याको सार्थक सम्बोधन गर्छु भनेर नै दल प्रवेश गरेका होलान् भन्ने आशा गरेका जनमतलाई प्रवेश गरेका कलाकारहरुले आफू सम्बन्धित दलमा किन प्रवेश गरेको हो भन्ने कुरा अथ्र्याउन सकेका छैनन् ।

दल प्रवेश गरेका सम्बन्धित कलाकारहरु जो निर्वाचनमा उठ्न टिकटको लागि राजनीतिक अंशियारहरुको त्यसमाथि पनि कुनै गुटको सदस्यता ग्रहण गरी निर्वाचनमा होम्मिने प्रयास गरिराख्नुभएको छ भने आफ्नो अन्तरात्माबाट प्रवाह भएको विचारलाई पनि मन्थन गर्दै अन्तिम निर्णय लिनुपर्ने हुन्छ । सम्मानित कलाकारहरु दलीय सदस्यता ग्रहण गरेर दलमा प्रवेश गरेकोमा कलाकारहरुलाई माया गर्ने प्रायः जनहरु त्यति उत्साहित देखिनुहुन्न । बरु सबै कलाकारहरु एकजुट भएर प्रत्येक दलहरुले गरेका गलत कुराहरुको भण्डाफोर गर्दै कलाकारहरुको समूहले नै बढीसे बढी निकायहरुमा आफ्नो उम्मेदवारी दिएर जनतामाझ जान सक्ने वातावरण निर्माण गरिएको भए दलीय गुटमा प्रवेश गरेर निर्वाचनमा उठेको अवस्थामा पाउने मतभन्दा थुप्रै मत पाउने सम्भावना रहन्छ भन्ने कुरा कतै दल प्रवेशी कलाकारहरुले मनन नगरेको हो कि भन्ने जनजनलाई अनुभूति भैरहेको छ । यो कुरालाई विचार गर्ने हो भने सम्बन्धित कलाकारहरु जो देशको राजनीतिमा प्रवेश गर्न चाहन्छन् र प्रवेश गरिसकेका छन् भने पनि पुनः एकचोटि गलत गरेँ कि सही गरेँ भन्ने कुराको आत्ममन्थन गर्नै पर्ने हुन्छ ।

प्रत्येक पिँढीहरुमा उदाउँदै गरेका युवाहरुका जोश–जाँगरलाई राजनीतिक अंशियारहरुले आफ्नो स्वार्थमा भरमग्दुर उपयोग गरे, विविध अश्वासन बाँडे र जिन्दावाद–मुर्दावादको नारा लगाउन लगाए । युवाहरुले नारा मात्र लगाएनन्, राजनीतिक अंशियारहरुका निमित्त भनेर थुप्रैले आफ्नो जीवनको आहुति नै दिए । यति गर्दा पनि दलहरुले युवाहरुका जायज मागहरुलाई आजपर्यन्त सम्बोधन गर्न असफल रहेको कुरा घामजत्तिकै छर्लंग छ । यस अर्थमा पनि पुराना दलीय शासकहरुले कलाकारहरुलाई आफ्नो दलमा प्रवेश गराएर युवाहरुलगायत प्रत्येक जनताका मागहरुको सार्थक सम्बोधन गर्न खोजेका हुन् भन्ने कुराको नवप्रवेशी कलाकारहरुले कतै विश्वास गर्नुभएको छ भने त्यो धोकामा परिणत हुन जाने सम्भावना अधिकसे अधिक छ भन्ने कुरा मनन गर्नु उर्पयुक्त हुनेछ ।

