आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेसकाे निष्कर्ष


काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बैठकले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहसँग समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।

 कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यहरूले धारण राख्ने क्रममा कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको प्रवक्ता रुवालीले बताउनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको संयुक्त बैठकमा बोल्ने वक्ताहरूले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चितता साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनलाई निरन्तरता दिनको लागि पनि गठबन्धन आवश्यकता रहेको बताएका थिए ।