कलाकारहरुप्रति जीवन्त बनिरहेको सम्मानको मतलाई राजनीतिक व्यवसायीहरुले आफ्नो स्वार्थको लागि प्रयोग गर्न आ–आफ्ना हतकण्डा फैलाइरहेको तथ्यलाई नजरअन्दाज गर्ने हो भने कलाकारको रुपमा प्राप्त जनजनको सम्मानमा गम्भीर आघात पुग्न सक्छ ।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुलाई विश्लेषण गर्दा देशमा जति पनि आन्दोलन भए ती सबै आन्दोलन अन्ततः राजनीतिक परिवर्तनको नाउँमा व्यक्तिगत स्वार्थपे्ररित आन्दोलनमा मात्र परिभाषित हुन पुगे । सामाजिक कुसंस्कार र गलत प्रवृत्तिको परिवर्तनविरुद्ध आन्दोलन गरिएको भनिए तापनि व्यक्तिगत र स्वार्थपे्ररित विषयवस्तुहरु नै सदैव हाबी भइरहे, जसको कारण आन्दोलनले बोकेको मर्म धराशायी हुन पुग्यो । जनजनका चाहना र आवश्यकताका विषयहरुमा सार्थक सम्बोधन हुनै सकेन । काँचा र निर्दोष युवाहरुलाई भ्रममा पार्दै अश्वासनको पोकोमाफर्त जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर आफू सत्तामा पुगेपछि ती कलिला, काँचा, निर्दोष युवाहरुको समस्यालाई सम्बोधन गर्नुभन्दा उल्टो उनीहरुलाई यो वा त्यो नाउँमा बलिको बोको बनाउने कार्य मात्र गरियो । त्यसको निरन्तरता अझै जारी छ ।

सत्तामा आसीन प्रत्येक शासकले देशले विकासको गति समात्यो भन्ने खालको भाषण सुनाउने धन्दा कहिल्यै रोकेनन् । देशमा देखा परिरहेको संक्रमणकालीन अवस्था सारमा हेर्दा ज्युँका त्युँ छ भन्दा खासै फरक पर्दैन । संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्यौं भन्नु राजनीतिक अंशियारहरुको बेइमानीपन हो । राजनीतिक अंशियारहरुले विगतदेखि देखिँदै आएको आफ्नै आन्तरिक राजनीतिक संक्रमणकालको त अन्त्य गराउन सकेका छैनन् भने जनजनलाई बेला–कुबेला यो वा त्यो नामबाट थपिँदै गइरहेको पीडारुपी संक्रमणकालीन अवस्थाको अन्त्य भयो भन्नु हास्यास्पदबाहेक केही हुँदै होइन । कतिपय संक्रमणकालीन न्यायिक विषयहरु टुंग्याउन बाँकी नै छ । देशमा कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने मान्यतामा जनजनहरु पुगिसकेका छन् । कानुनी शासनको अवमूल्यन, भ्रष्टाचारको चरणबद्ध शृङ्खला, दोषीहरुलाई उन्मुक्तिमा व्यापकता, हरेक नियुक्तिमा क्षमता भएकोलाई भन्दा पनि भागवण्डालाई प्रश्रय, हरेक निकायहरु कर्मचारी प्रशासनदेखि न्यायपालिकासम्ममा भएको बेथिति र छिराइएको राजनीतीकरण राजनीतिक अंशियारहरुका लागि संघीयताका उपलब्धि ठहरिन पुगेका छन् ।

जनजनको मनैदेखि सम्मान प्राप्त गरेका कलाकारहरु जो जुन दलमा प्रवेश गरेका छन् उनीहरुमार्पmत स्थानीय निर्वाचनलाई माध्यम बनाई देशको राजनीतिमा देखा परिरहेको विकृति र चरम अवसरवादी प्रवृत्तिहरुलाई निमिट्यान्न पार्न भूमिका खेल्न सक्यो भने कलाकारहरुको राजनीति प्रवेशलाई सार्थक मान्न सकिएला । यस कार्यमा आम मतदाताको पनि महत्वपूर्ण भूमिका रहेको छ । राजनीति प्रवेश नभएको कुनै ठाउँ छैन । विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन र भ्रष्टाचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यस्तो अवस्था जसलाई ती पात्रहरुले जरो गाडेर राखेका छन् ती विकृतका खम्बाहरुलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस् सुधारको प्रवेशद्वारसम्म पनि पुग्न पाउँदैन । आगामी वेशाखमा हुन गइरहेको स्थानीय निर्वाचनमा ती कलाकारहरु जो राजनीतिमा प्रवेश गरेका छन्, तिनीहरु र आम मतदाताहरुले संयुक्तरुपमा देशमा देखिएका विसंगतिहरुलाई जरैदेखि उखेलेर फ्याँक्न न्वारानदेखिको बल लगाउनु अनिवार्य भएको छ । अन्यथा, अर्को थप पाँच वर्ष हामीले आफ्ना सन्ततिलाई आफैँले धोका दिएको ठहरिनेछ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्